News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?

    हिमाली संचार संवाददाता
    ५९४ पटक

    मोरङ :  गत शनिबार मध्यराति बिरामी बोक्न गाउँतिर जाँदा एम्बुलेन्स चालकले बेलबारी नगरपालिका-२, लालभित्तीमा एउटा शव सिकुवामा तन्द्रङ्ग झुण्डिरहेको अवस्थामा देखे । शव रहेछ- पूर्वराष्ट्रिय पञ्चायत सदस्य (पूर्वसांसद) कर्णबहादुर धिमालको ।

    दशैंको मुखमा ७० वर्षे धिमालले आफ्नो एकतले घरको बुइँगलमा शनिबार राति डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । धिमालले आफू जीवितै हँुदा अस्पताललाई शरीर दान दिने घोषणा गरेका रहेछन् । तर, धरानस्थित वीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले उनको मृत शरीर लिन मानेन र परिवारजनलाई नै फर्काइदियो ।

    दशैंका बेला टाढा-टाढा रहेका परिवारजनको भेटघाट र मिलन हुने गर्छ । तर, यस्तो चाडबाडको मुखमा पूर्वसांसदजस्तो सचेत व्यक्तिले किन आत्महत्या गरे होलान् ? दशैंमा आफ्ना सन्तानलाई आशिर्वाद दिनुपर्ने बेलामा धिमालले आखिर किन सन्तानलाई रुवाउने बाटो रोजे ? धिमालको आत्महत्यापछि यस्तो प्रश्न उठ्नु स्वाभाविकै हो ।

    सोमबार अनलाइनखबरकर्मी धिमाल निवासमा पुग्दा बाटो छेउको पुरानो घर लगभग सुनसान थियो । झार पलाएको आँगनमा तीन/चारजना मानिस थिए । केही खाली कुर्सीहरु थिए । भित्र छोरा सेतो पहिरनमा बुबाको काजकिरिया गरिरहेका थिए । सहयोगीका रुपमा भतिज र भाञ्जा खटिएका थिए ।

    हामीले भतिज कविन्द्रराज धिमाललाई घटना कसरी भयो भनेर सोध्यौं । उनले सविस्तार विवरण सुनाए-

    शनिबार राति एम्बुलेन्स चालकले बाटैदेखि घरमा लास झुण्डिइरहेको देखेछन् । त्यसपछि त्यहीँबाट बेलबारी प्रहरीलाई फोन गरेछन् । प्रहरी गस्तीमा अन्तै निस्किएको रहेछ । पछि प्रहरी आइसकेपछि मलाई काकाकै मोबाइलबाट राति २ बजेतिर फोन आयो ।

    म काकाको घरभन्दा अलि पर बस्छु । त्यहाँ हाम्रो धिमाल दाजुभाइहरुको गाँवै छ । यो घरमा चाहिँ काकामात्रै एक्लै बस्नुहुन्थ्यो । घरमा अरु कोही थिएनन् ।

    प्रहरीको फोन आइसकेपछि मैले राति नै गाउँका अरु दाजुभाइलाई उठाएँ । काठमाडौंमा रहेका छोरा र श्रीमतीलाई पनि खबर गरें । हामी आइसकेपछि प्रहरीले लासको प्रकृति मुचुल्का उठायो ।

    उहाँले राति कोठाबाट बाहिर निस्केर बुइँगलमा पासो लगाउनुभएछ । डोरी बाँध्ने ठाउँ अलि अग्लो भएकाले मुढा राखेर चढ्नुभएछ । लासको छेउमा मुढा पनि थियो ।

    प्रहरीले लास उठाइसकेपछि पोष्टमार्टमका लागि धरान घोपा -वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान) पठायो । त्यो दिन शनिबार थियो, त्यत्तिकै भयो । हामी अस्पताललाई लास बुझाएर आयौं ।

    छोरा अभिमन्युले म बेलुकासम्म आइपुग्छु भनेका थिए । उनी मोटरसाइकलमै काठमाडौंबाट आइपुगे । काठमाडौंमै बस्ने काकी (कर्णबहादुरकी श्रीमती) बिरामी हुनुभएकाले आउनुभएन । काठमाडौंमा रहेकी बुहारी पनि बच्चा सानै भएकाले आइनन् । छोरामात्रै आए । अहिले उनी कोरामा बसेका छन् ।

    धिमालकाे भान्छा घर

    काका घरमा एक्लै बस्नुहुन्थ्यो । पहिले-पहिले किचनमा आफैं पकाएर खानुहुन्थ्यो । पछि भाञ्जाले नजिकैको होटलमा खाना खाने व्यवस्था गरिदिएका थिए, बिहान बेलुकै होटलमै खानुहुन्थ्यो ।

    काका बिरामी हुनुहुन्थ्यो । उहाँ मुटुको बिरामी हुनुहुन्थ्यो । एक हप्ता पहिले उहाँलाई अलि गाह्रो भयो । छिमेकीहरु आएर अस्पताल लैजान्छौं भन्दा मान्नुभएन । एकजना पूर्वसैनिकले छातीमा मालिस गरेपछि ठीक भयो र उठ्नुभयो । पहिले पनि मुटुको समस्याले अस्पताल लगिएको थियो । पछिल्लो समय उहाँलाई हर्निया पनि भएको थियो । उहाँ अत्यधीक पिउन थाल्नुभएको थियो ।

    काकाको गोजीमा एउटा कागज भेटिएको थियो । उहाँले आफ्नो शरीर अस्पताललाई दान दिनुभएको रहेछ । त्यसैले अस्पताललाई दिइसकेको लास फिर्ता दिँदैन भन्ने लाग्यो । लास धरानमै थियो, अब कसरी सदगति गर्ने भन्ने समस्या भयो । यो हाम्रा लागि नयाँ विषय बन्यो ।

    मलाई एकजना दमकको साथीले भन्यो कि हाम्रोमा पनि एकपटक यस्तै भएको थियो र हामीले कुशको प्रतिमा बनाएर सदगति गरेका थियौं । मैले यो कुरा सबैलाई सुनाएँ र कुशको बनाएर जलाउन सकिने कुरा गरेको थिएँ ।

    हामी धरानबाट र्फकँदा कुशको शव बनाउन थालिसकेका रहेछन् । तर, शरीर दान गरे पनि पोष्टमार्टम गरेको लास अस्पतालले जिम्मा नलिन सक्छ र फिर्ता गर्न सक्छ भन्ने कुरा चल्यो । अहिले कुशको बनाएर जलाऔंला, भोलि अस्पतालबाट लास फिर्ता आयो भने दुईचोटि सदगति गर्नुपर्ने हुन्छ, त्यसैले आज नगरौं भन्ने निर्णय भयो ।

    आइतबार हामी वीपी प्रतिष्ठानमा रजिष्ट्रारलाई भेट्न गयौं । त्यहाँ यही विषयमा बैठक चलिरहेको रहेछ । त्यहाँबाट इमर्जेन्सीमा जानोस् भने. । इमर्जेन्सीमा पुग्दा शवगृहमा जान भने ।

    शव गृहमा पुग्दाखेरि मोटरसाइकल दुर्घटनामा मृत्युभएका बेलबारीकै दुईजना भाइहरुको पोष्टमार्ट हुन लागेको रहेछ । उनीहरुको शव परिवारलाई बुझाएपछि काकाको पनि शव फिर्ता दिए । पोष्टमार्टम गर्नुपर्ने केस भएको लास अस्पतालले जिम्मा लिँदैनरहेछ । त्यसपछि हामीले साँझमा बेलबारीको लोहोन्द्र खोलामा उहाँको सदगति गर्‍यौं ।
    हाम्रो धिमाल जातीय विकास केन्द्र भन्ने संस्था छ । काका त्यो संस्थाको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । संस्थाले मंगलबारेमा रहेको कार्यालयमा शव राखेर श्रद्धाञ्जली कार्यक्रम गर्ने भनेको थियो । तर, हामीले समय नभएकाले त्यहाँ नलगी सदगति गर्‍यौं । हाम्रो धिमालको संस्कार अनुसार तीन दिनमै काज किरिया सकिन्छ ।

    काका ‘अब म धेरै बाच्दिनँ होला’ भनेर बारम्बार भनिरहनुहुथ्यो । मर्नुपर्ने रहेछ, अघिल्लो दिन मलाई फोन गरेर बोलाउनुभयो र त्यसै भन्नुभयो । सधैं पनि त्यसै भनिरहने हुनाले मैले स्वाभाविक रुपमा लिएँ । उहाँले म मरेपछि मेरो फोटो भाञ्जालाई दिनु र प्रमाणपत्रहरु संस्थालाई दिनू भन्नुभएको थियो ।

    को हुन् कर्णबहादुर ?

    कर्णबहादुर झापा-मोरङमा बसोबास रहेको आदिवासी जनजाति समुदाय धिमाल जातिका अग्रणी व्यक्ति हुन् । उनी राजतन्त्र समर्थक राजनीतिकर्मी हुन् । पञ्चायत ढलेपछि उनी केही वर्ष राप्रपाको केन्द्रीय सदस्य समेत भए । ०५० सालदेखि भने उनी राजनीतिक रुपमा निश्क्रिय र स्वतन्त्र थिए ।

    लालभित्ती चोकै छेउमा सानो घरमा बसेाबास गर्दै आएका उनी सामान्य जीवन यापन गरिरहेका थिए । स्थानीयका अनुसार उनी जीवनको उत्तरार्धमा अत्यधीक मादक पदार्थ सेवन गर्थे । पारिवारिक तनावमा भएकाले पनि उनी मादक पदार्थमा बढी लागेको स्थानीयको भनाइ छ ।

    वि.सं. ०३८ सालको राष्ट्रिय पञ्चायतको चुनावमा धिमाल मोरङबाट विजयी बनेका थिए । त्यसबेला धिमालले आफू पञ्च भएता पनि कांग्रेस र कम्युनिस्टको भोटले चुनाव जितेको चर्चा मोरङमा हुने गरेको छ ।

    रापंस बनेपछि धिमाल राष्ट्रिय पञ्चायतको सामाजिक समितिको सभापति समेत बने । ०३६ सालको जनमत संग्रहमा उनले पञ्चायतलाई जिताउन किसान पञ्चभेला समितिको सभापति भएर भूमिका खेलेका थिए ।
    १६ वर्षको उमेरदेखि निर्दलीय पञ्चायतको राजनीतिक कार्यकर्ता बनेका धिमाल नेपाल किसान संघको मोरङ जिल्ला उपसभापतिसम्म बने । ०३१ सालमा हरैंचा गाउँ पञ्चायतको वडा सदस्य बनेका उनी ०३५ सालमा हरैंचाको उपप्रधानपञ्चसमेत मनोनित भए ।

    ०२१ सालदेखि ०२३ सालसम्म महेन्द्र प्रावि, भगवति प्रावि आदिमा श्रमदानस्वरुप अध्यापन गरेका धिमालले आइएसम्मको अध्ययन गरेका थिए ।

    उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचत हुनुभन्दा पहिले स्थानीय महेन्द्र प्रावि र सुकुना प्राविको सहयोग समितिको सदस्य तथा मोरङ साझा संस्थाको सञ्चालक समितिको सदस्य समेत बनेका थिए ।

    एक्लोपनका कारण बुढेसकालमा डिप्रेसन

    धिमालले आत्महत्या गर्नुको कारण के थियो ? उनले आफ्नो सुसाइट नोटमा यसबारे खुलाएका छैनन् । शरीरमा भेटिएको कागजमा शरीर दानको कुरोमात्रै उल्लेख भएको आफन्तहरु बताउँछन् ।

    तर, स्थानीय लालभित्तीका बासिन्दाहरु भने पारिवारिक तनाव र एक्लोपनका कारण धिमालले आत्महत्या गरेको हुनसक्ने बताउँछन् ।

    ‘कर्णबहादुरका नाममा जग्गा जमिन र घर केही पनि थिएन । उनी बसेको घर पनि छोराका नाममा थियो,’ धिमाललाई नजिकबाट चिन्ने एक स्थानीयले भने, ‘काठमाडौंमा पनि घर थियो, छोरा र श्रीमतीकै नाममा थियो, उनले आफ्नो नाममा केही पनि राखेका थिएनन् । उनी निकै ठूलो आर्थिक समस्यामा बाँचिरहेका थिए ।’

    स्थानीयवासीको भनाइ अनुसार हाल उनी बसिरहेको घर अघिल्लो महिनामात्रै छोराले स्थानीय सानिमा बैंकमा धितो राखेर २० लाख रुपैयाँ ऋण निकाले । त्यसबेला धिमालले मलाई २० हजार रुपैयाँ चाहिँ देऊ है भनेका थिए, तर छोरा पैसा नदिई काठमाडौं गए ।

    आत्महत्या गर्नुअघि लालभित्तीका छिमेकीहरुलाई भेटेर धिमालले रुँदै ‘अब म बाँच्दिनँ’ भन्ने गरेको स्थानीयवासीको भनाइ छ ।

    धिमालका एकजना छिमेकीले अनलाइनखबरसँग भने- ‘मकहाँ आउनुभयो र रुँदैरुँदै भन्नुभयो- ‘अब म धेरै दिन बाँच्दिनँ ।’

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ९, २०८२ (अप्रिल २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एकता महाधिवेशन तोकिएकै मितिमा हुने, मिति सार्ने कुनै सम्भावना छैन : उच्चस्तरीय समिति

    काठमाडौँ, वैशाख ८ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आउँदो मे ३ देखि...

    शिक्षक आन्दोलनमा नाचेर चर्चित बनेका होमराज पौडेल निजी स्कुलका सञ्चालक

    काठमाडौं, वैशाख ८ – शिक्षक आन्दोलनको क्रममा टिकटकमा नाचेको भिडियो सार्वजनिक गरी भाइरल बनेका शिक्षक...

    आफ्नै छोरीप्रति बलात्कारको आरोपमा बाबु पक्राउ, प्रहरी अनुसन्धान जारी

    ८ वैशाख, हेटौंडा – मकवानपुर जिल्लाको थाहा नगरपालिकाबाट एक दर्दनाक घटना सार्वजनिक भएको छ। आफ्नै...

    शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा : शिक्षक आन्दोलनको चर्को दबाबबीच जिम्मेवारीबाट अलग

    काठमाडाैं, वैशाख ८ – लामो समयदेखि शिक्षक आन्दोलनको घेराबन्दीमा परेकी शिक्षामन्त्री विद्या भट्टराईले अन्ततः पदबाट...