आज : २०२६-०६-१४, आइतबार

अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मरासिनी 

काठमाडौँ। अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन्। बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन्।

कान्तिपुरका अनुसार बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएको बालुवाटार स्रोतले बताएको छ।

जनार्दन शर्मा मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने पनि प्रधानमन्त्री देउवालाई मरासिनीले जनाकारी गराएको स्रोतको भनाइ छ।

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ।

साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ।