News Portal

वैदेशिक रोजगारीका समस्या र समाधान

हिमालीसंचार संवाददाता
३५९ पटक

कुवेत -स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी आजभन्दा २८ वर्षअघिदेखि भएको मानिन्छ । वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसका थुप्रै समस्या छ।

जसको समाधानमा सरकारले पर्याप्त पहल गर्न सकेको छैन । देशकै मेरुदण्ड मानिने युवाशक्ति दिनानुदिन वैदेशिक रोजगारीका लागि जानु एकदमै विडम्बनापूर्ण अवस्था छ। वैदेशिक रोजगारी अल्पकालका लागि उपयुुक्त देखिए तापनि दीर्घकालका लागि भने यो उपयुक्त र सकारात्मक छैन ।

वैदेशिक रोजगारीमा जानेमा पुरुषमात्र होइन, महिला पनि पुरुषसरह जाने गरेको पाइन्छ । पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने महिलाको संख्या २० प्रतिशतभन्दा माथि रहेको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने आजकालका युवापुस्तामा वैदेशिक रोजगारीको आकर्षण बढ्दै गइरहेको पाइन्छ । तर, वैदेशिक रोजगारीको जति आकर्षण छ।

त्यहाँको अवस्था त्यति नै जोखिमपूर्ण पनि रहेको छ । विदेशमा जाने कामदारमध्ये ७० प्रतिशत कामदारले जोखिमपूर्ण काम गरिरहेको एक तथ्यांकले जनाएको छ । विदेश जानुभन्दा पहिले राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बन्धित कार्यअनुसार नै सीपको विकास गराएर मात्र विदेश पठाउने व्यवस्था भएमा अवश्य पनि वैदेशिक रोजगारीमा हुने जोखिम कम हुने थियो ।
हाल वैदेशिक रोजगारीमा सम्झौता गरिएअनुसार पारिश्रमिक नदिने, सुविधाहरू पूर्वसर्त नगराउने, बिमा नगरी काममा लगाउने जस्ता समस्याहरू देखिएका छन् । वैदेशिक रोजगारीमा देखिएका यस्ता समस्याहरू समाधान गर्नका लागि वैदेशिक रोजगारीमा जानुपुर्व सम्बन्धित देशको भाषा, धर्म, संस्कृति, हावापानी, कामको प्रकृति, कम्पनीको नियम कानुन, सेवासुविधा आदिका बारेमा स्पष्ट भएर मात्र जानुपर्छ ।

यसका लागि नियमबमोजिम श्रम सम्झौता गर्ने, जुन कामका लागि विदेश जाने हो, सो काम राम्ररी गर्न सक्ने बनेर मात्र जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।
वैदेशिक रोजगारीका लागि श्रम इजाजत भएको देशमा मात्र जानुपर्छ, तबमात्र सम्झौताबमोजिम कार्य गर्ने अवसर प्राप्त गर्न सकिन्छ । लुकीछिपी गलत प्रक्रियाबाट बिदेसिने युवाले झनै पीडादायी अवस्थाको सामना गर्नुपर्ने देखिन्छ । तसर्थ, नियमसङ्गत ढङ्गले मात्र विदेश जानु आफ्नो परिवार र राज्यको पनि हितमा रहन्छ ।

अनेकौं कारणले विदेशमा श्रमकै सिलसिलामा मृत्यु भएका नागरिकको दैनिक रूपमा तीन जनाको शव आउने गरेको दयनीय अवस्था छ । यसबाट वैदेशिक रोजगारी एकदमै जोखिमपूर्ण छ भनेर थाहा पाउन सकिन्छ । सुरक्षित र भरपर्दो रोजगारीका लागि राज्य बढी जिम्मेवार बन्नुपर्छ भने कामदार स्वयं सतर्क बनेर सबै कुरा राम्ररी जानेर बुझेर मात्र वैदेशिक रोजगारीमा जानु उपयुक्त हुन्छ ।

त्यसैगरी वैदेशिक रोजगारीलाई अझ थप व्यवस्थित र मर्यादित बनाउनका लागि राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । विदेशमा रोजगारीका लागि जानेले पनि सीप सिकेर मात्र जाने, श्रम सम्झौता गरेर भरपर्दो म्यानपावरबाट मात्र कार्य गर्नेजस्ता कुरामा चनाखो बन्नुपर्छ । सम्झौताअनुरूपको तलब, सेवासुविधा र सुरक्षाको ग्यारेन्टी गर्ने जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । आफू जाने देशको बारेमा पर्याप्त जानकारी लिनुपर्छ । तसर्थ, वैदेशिक रोजगारीमा जानुभन्दा पहिले यी यस्ता कुराहरूमा ध्यान दिन सकियो भने वैदेशिक रोजगारीमा देखिएका समस्याहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।

 

प्रतिकृया दिनुहोस्

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भुटानी शरणार्थी समस्या समाधानका लागि सरकारसँग सक्रिय पहलको माग

लन्डन, वैशाख ६ — भुटानी शरणार्थी समस्या दीर्घकालीन रूपमा टुंग्याउन र भुटानमा रहेका नेपालीभाषी राजनीतिक...