आज : २०२६-०७-०५, आइतबार

नयाँ बर्षको शुभकामना- मगेन्द्र राई

लन्डन टावर ब्रीजमा उभिएर
मुलघाटको पुल सम्झनु
बगिरहेको थेम्स नदिलाई हेर्दै
अरुण नदि को यादमा डुब्नु

यो के पागलपन हो?

ग्रीनविच पार्कमा
साकुरा फक्रिरहेको बेला
क्योटो गार्डेनमा
टुलिप झुलिरहेको बेला
मेरो गाउको घुर्यानमा
आरु फुल्यो कि फुलेन?
लेकबारीको डिलमा
चाप फक्रियो कि फक्रिएन?

कल्पनामा मस्त हुन्छु

माघको जाडोले कक्रिएको
मेरो टारबारीको छातिभरि
तोरिको फूलले बैस फेरिरहेको होला
हिउको घुम्टो ओढेर
लजाई रहेकि मकालुको सिउदोमा
बिहानीको घामले
सिन्दुर छरिरहेको होला

मलाई थाहा छ,

हिले भन्ज्याङ बाट
उधै उधो बाटो लागेका
एक हुल अल्लारे बतास
तल चौतारीको बर पिपललाई
खुब जिस्काई रहेको हुनुपर्छ
ति फिर्फिराई रहेका
पिपलका पातहरुले बोलाईरहदा
नयाँ बर्ष टुप्लुक्क आईपुगेको हुनुपर्छ !!

सम्पूर्ण मनहरु प्रति नयाँ बर्षको शुभकामना !!

मगेन्द्र राई
भोजपुर, हाल; बेलायत