धरान – धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईको कार्यकाल सकिन छोटो समय बाँकी छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनपछि जननिर्वाचित मेयर धरान उपमहानगरपालिका धरानले पाउदैछ ।
धरान उपमहानगरपालिका धरानको बैठक कक्षमा पत्रकार सम्मेलनको आयोजना गरेका मेयर राईले आफ्नो छोटो कार्यकालमा भएका महत्वपूर्ण कामहरुका बारेमा जानकारी दिएका मेयर राईले ०७६ मंसिर १६ गते उपनिर्वाचनपछि धरानका मेयर पदमा निर्वाचित भएदेखि हालसम्मका सम्पूर्ण कामको फेहरिस्त बताए।
समय अभावका कारण स्वयम् आफु नै सन्तुष्ट हुन सक्ने काम गर्न नसकेको दुखेसो पोखे । अढाइ वर्षे कार्यकालमा केही गर्न नसकेको उनले बताए । ‘यतिका वर्षसम्म मैले धेरै काम गरें तर मैले जति काम गरें, त्यसमा म आफैं सन्तुष्ट छैन’, उनले भने, ‘त्यही भएर म भन्छु, यतिका वर्ष मैले केही गर्न सकिनँ जस्तो लाग्छ ।’
धरान उपमहानगरको नेतृत्व लिएपछि कोरोना कहरका कारण भनेजति, सोंचेजति कार्य योजना सम्पादन गर्न नसकेको समेत बताएका मेयर राईले ‘कोरोना महामारीको कारणले धेरैजसो ध्यान त्यही खर्च भयो’, उनले भने, ‘त्यही भएर पनि मलाई सोचेजस्तो काम गर्न नसकेको नलागेको हो ।’ कोरोना कहर, पुर्ण कार्यलाल नभएको र प्रतिपक्षीको केही अवरोधका कारण पनि सोचे जस्तो काम गर्न नसकेको दुखेसो पोखे ।‘२० जनाको कार्यपालिकामा म सहित हामी ६ जना थियौं’, उनले भने, ‘खानेपानी लगायतका विषयमा कार्यपालिका बैठक अवरोधदेखि अन्य काम पनि हुन खोजे तर पनि मैले अभिभावकको हिसाबले सबैलाई शान्त पार्ने कोशिस गरेको थिएँ ।’
मेयर राईले धराने जनताले चाहे फेरि पनि मेयर पदमा उठेर पूर्ण कार्यकाल संचालन गर्ने इच्छा व्यक्त गरे । धराने जनताले चाहे फेरि पनि आउन सक्छु’, उनले भने । प्रतिकुल परिस्थितिसंगै आफ्नो नेतृत्वमा नगरको समृद्धि र विकासको लागि कामहरु गर्न सफल भएको जानकारी दिए । केहि योजनाहरु अन्तिम चरणमा रहेको जानकारी दिए । धरानका बसपार्कलगायतका केही कामहरु अघि बढिसकेको समेत बताए ।
‘राम्रा कामहरुलाई निरन्तरता दिने र धरानको सम्भावना रहेका योजनाहरुलाई अगाडि बढाउने कार्यहरु गर्यौं । प्रतिकुल परिस्थितिको बाबजुद पनि मेरो नेतृत्वले नगरको विकास र समृद्धिलाई बन्धक हुन दिन्नौं । सबै खाले राजनैतिक चुनौतीलाई संयमताकाबीच व्यवस्थापन गरी धरानलाई निकास दिने पहल कदमीको नेतृत्व गर्ने अवसर प्राप्त भयो ।’ उनले भने । उनले धरानको शिक्षा, स्वास्थ्य र विकास निर्माणमा धेरै काम हुन सकेको बताए ।
नगरको मुख्या समस्यको रुपमा रहेको खानेपानीको विषयमा खानेपानीको उत्पादनमा र वितरणमा समस्या देखिएकोले योजना पूर्णरुपमा सम्पन्न नभएको अवस्था रहेको बताए । आयोजना असफल नरहेको तर अपूरो रहेको उनले बताए ।‘असफल आयोजना त भनिहाल्न मिल्दैन किनभने अहिले पनि प्रक्रियामै छ’, उनले भने, ‘यो आयोजना अपूरोचाहिँ हो ।’
खानेपानीबारे मेयर राईको सुझावः
१. विज्ञ र कार्यदलले दिएको सुझाव अनुसार नेपाल सरकारले आयोजना पूर्ण गर्नेगरी बजेट व्यवस्था गरी बाँकी काम सम्पन्न गर्नुपर्ने, सभागृहमा ट्याङ्की थप गर्नुपर्ने, पिण्डेश्वर थप ट्याङ्की निर्माण गर्नुपर्ने ।
२. जनसंख्यासँगै पानीको खपत निरन्तर बढिरहेको हुँदा समयसमयमा मुहानको संरक्षण र थप नयाँ आयोजना निर्माण गरी पानी आपूर्तिको सुनिश्चितता गर्नुपर्ने ।
३. त्यसका लागि थप वेलहरु थप्नुपर्ने साथै अध्ययन अनुसार सप्तकोशीबाट केही वर्षमा नै योजना कार्यान्वयनमा ल्याउनुपर्ने साथै ठूला योजनाको रुपमा धरान लेउती सुरुबमार्गसँगै खानेपानी आपूर्तिको अध्ययन गर्नुपर्ने ।
४. सरकारसँगको निरन्तरको छलफल र सम्पर्क र पत्राचारको आाधारमा एकीकृत खानेपानी आयोजना साविक पञ्चकन्या गाविस हालको वडाहरु ४,५,६ र साविक विष्णुपादुका हालको वडा नं. २० पटनाली समेतलाई आपूर्ति हुनेगरी अध्ययनको लागि केही ठूला सहरसँगै धरान उपमहानगरपालिका समेतको छनौट भएको ।
५. नगरबासीहरुको तर्फबाट समेत यो आयोजनामा अपनत्व हुनेगरी समानुपातिक वितरण उपभोगका लागि एकअर्कामा सहयोगको भावना जरुरी भइसकेको छ । पुरानो र नयाँ पाईप लाईन व्यवस्थापन, इन्टरकनेक्सनमा समस्या छ । कतै पानी आउने, कतै नआउने दुई घर पर आउने अर्कोकोमा नआउने परिस्थिति छ । यस्तो परिस्थितिलाई सामान्यकरण गर्न खानेपानीका कर्मचारी प्राविधिकहरुलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ।