मलेसियामाको सेलांगोर प्रान्तको खानीको पोखरीमा हराएका किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो साथीहरूसँग माछा मार्न गएका १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीलाई परिचालन गरिएको थियो ।
अधिकारीका अनुसार उद्धारकर्मी पोखरीभित्रको भुमरीमा फसेका थिए । पोखरीबाट निस्कने प्रयास गरेका उनीहरुका उपकरण शक्तिशाली जलप्रवाहले छुट्टाइदिएपछि उनीहरु आफैं पानीमा फनफनी घुमेका थिए । हराएका किशोरको खोजी अभियान बिहीबार फेरि थालिएको अधिकारीले जनाएका छन् ।
विवरणहरूका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए ।
अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदले किनारामा रहेको टोलीलाई उदृत गर्दै भने, ‘पोखरीको भुमरीले घुमाएपछि उद्धारकर्मीले उम्कन निकै संघर्ष गरेका थिए ।
उनका अनुसार उद्धारकर्मी करिब आधा घण्टा भुमरीमा फसेका थिए । अरू सहकर्मीले उद्धार गर्दा सबैजना अचेत थिए । वाहिदले भने, ‘यो हाम्रा लागि निकै दु:खद् दिन हो ।’