आज सोभियत संघका संस्थापक लेनिनको जन्मदिन हो। सन् १८७० अप्रिल २२ को दिन रुसी कम्युनिष्ट क्रान्तिका नेता मानिने लेनिनको जन्म भएको थियो । उनको वास्तविक नाम भ्लादिमिर इलिच उल्यानोभ थियो । तर पछि उनी लेनिन भनेर विश्वमा चिनिन थाले ।
सन् १९१७ मा लेनिनले रुसी क्रान्तिको नेतृत्व गरे जसले देशलाई समाजवादी राज्यमा रुपान्तरण गर्यो । उनकै नेतृत्वमा रुसी क्रान्तिपछि १५ राज्य मिलाएर सन् १९२२ मा सोभियत संघको स्थापना भयो । पछि सोभियत संघ अमेरिकासँगै विश्वका दुई महाशक्ति मध्येको एक शक्ति बन्यो ।
रुसी क्रान्तिकारी र राजनीतिक सिद्धान्तकार लेनिन कर्मठ मार्क्सवादी थिए । उनले सोभियत संघलाई मार्क्सको विचार अनुरुप ढालेका थिए । सोभियत संघको सत्तारुढ कम्युनिष्ट पार्टीले मार्क्सवादलाई मार्गदशक सिद्धान्त मानेको थियो ।
पछि उनको मृत्युपछि सोभियत संघले माक्र्सवादको पछाडि लेनिनवाद जोडेर त्यसैलाई मार्गदर्शक सिद्धान्त मानेर पछ्याउन थाल्यो ।
भ्लादिमिर इलिज उल्यानोभ कसरी ‘लेनिन’ बने ?
उनको नाम लेनिन हुनुको एउटा विशेष कारण छ । लेनिनले लामो समय भूमिगत भएर क्रान्ति गरे । क्रान्तिकारी प्रति रुसी जारहरू कठोर थिए ।
उनले रुसी सरकारको पकडबाट बच्न टुलिन, पेट्रोभजस्ता विभिन्न छद्म नाम प्रयोग गरे । लेनिनले जीवनकालमा १४६ छद्म नाम राखेको अध्येताहरूले पाएका छन् । जसमध्ये १२९ रुसी नाम थिए भने बाँकी १७ विदेशी ।
लेनिन नाम भने उनले साईबेरिया निर्वासन हुँदा सन् १९०१ मा पहिलोपटक उल्लेख गरेको पाइन्छ । त्यसबेला उनी लेना नदी छेउ बसोबास गर्ने भएकाले उनले नदीको नामबाट मिलाएर लेनिन नाम प्रयोग गरेको मान्ने धेरै छन् ।
यसमै जोडिएर आउने अर्को प्रसंग पनि छ । त्यसबेला रुसको चर्चित नदी भोल्गाबाट मिलाएर धेरै क्रान्तिकारीले भोल्गिन उपनाम राख्ने चलन नै चलेको थियो । त्यसमध्ये एक मेन्सेबिक नेता गिओर्गी प्लेखानोभले पनि भोल्गिन उपनाम राखेका थिए ।
लेनिनले आफ्ना वैचारिक प्रतिस्पर्धी प्लेखानोभको उपनामलाई व्यंग्य गर्दै रुसीमाझ भोल्गाको तुलनामा कम चर्चित लेनाबाट नाम राखेको बताइन्छ । पछि यही नामले उनी चिनिन थाले ।
कलेजबाट निष्कासनः
लेनिनलाई जार शासनको विरोध सभामा सहभागी भएको भन्दै उनलाई कलेजबाट निष्कासित गरिएको थियो । लेनिनको निष्कासनको अर्को कारण उनको दाई अलेक्जेण्डर उल्यानोभ पनि थिए । अलेक्जेण्डर सोही वर्ष जार शासक एलेक्ज्याण्डर तृतीयको हत्याको योजना बनाएको आरोप पक्राउ परेका थिए । सोही मुद्दामा सन् १८८७ मे ८ मा लेनिनका दाई र उनका चार साथीलाई मृत्युदण्ड दिइयो । त्यसबेला लेनिन १७ वर्षका थिए ।
कलेजबाट निष्कासन भएपछि पनि लेनिनले हार मानेनन् उनले पत्रमार्फत अध्ययन गरेर १८९१ मा कानूनको डिग्री हासिल गरे । निर्वासन भोग्नुपर्दा १८९७ मा जार प्रहरीले लेनिनलाई उनको विद्रोही मनोवृत्तिको कारण पक्राउ गरी ३ वर्षको लागि साइबेरिया पठायो । यहाँ उनले २२ जुलाई १८९८ मा नादेज्दा क्रुप्सकाया विवाह गरे ।
साईबेरियाबाट फर्केपछि १५ वर्षसम्म लेनिन पश्चिम युरोपमा निर्वासित जीवन बिताए । यहाँ उनले अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्न थाले र रुसी सामाजिक लोकतान्त्रिक वर्कर्स पार्टीको बोल्शेविक (बहुमत) गुटको नेता बने ।
क्रान्तिपछि देश फिर्तीः
लेनिन बोल्सेभिक क्रान्तिभन्दा केहीअघि मात्र सन् १९१७ मा रुसमा फर्केका थिए । लेनिनको नेतृत्वमा सन् १९१७ को सम्पन्न दोस्रो क्रान्तिलाई अक्टोबर क्रान्ति वा बोल्सेभिक क्रान्ति भनिन्छ । त्यसअघि राजतन्त्र उन्मुलन र्ने फेब्रुअरी क्रान्ति भएको थियो । लेनिन फेब्रुअरी क्रान्ति सम्पन्न भएपछि रुस फर्किएका थिए । बोल्सेभिक क्रान्ति सम्पन्न भएपछि रुसमा नयाँ सत्ताधारी र पुरानो सत्ताधारीबीच तीन वर्षसम्म गृहयुद्ध चल्यो ।
गृहयुद्धमा लेनिनको नेतृत्वको बोल्सेभिकहरूले अन्ततः जित हासिल गरे र सम्पूर्ण देशलाई नियन्त्रणमा लिए । लेनिन सन् १९१७ देखि १९२४ सम्म सोभियत रुस र १९२२ देखि १९२४ सम्म सोभियत संघको सरकार प्रमुख थिए । उनको शासनकालमा रुस र त्यसपछि सोभियत संघ रुसी कम्युनिष्ट पार्टीद्वारा नियन्त्रित एक दलीय समाजवादी राज्य बनेको थियो ।
लेनिनका प्रशंसक र विरोधी दुवै छन् । उनका समर्थकहरू उनलाई समाजवाद र सर्वहारा वर्गको मसिहा मान्छन्, जबकि आलोचकहरू उनलाई आलोचकप्रति असहिष्णु तानाशाही शासकको रूपमा सम्झन्छन् ।
शव अझै सुरक्षित छः
सन् १९१८ मा लेनिनमाथि घातक बन्दुक हमला भयो, जसबाट उनी बालबाल बचेका थिए । उनलाई हानिएको गोली टाउकोमा लागेकाले उनी नराम्ररी घाइते भएका थिए । उनी बच्न सफल भएपछि त्यसपछि उनको स्वास्थ्य निरन्तर खस्कियो ।
१९२२ मा उनलाई एक स्ट्रोक भयो, जसले उहाँलाई धेरै कमजोर बनायो । उनको मृत्यु २१ जनवरी १९२४ मा गोर्की नामक सानो सहरमा भएको थियो । सन् १९२४ मा लेनिनको मृत्यु भएपनि उनको दाहसंस्कार गरिएन । लेनिनको मृत्युपछि उनको शवमा विभिन्न प्रयोग गरेर नसड्ने बनाइयो । उनको शव आज पनि मस्कोको रेड स्क्वायरमा रहेको लेनिनको समाधिस्थलमा देख्न सकिन्छ ।