News Portal

लुम्बिनीका दुई जिल्लामा अझै पनी स्वच्छ खानेपानीको अभाव

हिमालीसंचार संवाददाता
३४६ पटक

नेपालगंज। बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन्। ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए।

उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत नागरिकले पाइप प्रणालीको पानी प्रयोग गर्न पाउनेछन्। अहिले बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन् । १४ हजार एक सय ३० घरधुरीले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन्।

नेपालगञ्जस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ती जिल्ला हेर्दै आएको छ। कार्यालयले नागरिकलाई स्वच्छ पानी पुर्याउन सघन खानेपानी आयोजना, सरसफाइ तथा ढल व्यवस्थापन, खानेपानी आयोजना गुणस्तर सुधार तथा अभिवृद्धि कार्यक्रम, खानेपानी आयोजना मर्मत सुधार, जलवायु अनुकूलित खानेपानी आयोजना, तराई–मधेस खानेपानीलगायतका आयोजनामा काम गर्दै आएको छ।

बाँकेमा २०६३/०६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अलपत्र परेका छन्। आयोजना सञ्चालन गर्नका लागि न्यून बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिले चासो नदेखाउनुलगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा पुगेको प्रमुख न्यौपानेले बताए।

विसं २०६३/०६४ देखि निर्माण सुरु भएको नेपालगञ्ज–१६ जयसपुरमा रहेको खानेपानी आयोजनाको सुर्खेत रोड विस्तारका क्रममा सडकमा रहेको पाइपलाइन काटिएपछि अलपत्र परेको छ

कोहलपुर–१४ हवल्दारपुर नजिकै रहेको शम्शेरगञ्ज खानेपानी आयोजना, राधापुर खानेपानी योजनालगायतका आयोजना हाल अलपत्र अवस्थामा रहेका छन्। यी आयोजना सञ्चालनका लागि डिभिजन कार्यालयले प्रयास गरिरहेको उनको भनाइ छ।

अलपत्र योजना सम्पन्न गर्न उपभोक्ता र स्थानीय सरकारले चासो दिएका छैनन्। बनिरहेका योजना सम्पन्न गर्नेतर्फभन्दा पनि लोकप्रियताका लागि योजना थप्दै जाने प्रवृत्ति बढ्दै गएपछि यसले थप समस्या निम्तिएको छ। एउटा आयोजना सम्पन्न भएपश्चात् मात्र अर्को आयोजनाको सुरुआत गर्नसके आयोजना चाँडो सम्पन्न हुने कार्यालयले जनाएको छ। – रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...