दाङ। लुम्बिनी प्रदेशकी राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसीपुर ५ स्थित एकराज बस्नेतको घरमा गएर बिहानै हुलदंगा गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
मन्त्रीजस्तो गरिमामय पदमा रहेकी विमलाले एकाविहानै सर्वसाधारणको घरमा पसेर ताण्डव मच्चाएपछि स्थानीयले उनलाई कालोमोसो दलौं भन्दैगर्दा प्रहरीले राज्यमन्त्री ओलीलाई नियन्त्रणमा लिएको हो।
एकराजको घरमा गएर उनका परिवारसँग झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। एकराजकी श्रीमती मीनाले आफूलाई राज्यमन्त्री बिमलाले हातपात गरेको बताएकी छन्। स्थानीय टोल विकास समितिका अध्यक्ष प्रेम गिरीले प्रहरीलाई खबर गरेका थिए।
प्रत्यक्षदर्शीसमेत रहेका टोल विकास समितिका अध्यक्ष प्रेम गिरीले घटना बारे यसरी बताएका छन्–
बिमलाजी बिहान ८ बजेतिर मन्त्रीको गाडीमै झण्डा हल्लाउँदै आउनुभएको थियो। हामी पनि मन्त्रीज्यु आउनुभयो भन्दै बाहिर निस्कियौं।
तर, उहाँ सिधै एकराजको घरमा पस्नुभयो। उहाँ पसेको केही समयमै भित्र झगडा हुन थाल्यो। भित्र होहल्ला भएपछि मलगायत केही साथीहरु एकराजको घरमा गयौं।
बिमला भुईँतलाको बेडरुममा हुनुहुन्थ्यो। हामी जाँदा एकराजकी श्रीमती मीनाले मलाई हातपात गर्यो भन्नुहुन्थ्यो। तर, हामीले कुटपिट गरेकोचाहिँ देखेनौं।
बिमला बसेको ढोकामा उहाँको ड्राइभर हो कि गार्ड हो, थिए। उनले हामीलाई भित्र बिमला भएको कोठामा जानै दिएनन्। मैले बाहिरबाटै अनुरोध गरेँ।
तपाई यसरी आउनु राम्रो कुरा होइन। अहिले भीड जम्मा भएपछि तपाईको बेइज्यत हुन्छ। तपाई यहाँबाट निस्किहाल्नुस् भनेर अनुरोध गरेँ। उहाँले मलाई पनि एकराजलाई ल्याएर आउनुस् अनि बल्ल म निस्कन्छु भन्नुभयो।
एकराज कहाँ छन्, हामीलाई पनि थाहा छैन। तपाई जतिसक्दो चाँडो जानु नै राम्रो हुन्छ भन्दा पनि उहाँले मान्नुभएन। त्यतिबेला ५०–६० जना मान्छे जम्मा भइसकेका थिए।
बाहिर जम्मा भएको भीडले यसलाई कालोमोसो दल्ने भन्न थाले। त्यसपछि मैले इलाका प्रहरी कार्यालयका डीएसपी सा’बसँग कुरा गरेँ। डीएसपी सा’बले आधाघण्टा भन्दा पछि मात्रै प्रहरी पठाउनुभयो। उहाँले मैले भन्नासाथ प्रहरी पठाइदिएको भए यो बबाल केही पनि हुन्थेन। पछि मान्छे थपिँदै गए।
प्रहरी आइसकेपछिभित्रैबाट उहाँलाई सुरक्षा दिएर उहाँलाई गाडीमा लग्यो। एकराज जीचाहिँ पाल्पातिर गएका छन् भन्ने सुनेका छौं।
पहिले पनि एकराजले सिन्दुर हालेको फोटो भाइरल भएको थियो। चुनावी प्रपोगाण्ड भनेर त्यतिबेला ढाकछोप गरिएको थियो। अहिले तपाईको एकराज को हो भनेर सोध्दा मेरो श्रीमान हो भन्नुहुन्छ।
अहिले उहाँलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ। हामी पनि यहिँ आएका छौं। हेरौं अब के हुन्छ।
राज्यमन्त्री वली र एकराज बस्नेतको सम्बन्धलाई लिएर यसअघि पनि विभिन्न चर्चा हुने गरेका थिए। वली एकराजलाई खोज्दै उनको घरैमा घुसेपछि स्थानीयले उनीहरुको सम्बन्धलाई लिएर थप आशंका गरेका छन्।
एमालेका तर्फबाटदाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि विमलाले उपनिर्वाचनमा टिकट पाएर जितिन्। नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित वली अहिले नेकपा माओवादीमा लागेकी छिन्। माओवादी प्रवेशसँगै उनी राज्यमन्त्री छिन् । विगतमा पनि राज्यमन्त्री विमला विभिन्न विवादमा पर्दै आएकी छिन्।
मंगलबार राज्यमन्त्री वली प्रवेश गरेको घरका मालिक एकराज बस्नेत माओवादीको भातृ संगठन वाइसिएलका कार्यकर्ता हुन्। यसअघि पनि विमलाले एकराजलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन्। – नपालखबरबाट।