अविन माबो/झापा – झापाको कनकाई नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार दिएका शेरबहादुर थापाले सुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक ३ सय मत गणनाको परिणाम सार्वजनिक हुँदासम्म चुनाव चिन्ह घोडा लिएर चुनाव लडेका स्वतन्त्र उम्मेदवार थापाले १ सय ४१ मत प्राप्त गरेका छन् ।
मेयर पदका उम्मेदवार एमालेका राजेन्द्रप्रसाद पोखरेलले ७७, कांग्रेसका रुद्रप्रसाद चिमरियाले २८ र राप्रपाका श्यामसुन्दर ओलीले ९ मत पाएका छन् । उपमेयरतर्फ एमालेकी मञ्जु प्रसाईले १ सय १, कांग्रेसकी आशा सिवाकोटीले ८५, राप्रपाकी सचित्रा खनालले २० र एकीकृत समाजवादीकी अम्बिकादेवी महतले १३ मत पाएका छन् ।
कांग्रेस नेता थापाले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका हुन् । एमालेबाट टिकट नपाउने भएपछि श्यामसुन्दर ओलीले एमाले छोडेर राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेकै दिन मेयर पदको टिकट प्राप्त गरेका थिए ।
झापाको कनकाईमा शुक्रबार ७२ दशमलव ८८ प्रतिशत मतदान भएको छ । ३५ हजार ४ सय ७१ मतदाता रहेको कनकाईमा २५ हजार ८ सय ५१ जनाले मतदान गरेका छन् ।