News Portal

भोगीरामको भोकशास्त्र

हिमालीसंचार संवाददाता
३०८ पटक

वैँसको इन्द्रेणी भाँचेर
मनको लिपुलेक उक्लिँदै गर्दा
रहरका तारहरू टुटेपछि
उसले छाडिदियो
आफूजस्तै दुःखी सारङ्गी रेट्न !
र थुन्सेभरि भविष्य बोकेर
ऊ हिँड्न थाल्यो
सपनाको घुमाउरो बाटो
आफ्नै जीवनका अदृश्य पहाडहरूमाथि !

उसले आगोसँग
चोर–पुलिस खेलेको छ
र आगोकै गीत पनि गाएको छ !
ऊ आफैँलाई सिरानी हालेर
रातभरि आगो निदाउँछ
र आगो नै ब्युँझिन्छ— हरेक बिहान !
यतिका दिनसम्म
उसले थाहै पाएको छैन
यो संसार उज्यालो छ कि अँध्यारो ?

दिनमा नि आगो उस्तै
रातमा पनि आगो— आगोजस्तै
मान्छेले जस्तो आगोले रङ नबदल्दोरहेछ !

ऊ कार्लमाक्र्स पनि आफैँ हो
तर बुझ्न सकेको छैन
राजनीतिशास्त्र किन यति निर्दयी छ ?
ऊ आफैँ रोबर्ट सिलर पनि हो
तर भन्न सकेको छैन
अर्थशास्त्र किन यति धेरै तन्नाम छ ?
साँच्चै, फूलझरी !
ऊ आफैँ वात्सायन पनि हो
तर जान्न सकेको छैन
कोखशास्त्र किन यति बिघ्न उराँठ छ ?

ऊ हराएको छ
कुहिरोको कागजस्तै बेखबर
यो शास्त्रै–शास्त्रको अनकन्टार वृन्दावनभित्र !

उसले कैयौँचोटि
आफ्नै आँसुको भेल तर्यो
अजङ्गको पहाडसँग ठोक्कियो
र घनघोर तुफानको वेगसँग पनि रेटियो !
जति रोक्न खोजे पनि
आखिर कहाँ रोकिँदोरहेछ र
बगिरहने पानीजस्तै यो जिन्दगीको गति ?

जीवनभर दर्शन पढेर
भोगीरामले त एउटैमात्र शास्त्र बुझेको छ
पेटको शास्त्र— भोकशास्त्र !
र यही शास्त्रको भुङ्ग्रोभित्र
अहिलेसम्म पनि आधा पृथ्वी रोटीझैँ डढिरहेछ !

सायद,
त्यही रोटीको धुवाँभित्र
हराइरहेको हुनुपर्दछ— इन्द्रेणीको बाँकी भाग !

– प्रथा
हाल: काठमाण्डौ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...