
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन्। बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन्।
“अब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ। हामी पाखुराका बलमा अघि बढ्न कम्मर कसौँ। यसका निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ,” उनले भने।
पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए।
शाहले लामो अवधिसम्म पनि नेपाल र नेपालीको अवस्था पुरानै परिस्थितिमा रहेको पनि बताए। “लामो अन्तरालपछि म आज उभिएर देशका बारेमा त्यस्तै कुरा गर्न विवश छु। मलाई दु:ख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ,” उनले भने।
उनले देशवासीको अवस्था सुधार गर्ने र जनतालाई शान्ति सुशासनका साथै मुलुकलाई समृद्ध बनाउने आफूहरूको भावना, धारणा र नारा रहेको बताए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
