News Portal

सरकारले कारवाही गर्ने भएपछि पछि हट्यो वायुसेवा सञ्चालकहरु, नियमित उडान गर्ने

हिमालीसंचार संवाददाता
२७१ पटक

काठमाडौं – सरकारले हवाई सेवा व्यवस्थित बनाउने पहल गर्दा वायुसेवा सञ्चालक संघले अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेपछि सरकारले कारवाहीको तयारी गरेपछि वायुसेवा संचालकहरु पछि हटेका छन् ।

सरकारले वायुसेवा संचालकहरुलाई पक्राउ गरी कारबाही गर्ने तयारी गरेपछि अत्यावश्यक सेवामा सूचीकृत हवाई सेवा ठप्प पार्ने घोषणाबाट पछि हटेका हुन् । संघले बुधबार दिउँसो ११ बजेदेखि उडान नियमित गर्ने तथा सरकारसँग वार्ता पनि जारी राख्ने सहमति गरेका छन् । 

नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा व्यवस्थित बनाउने पहल गर्दा वायुसेवा सञ्चालक संघले अत्यावश्यक सेवा नै प्रभावित गर्ने गरी बुधबारदेखि सबै आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो । तर, बुद्ध एयरले भने सेवा बन्द नगर्ने जनाएको थियो ।

अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ दफा (३) को उपदफा (१) अनुसार सरकारले २६ जेठ ०७९ मा राजपत्रमा सूचना प्रकाशित गरी हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गरेर हडताल गर्न निषेध गरेको छ । तर, वायुसेवा सञ्चालकहरू आफ्ना माग पूरा गराउन प्रचलित कानून मिच्दै दादागिरीमा उत्रिएका थिए ।

सरकारले वायुयानको बढ्दो चापका कारण त्रिभुवन विमानस्थलमा उडान, पार्किङ, ग्राउन्ड ह्यान्डलिङ, नेभिगेसनलगायतका समस्या बढेको ठहर गर्दै क्यानले कुल जहाजको ६७ प्रतिशत बाहिरका विमानस्थलमा राख्न निर्देशन दिएको थियो । प्राधिकरणले हेलिकोप्टर कम्पनीलाई ७ असार र हवाईजहाज कम्पनीलाई १३ असारदेखि तोकिएका आधार विमानस्थलबाट पहिलो उडान गर्न निर्देशन दिएको थियो । उपत्यकाबाहिर १० वटा विमानस्थलमा रात्रि बिसानको व्यवस्था गरिएको छ ।

नेपालमा उडान सुरक्षा सुदृढीकरण र उडान व्यवस्थित गर्न भन्दै क्यानले वायुसेवा कम्पनीहरूलाई ५ असारमा तोकिएका आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन दिएको थियो । तर, वायुसेवा संघले मंगलबार आकस्मिक पत्रकार सम्मेलन गरी क्यानले तोकेका अप्रेसन बेसका प्रावधानहरू खारेज गर्न तथा अहिले भइरहेकै व्यवस्थाअनुसार टिआइएलगायतका विमानस्थलबाट सम्पूर्ण हवाईजहाज र हेलिकोप्टर कम्पनीहरूले विनाअवरोध सेवा यथावत् सञ्चालन गर्न पाउनुपर्ने माग गरेको थियो । नियामक क्यानले आफ्ना पाँचबुँदे मागहरू सम्बोधन नगरेसम्म अनिश्चितकालसम्म सम्पूर्ण उडान ठप्प पार्ने संघको घोषणा थियो ।

क्यानका महानिर्देशक अधिकारीले वायुसेवा कम्पनीहरूले अत्यावश्यक हवाई सेवा बन्द गरे नियामक निकाय पनि चुप लागेर नबस्ने चेतावनी दिएका थिए । उडान बन्द गर्ने वायुसेवा कम्पनीहरूको एओसी नै खारेज गरिदिने चेतावनी क्यानले दिएको थियो ।

पत्रकार सम्मेलन गरी महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवा कम्पनीका जहाजहरू राख्न सम्भव नभएको बताएका थिए । ‘सबै जहाज राख्न त्रिभुवन विमानस्थल रत्नपार्क होइन, जहाज खचाखच हुँदा विमानस्थलमै दुर्घटना हुने सम्भावना हुन्छ,’ उनको भनाइ थियो, ‘बढ्दो हवाई चापका कारण पार्किङ र उडान व्यवस्थापन चुस्त बनाउन बाहिर आधार तोकेका हौँ, हवाई सुरक्षा बढाउन क्यान र वायुसेवा सञ्चालक मिलेर अगाडि बढ्नुपर्छ ।’

टिआइएका महाप्रबन्धक प्रेमनाथ ठाकुरले त्रिभुवन विमानस्थलमै हेलिकोप्टर र हवाईजहाज ठोक्किने अवस्था आएको हुँदा उपत्यकाबाहिरका विमानस्थलमा आधार तोकिएको बताए । ‘उडान सुरक्षालाई मध्यनजर गर्दै वायुसेवा कम्पनीलाई आफ्नै क्षेत्रमा रात्रिकालीन पार्किङ र पहिलो उडान त्यहीँबाट गर्नुपर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘उडान सुरक्षित र चुस्त बनाउन, उडान डिले हुँदा यात्रु र वायुसेवा कम्पनीका कर्मचारीबीच हुने नोकझोँक कम गर्न सबै गम्भीर हुनुपर्छ ।’ काठमाडौंमा हवाई चाप बढेपछि उडान व्यवस्थापनका लागि क्यानले तराईका रात्रिकालीन उडान गर्न मिल्ने विमानस्थललाई राति १२ बजेसम्म खुला गरेको छ ।

क्यानले मंगलबार बाहिर आधार तोकिएका हेलिकोप्टर कम्पनीहरूको काठमाडौंबाट हुने उडान रोकेको थियो । त्यसलगत्तै वायुसेवा सञ्चालक संघले आकस्मिक बैठक राखेर बुधबारदेखि उडान नै ठप्प पार्ने निर्णय गरेको हो । संघका अध्यक्ष रामेश्वर थापाले क्यानले गलत निर्णय गरेकाले बाध्य भएर उडान ठप्प पार्ने निर्णय गर्नुपरेको बताएका थिए । 

‘हाम्रो उडान बन्द गर्ने चाहना होइन, यात्रुलाई दुःख दिने कुनै मनसाय पनि छैन,’ उनको भनाइ थियो, ‘सरकारको एकतर्फी निर्णयका कारण बाध्य भयौँ, पाँचबुँदे माग पूरा नभएसम्म उडान बन्द गर्छौँ ।’ तर, क्यानले दुई महिनाअघि नै आन्तरिक वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, गुण एयरलाइन्सलगायत वायुसेवा कम्पनीका प्रतिनिधिसँग छलफल गरेर बाहिर बेस राख्ने निर्णय गरेको बताएको छ ।

त्रिभुवन विमानस्थलमा पार्किङ, उडान डिले हुने, ग्राउन्ड ह्यान्डलिङलगायत समस्याका कारण स्वीकृति लिएको बेस (आधार) विमानस्थलमा पार्किङ र उडान गर्नुपर्ने क्यानले जनाएको छ । ३८ हेलिकोप्टरमध्ये २१ वटा काठमाडौं र १७ वटा बाहिर बेस राख्न तथा ५२ हवाईजहाजमध्ये १७ वटा काठमाडौं र ३५ वटा बाहिर बेस राख्न क्यानले निर्देशन दिएको थियो । क्यानले टिआइएकेन्द्रित बढ्दो हवाई चाप क्रमशः बाहिर स्थानान्तरण गर्न खोजिरहेको छ ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...