काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान जारी हुदा प्रधानमन्त्री रहेका स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ ।
राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव पदकद्वारा सम्मानित गरिने भएको छ । गत ३१ भदौ मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन् । उक्त पदक पाउनेहरुको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो ।
दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।
समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । यस अवसरमा सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।
जनताबाट निर्वाचित जनप्रतिनिधि गठन भएको संविधानसभा ३, असोज ०७२ मा संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।
संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने निश्चित भएको छ।