News Portal

संसदीय समितिको निर्णयमा सञ्चारमन्त्रीको हस्तक्षेप, पत्रकारमाथि आरोपै आरोप !

८०१ पटक

रघुनाथ बजगाँई
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले असहमति जनाएपछि संसदको विकास तथा प्रविधिको निर्णय सच्याइएको छ ।

नेपाल टेलिकमको प्रबन्ध निर्देशक प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने सन्दर्भमा विकास समितिमा भएको छलफल विपरीत निर्णय सुनाइएको भन्दै मन्त्री बास्कोटाले हस्तक्षेप गरेका थिए । बिहीबार बैठकपछि समिति सभापति कल्याणी खड्काले निर्णय सुनाउँदै गर्दा बास्कोटाले मेरो असहमति छ भन्दै रोकेका थिए ।

उनले समितिमा भएको छलफल विपरीत कसरी निर्णय आयो भन्ने प्रश्न गरेर पटकपटक असहमति जनाएपछि सभापति खड्काले निर्णय सच्याएकी हुन् ।

सञ्चारमन्त्री बास्कोटाले ऐनमै प्रतिस्पर्धाका आधारमा प्रबन्ध निर्देशक नियुक्ति गर्ने भनिएकाले समितिले निर्देशन दिनु नपर्ने जिकिर गरेका थिए । उनले आवश्यक नै नहुने विषय निर्णयमा किन लेख्ने भन्दै प्रश्न गरेका थिए ।

समितिको निर्णयमा ‘नेपाल टेलिकमको सेवालाई विस्तार गर्न एवम् गुणस्तरीय बनाउन तत्काल प्राविधिक, प्रशासनिक एवं व्यवस्थापकीय सुधार गर्न गराउन र प्रबन्ध निर्देशकको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न गराउन नेपाल सरकार, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन गर्दछ’ भनिएको थियो ।

मन्त्रीले प्रतिवाद गरेपछि प्रबन्ध निर्देशक नियुक्तिको प्रसंग हटाएर बीटीएस टावरलाई शीघ्र सञ्चालनमा ल्याउन निर्देशन दिने निर्णय मात्र लेखिएको थियो । मन्त्री बास्कोटाले ऐन बमोजिम नै प्रतिस्पर्धा गराएर मात्र नियुक्ति हुने भएकाले यस्ता विषय समितिले निर्देशन दिइरहनुनपर्ने अडान लिएका थिए ।

बैठकमा केहीबेर सभापति खड्का र मन्त्री वास्कोटा बोलिरहे । सभापति खड्का ठीक छ, ठीक छ भन्दै थिइन् भने मन्त्री बास्कोटा निर्णयमाथि प्रश्न गर्दै थिए ।

समितिले निर्देशन दिँदै गर्दा आफ्नो असहमति रहेको भन्दै मन्त्रीले हस्तक्षेप गरेपछि सभापति खड्काको बाँकी निर्देशनको प्रस्तुति उदेकलाग्दो भयो भने अनुहार मलिन ।

तर, मन्त्री बास्कोटा मुस्कुराइरहेका थिए । वैठक सकिएपछि सभाकक्षबाट बाहिरिने क्रममा मन्त्री बास्कोटाले समितिलाई पर्याप्त अध्ययन गरेर मात्रै निर्णय गर्न सुझाए ।

समितिले दुरसञ्चार प्राधिकरणमा भएका काम कारवाही र अध्यक्षमा दिगम्बर झाको नियुक्ति ऐन बमोजिम भए नभएको १५ दिनभित्र जानकारी दिन निर्देशन गरेको छ ।

पत्रकारमाथि आरोपै आरोप !

प्रतिनिधिसभाको विकास समिति सूचना तथा सन्चार मन्त्रालयका काम कारवाही अनुगमन गर्ने समिति हो । पत्रकारका समस्या पनि यहि समितिले हेर्छ । समितिको बिहीबारको बैठकमा भने पत्रकारप्रति धेरै गुनासा मन्त्री र सभापतिबाटै सुनिए ।

सञ्चारमन्त्री बास्कोटाले सरकारले गरेका जनपक्षीय निर्णयलाई खिसिटिउरी गर्ने, नकारात्मक मात्र समाचार लेख्ने र व्यक्तिका चरित्रहत्या गर्ने शैली बढेको भन्दै पत्रकारसँग गुनासो गरेका थिए । अरुले दुःख पीडा पाएको समाचार लेख्ने पत्रकारले आफ्नै दुःख पीडाका समाचार लेख्न नसकेको उनले बताए ।

मन्त्री बास्कोटाले भने, ‘पोर्न साइट बन्द गर्ने निर्णय भयो तर, कतिपय ठूला भनिएका मिडियाले नै अब श्रीमान श्रीमतीसमेत सँगै बस्न नपाउने भनेर समेत समाचार सम्प्रेषण गरे । लोकतन्त्र र स्वतन्त्रता भनेको मनलाग्दी गर्ने भन्ने त होइन होला ।’

नेपाली समाज नैतिकहीन हुँदै गएकाले पोर्न साइट बन्द गरेर मात्रै समस्या समाधान नहुने उनले बताए । पत्रकारलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे । ‘१६ हजार बढी पोर्न साइट बन्द गर्‍यौं । तर कुनै न कुनै बाटोबाट त्यस्ता साइट फेरि आइहाल्दा रहेछन्’ मन्त्री वासकोटाले भने, ‘छोरीहरु आफ्नै घरमा सुरक्षित छैनन् । अब पोर्न साइट बन्द गरेर मात्रै महिला हिंसा रोकिने त होइन । नेपाली समाज नै नैतिकहीन हुँदै गएको छ ।’

राम्रा कामको कसैलाई मतलब छैन

मन्त्रालय देशभर सर्वसुलम इन्टरनेट उपलब्ध गराउन टावर निमार्णमा लागेको जानकारी दिँदै मन्त्री वास्कोटाले पछिल्लो तीन महिनामा २४० वटा टावर निमार्ण गरिएको बताए । प्रदेश एक र दुईमा बढी टावर निर्माण गरिएको भन्दै उनले पत्रकारले आफ्ना राम्रा कामको ख्याल नगरिदिएको आरोप लगाए ।

मन्त्री बास्कोटाले नेपाल टेलिकम लगायत सञ्चार मन्त्रालय अन्तर्गतमा निकायहरुको काम कारबाहीका सन्दर्भमा छलफल भइरहँदा अन्य निजी कम्पनीबारे समेत छलफल हुनुपर्नेमा जोड दिए । सीजी कम्पनीसँग १० करोड भन्दा बढी रकम लिनु भए पनि आफू जिम्मेवारीमा आएपछि तीन करोड उठाएको भन्दै यसलाई पनि उपलब्धीका रुपमा चर्चा गरे ।

उनले देशका ६९ गाउँपालिकामा इन्टरनेटको सुविधा पुग्न बाँकी रहेको भन्दै यसै वर्षभित्र सेवा पुग्ने बताए । महानगरलाई छाडेर देशभर पाँच सय सामुदायिक विद्यालयमा नमुना इन्टरनेटको सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले सांसदहरुलाई सुनाए । तैपनि केही गरेन भने जसरी पत्रकारहरुले लेख्ने गरेको भन्दै उनले मन्त्रालयले गर्छु भनेर गरेको सबै प्रतिवद्धता पुरा गर्ने दाबी गरे ।

श्रमजिवी पत्रकारहरुको पारिश्रमिकका सन्दर्भमा आफू दोहोरो मारमा परेको बास्कोटाको गुनासो थियो ।

निजी कर्पोरेट मिडिया हाउसहरुले बन्दै हुने गरी पारिश्रमिक नतोक्न दबाव दिने र श्रमजिवी पत्रकारले पनि बढोस् भन्ने चाहना राख्दा आफु दोहोरो मारमा परेको भन्दै उनले पत्रकारले आफ्नो पक्षमा बोल्न नसकेको बताए ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...