News Portal

नेकपा एमाले पनी चुनावी तालमेलको कसरतमा

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनी आसन्न स्थानीय तह निर्वाचनका लागि गठबन्धन गर्नका लागि कसरत सुरु गरेको छ । ०७४ को विरासत जोगाउँदै पहिलो शक्ति बन्ने महत्त्वाकांक्षीको लक्ष्य राखेको नेकपा एमालेले आगामी निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धनको सामना गर्दै छ ।

केन्द्रीय तहमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको नेकपा एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपाल, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताहरूसँग सहकार्यका लागि संवाद अगाडि बढाएको हो । 

नेकपा एमालेको पाँच दलविरुद्ध एक्लै प्रतिस्पर्धा गर्ने केन्द्रीय कमिटीको मूल निर्णय भए पनि स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न सक्ने विकल्प राखेको एमालेले विभिन्न दलसँग संवाद गरिरहेको छ । दलका शीर्ष नेतासँग एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले र उनीनिकट नेताहरूले संवाद गरिरहेका छन् ।

अध्यक्ष ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका महामन्त्री धवलशमशेर राणासँग आफैं वार्ता गरेका छन् । नेताहरूका अनुसार एमाले अध्यक्ष ओली र राप्रपा नेपालका अध्यक्ष थापाबीच विभिन्न चरणमा बालकोटमा वार्ता गरेका छन् । थापा नेतृत्वको राप्रपा नेपालको बुधबार बसेको केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनमा एमालेसँग तालमेललाई प्राथमिकतामा राख्ने र तालमेल भएका स्थानमा साझा चुनाव चिह्न लिएर उठ्नेबारे टुंगो लगाउने जिम्मा पदाधिकारी बैठकलाई दिने औपचारिक निर्णय गरेको छ ।

राप्रपा नेपालका सहायक महामन्त्री राजाराम बर्तौलाले सहयोग आदानप्रदानका लागि अध्यक्ष ओली र थापाबीच भेटघाट र सम्पर्क भइरहेको बताए । उनका अनुसार वार्ताका लागि राप्रपा नेपालबाट सुशील श्रेष्ठ र एमालेका तर्फबाट देवेन्द्र दाहाललाई जिम्मा दिइएको छ । ‘पार्टी निर्माणकै क्रममा रहेको हुँदा सम्भवतः धेरै ठाउँमा हाम्रो उम्मेदवारी रहँदैन, केही ठाउँमा उम्मेदवारी दिन्छौं, एमालेको सहयोग लिन्छौं,’ उनले भने, ‘हाम्रो थोरै मतले पनि उहाँहरू (एमाले) लाई के–कति ठाउँमा सघाउ पुग्छ, त्यहाँ गर्ने भन्ने छ । एक–दुई दिनमा हाम्रो अवस्थाबारे जिल्ला–जिल्लाबाट रिपोर्ट आइसकेपछि एमाले नेताहरूसँग बसेर निष्कर्षमा पुग्छौं ।’

राप्रपा नेपालका नेताहरू सत्ता गठबन्धन सशक्त भएर अगाडि आइराखेकाले एमालेसँगको सहकार्य अपरिहार्यजस्तो बनेको निष्कर्षमा पुगेका छन् । ‘यो बेला एमालेलाई थोरै सहयोगले पनि अर्थ राख्छ, हामीलाई पनि आवश्यक भएका कारण सहयोग आदानप्रदान गरौं भन्नेमा पुगेका हौं, पहिलादेखि भइरहेको छलफलले अहिले मूर्तरूप लिन लागेको हो,’ उनले भने ।

एमाले अध्यक्ष ओलीले चैत १७ गते नेपालगन्जमा राप्रपा महामन्त्री राणासँग तालमेलबारे छलफल गरेका थिए । छलफलमा उनले दुई पार्टीबीच स्थानीय, प्रदेश र संघीय चुनावमा सहकार्य गरेर जान प्रस्ताव गरेको राणाले बताएका थिए तर एमालेका तर्फबाट यसबारे औपचारिक धारणा सार्वजनिक भएको छैन । तालमेलबारे औपचारिक प्रस्ताव नआएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘महामन्त्री धवलशमशेर राणासँग केपी ओलीले भेट्नुभएको हो तर एमालेका तर्फबाट औपचारिक प्रस्ताव आएको छैन, हामीले पनि पठाएका छैनौं,’ उनले भने, ‘प्रस्ताव आयो भने हामी छलफल गर्छौं तर अहिले हाम्रै तागतमा उम्मेदवार उठाउने तयारीमा छौं ।’

एमाले उपाध्यक्ष विष्णु पौडेलले भने दुवै राप्रपासँग चुनाव केन्द्रित छलफल नभएको दाबी गरे । ‘कमल थापा र धवलशमशेर राणासँग अध्यक्षको भेटघाट भएको सत्य हो तर त्यहाँ चुनावी तालमेल वा गठबन्धनका बारेमा एमालेको कुनै सोच, दृष्टिकोण, प्रस्ताव, सहमति केही पनि भएको छैन,’ पौडेलले भने, ‘उहाँहरूको चाहना होला तर एमालेले कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वको कुनै समूहसँग चुनावी तालमेल र गठबन्धन गर्दैन । लोकप्रिय मान्छे छन् र सूर्य चिह्नबाट लड्छन् भने त्यस्तो ठाउँमा हामी सोच्न सक्छौं ।’ 

एमाले र राप्रपाबीच २०७४ सालको संघीय निर्वाचनमा झापा जिल्लामा तालमेल भएको थियो । तालमेलकै बलमा ओली अत्यधिक मतले विजयी भएका थिए भने लिङ्देनले पनि चुनाव जितेका थिए ।

दुई राप्रपाबाहेक एमालेले लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग पनि तालमेलका लागि अनौपचारिक छलफल गरेको स्रोत बताउँछ । लोसपा नेता केशव झाले अहिलेसम्म एमालेसँग चुनावी तालमेलको बारेमा औपचारिक छलफल नभएको बताए । ‘चुनावमा एक्लै लड्ने एमालेको निर्णय छ, हामी पनि एक्लै लड्ने गरी तयारी गरिरहेका छौं । 

अब कुराकानी हुन सक्ला किनभने चुनाव नजिक आयो,’ झाले भने, ‘कतिपय ठाउँमा तालमेल गर्न नपर्ला । केही ठाउँमा एमालेसँग तालमेल गर्न पनि सक्छन् साथीहरूले किनभने स्थानीय आवश्यकता र अवस्थाअनुसार जोसँग उपयुक्त हुन्छ, तालमेल गर्न सक्नुहुन्छ भनेर अधिकार दिएका छौं ।’

एमाले र नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका केही नेताहरूबीच पनि अनौपचारिक तहमा वार्ता भइरहेको स्रोत बताउँछ । केन्द्रीय कमिटीमा अल्पमतमा परेपछि चन्दले पार्टीलाई सिधै चुनावमा लैजान सकेका छैनन् तर उनको पार्टीले ‘देशभक्त र राष्ट्रवादी’ शक्तिसँग स्वतन्त्ररूपमा सहकार्य गर्ने नीति लिएको छ । 

बिहीबार नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा निर्वाचन आयोग पुगेर चुनावी प्रक्रियाबारे जानकारी लिएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकले ‘गठबन्धन या मोर्चा सामर्थ्यको प्रतीक होइन, कमजोरीको द्योतक हो, बैसाखीको सहारा त्यसलाई मात्र चाहिन्छ, जसका खुट्टा कमजोर छन्, त्यसैले गठबन्धनको यो मनोवैज्ञानिक भ्रम या भयबाट मुक्त हुनु जरुरी छ’ भन्ने निष्कर्ष निकालेको थियो । ‘शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आकलन गर्ने, मूलतः एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने’ एमालेको नीति छ ।

तर, स्थानीय वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने विकल्प खुला छ । यसमा प्रदेश कमिटीको जानकारी र सहमति आवश्यक पर्ने केन्द्रीय कमिटीबाट पारित अध्यक्ष ओलीको प्रतिवेदनमा छ । सत्तापक्षले गठबन्धन बनाए पनि पहिलो पार्टी बन्न सकिने एमालेले निष्कर्ष छ । विभाजन हुँदा गुमेको शक्ति अन्य पार्टीका नेता–कार्यकर्ता भित्र्याएर पूरा गर्ने ओलीको रणनीति छ । 

त्यसैअनुसार उनले अहिले देशव्यापी प्रवेश अभियान चलाएका छन् । ओलीले उच्च मनोबल र एकताका साथ चुनावी तयारीमा होमिन कार्यकर्तालाई निर्देशन पनि दिँदै आएका छन् । आजको कान्तिपुरमा खबर छ। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...