ट्राफिक प्रहरीले चाडबाडको समयमा सुरक्षित रुपमा गन्तव्यस्थलसम्म पुग्ने वातावरण बनाउन सातै प्रदेशमा यात्रु सहायता कक्ष स्थापना गर्न लागेको छ । गाडी बिग्रिएर घण्टौ हुन जाम कम गर्न नागढुंगामा ४० टन क्षमताको क्रेन राख्ने भएको छ ।
नेपालीको महान् पर्व दशैँ नजिकिएसँगै ट्राफिक प्रहरीले सातै प्रदेशका सवारीसाधन धेरै आवतजावत गर्ने विभिन्न जिल्लाका स्थानमा यात्रु त्यस्तो सहायता कक्ष राख्न लागेको हो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई चाडबाडमा यात्रुलाई सहज, सुरक्षित र व्यस्थित तवरले गन्तव्यसम्म पुर्याउन विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।
‘लामो दूरीका सवारीसाधनमा दुईवटा चालक भए नभएको, ‘रिफ्रेस’ सेन्टरमा सवारीसाधन लगे नलगेको, चालकबाट सवारीसाधन चलाए नचलाएलगायतका जाँच गर्छौं’, उनले भने । त्यस्तै मादकपदार्थ सेवनबाट दुर्घटना धेरै हुने गरेको भन्दै ट्राफिक प्रहरीले देशभर दिउँसोको समयमासमेत मादक पदार्थ सेवन गरेको नगरेकोबारे परीक्षण गर्न लागेको छ । निर्देशनालयले देशभरका १४ सडकखण्डमा टाइम कार्डसमेत लागू गरिसकेको छ । टाइम कार्ड लागू हुँदा निश्चित समयमा गन्तव्यस्थलसम्म पुग्नुपर्ने भएकोले दुर्घटना न्यूनीकरण हुनेछ ।