विनियोजन विधेयक प्रतिनिधिसभाको बहुमतबाट स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन्।
विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए।
सभाको आजको बैठकमा अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० विधेयक प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ३२ गते बिहानको ११ बजे बस्नेछ।


















