News Portal

अझै भेटिएनन् नेपाली सेनाको होस्टलबाट बेपत्ता विद्यार्थी राजेश शाही

हिमालीसंचार संवाददाता
४३९ पटक

काठमाडौँ। सुर्खेतका दानबहादुर शाही काठमाडौंमा भौंतारिन थालेको ४ महिनाभन्दा बढी भइसक्यो। भूतपूर्व सैनिक शाहीका निम्ति आइपरेको दुःखसँग आफैंले वर्षौं काम गरेको नेपाली सेना नै जोडिएको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत उनका २४ वर्षीय छोरा राजेश गत भदौ १७ मा सानो भर्‍याङस्थित कलेजको होस्टलबाटै बेपत्ता भए।

यही घटनाले आकुल बनेका उनी छोराको खोजीमा काठमाडौंमा भौंतारिइरहेका छन्। बेपत्ता हुनुको अघिल्लो साँझ ८ बजे राजेशले सुर्खेतमा रहेकी आमालाई भिडियो कल गरेका थिए। कुराकानीमा उनले दसैंमा छिट्टै घर आउने बताएका थिए। त्यही बातचित नै राजेशको परिवारसँगको अन्तिम कुराकानी भइदियो।

दानबहादुरका अनुसार उनीहरूले छोरा हराएको ५ दिनपछि मात्रै त्यसबारे खबर पाए, त्यो पनि कलेजबाट होइन, छोराको साथीबाट। दानबहादुरले भने, ‘कलेज सुरक्षित भनेर विश्वासमा जिम्मा लगाएका थियौं तर गैरजिम्मेवारी काम गर्‍यो। छोरा हराएको सूचना दिनसमेत आनाकानी गर्‍यो।’

खबर पाएकै भोलिपल्ट दानबहादुर हुर्रिएर काठमाडौं आइपुगे। छोरा खोजीको अनुरोध लिएर उनी प्रहरी, सेना, जिल्ला प्रशासन कार्यालय, रक्षा, गृह र प्रधानमन्त्री कार्यालयसम्म धाए। ‘महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गर्नसमेत मानेन, खोज्दै छौं भन्दै किटानी जाहेरी लिएनन्,’ उनले भने।

दानबहादुरले छोरा पढ्ने कलेजका कार्यकारी निर्देशक जर्नेल नागेन्द्र केसी, प्रिन्सिपल जर्नेल अरुण न्यौपाने, वार्डेन मेजर विकल श्रेष्ठ, सुरक्षा प्रमुख कर्नेल सुवासजंग थापालगायतको नाममा किटानी जाहेरी दर्ता गराउन खोजेका थिए।

‘ठूला मान्छेका नाममा किटानी जाहेरी लिइँदैन रे, प्रहरीलाई नै अप्ठ्यारो पर्छ भन्दै त्यसबेलाका एसएसपी अशोक सिंहले निवेदन लिन मानेनन्,’ उनले भने, ‘सेनाको आफ्नै निकाय छ, उनीहरूले पनि खोज्छन् भन्दै प्रहरीले आलटाल गरिरहेको छ। हामीलाई बच्चा चाहियो।’ परिसर काठमाडौंका हालका प्रमुख एसएसपी सुदीप गिरीले भने राजेश बेपत्ता भएको बारे प्रहरीलाई नोटिसमा भएको र खोजी भइरहेको बताए।

होस्टलका वार्डेनदेखि प्रशासनसम्मको लापरबाहीका कारण छोरा बेपत्ता भएको भन्दै आवश्यक छानबिन र अनुसन्धान गरिदिन प्रहरीदेखि गृह, रक्षा र प्रधानमन्त्री कार्यालयसम्म गुहार मागेको राजेशका नातेदार दाजु कोमल शाहीले बताए। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले प्रहरीसँगको समन्वयमा राजेशको खोजी भइरहेको बताए।

उनले भने, ‘होस्टलबाट बाहिर निस्किएर फिर्ता नआएपछि हामीले खोजखबर गरेका थियौं। केही पत्ता नलागेपछि प्रहरीलाई जानकारी गरायौं। अहिले प्रहरीले खोजी गरिरहेको छ। हामी पनि प्रहरी र परिवारसँगको समन्वयमै छौं।’

प्रहरी स्रोतका अनुसार राजेशजस्तै युवक भदौ १७ को बिहान होस्टलबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको छ, तर फुटेजमा उनी राजेश नै हुन भनेर प्रस्ट चिनिएका छैनन्। पाँच कट्ठा खेत र घडेरी बेचेर छोरालाई डाक्टर पढाउन कस्सिएका दानबहादुर अहिले महिनौसम्म पनि नभेटिँदा प्रहरीको अनुसन्धानमै कमजोरी रहेको निष्कर्षमा पुगेका छन्।

छोरा हराएको घटनाले आहत उनको परिवारमा अहिले समस्या माथि समस्या थपिएको छ। छोरा सम्झेर आमा छिनछिनमै बेहोस हुने गरेकी छन्। दानबहादुरले उनको रेखदेखमा एक जना स्वास्थ्यकर्मी नै घरमा राखेका छन्। उनले भने, ‘मै पनि होसमा हुन्न कहिलेकाहीँ, मै होसमा भइन् भने झन् कसले खोज्देला भन्ने सोचेरै उभिएर हिँड्ने प्रयास गरिरहेको छु।’

नेपाली सेनाबाट अवकाश लिएर दानबहादुरले सेक्युरिटीमा जागिर गरेका थिए। ‘छोराकै करले त्यो जागिर छोडें, कति दुःख गर्नुहुन्छ जागिर छोड्नु भन्थ्यो,’ उनले भने, ‘अहिले यो अवस्था आयो।’ राजेशको एमबीबीएस अध्ययनका लागि कलेजले अन्तिम किस्तासम्म असुल गरिसकेको उनी बताउँछन्।

आफू भूपू नेपाली सेना भए पनि वास्ता नगरेको भन्दै दानबहादुरको चित्त दुःखेको छ। ‘माथिल्लो दर्जाले तल्लो दर्जालाई गर्ने अन्याय अझै जिउँदै रै’छ, तल्लो दर्जाकै कारण छोराको खोजी भइरहेको छैन,’ उनले दुखेसो पोखे, ‘पीडितलाई थप पीडा हुने काम भएको छ।’ – कान्तिपुरबाट।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...