News Portal

दिल्लीमा २८ नेपाली महिला बन्धक, पीडितको उद्धारसँगै केही एजेन्ट पक्राउ

१२४० पटक

दिल्ली : आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरूको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।

घरेलु कामदारमा पठाउने भन्दै उनीहरूलाई एजेन्टले दिल्ली पुर्‍याएर बन्धक बनाएको पीडित महिलालाई उद्धृत गर्दै स्थानीय प्रहरीले जनाएको छ । २१ देखि ४५ वर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्‍याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् ।

प्रहरीका अनुसार उनीहरूलाई जबर्जस्ती बन्धक बनाइएको थियो । प्रहरीले नेपाली एजेन्टले नै ती महिलालाई बन्धक बनाएको दाबी गरेको छ । मानव तस्करीको आरोपमा केही नेपाली एजेन्टलाई समेत पक्राउ गरिएको छ । घटना पछाडि मानव तस्करी गिरोहको मुख्य नाइके दिल्लीमै रहेको आशंकासमेत प्रहरीले गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विदेश पठाइदिने भन्दै नेपाली महिलालाई दिल्लीमा बन्धक बनाइएको यो पहिलो घटना भने होइन । यसअघि ८ साउनमा पनि नयाँदिल्लीकै मुर्निकाबाट इराक र दुबई पठाइदिने भन्दै बन्धक बनाएर राखिएका १६ नेपाली युवतीको उद्धार गरिएको थियो । नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार लैजान २०७२ सालमा निर्देशिका जारी गर्दै प्रतिबन्ध लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि वैदेशिक रोजगारीका गिरोहले भारतका दिल्लीलगायतका विभिन्न सहरबाट नेपाली युवतीलाई गैरकानुनी रूपमा खाडी मुलुक पठाउँदै आएका छन् । त्यसका लागि विशेषगरी सडकमार्ग हुँदै युवतीलाई दिल्लीलगायतका सहरमा पुर्‍याउने गरिएको छ । अधिकांश भिजिट भिसामा जाने गरेका थिए ।

यो क्रम बढेसँगै नेपाल सरकारले भारतका सहरबाट विदेश जान खोज्ने नेपालीलाई भारतस्थित नेपाली दूतावासबाट जारी भएको एनओसी अनिवार्य गरेको छ । एनओसी अनिवार्य गरे पनि कहिले नक्कली एनओसी त कहिले भारतका दिल्लीलगायतका एयरपोर्टमा ‘सेटिङ’ मिलाएर नेपाली चेलीलाई खाडी मुलुक पठाउन मानव तस्करहरू सक्रिय छन् । कान्तिपुर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...