News Portal

प्रदेश १ नेकपा एमालेबाट निर्वाचित १६२ जनाले रोजे नेकपा एकीकृत समाजवादी

हिमालीसंचार संवाददाता
४१२ पटक

विराटनगर – प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उनीहरुले सनाखत गरेका छन्।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ साललाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र प्रदेश १ का दुई जिल्ला समन्वय समितिका प्रमुख र तीन उपप्रमुखसहित १६३ जना एमालेका जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

यस्तै, ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । इलाम जिससका उपप्रमुख चित्रकला बराइली, धनकुटा जिससका उपप्रमुख बंगला राई र जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । प्रदेश नं. १ बाट पाँच जना जिल्ला समन्वय समिति सदस्यले एमाले छोडेर समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

स्थानीय तहमा राम्रो उपस्थिति रहेको नेकपा एमालेका अधिकांश जनप्रतिनिधि विभाजनको पक्षमा लागेनन् । प्रदेश १ बाट दुई नगरपालिकाका प्रमुख र दुई उपप्रमुखले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । इलामको सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले नयाँ पार्टी रोजेका हुन् । यस्तै, भोजपुर नगरपालिकाका उपप्रमुख ममिता राई र खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

प्रदेश १ को तीन गाउँपालिका अध्यक्ष र तीन जना उपाध्यक्षले नेकपा एमाले परित्याग गरेका छन् । इलामको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, तेह्रथुमको आठराई गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बु र उदयपुरगढी गाउँपालिका प्रमुख मानबहादुर केप्छाकी मगर नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

भोजपुरको टेम्केमैयुम गाउँपालिकाका उपाध्यक्ष इन्द्रावती राई, ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेलले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । प्रदेश १ का विभिन्न स्थानीय तहका ३४ जना वडाध्यक्ष एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।

ताप्लेजुङका २१ जना एमाले जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन् । ताप्लेजुङबाट पाँच जना वडाध्यक्ष एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका छन् । मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका–३, खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिबेणी गाउँपालिका–४ चाँगेका डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपाने नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।

पाँचथरबाट निर्वाचित एमालेका ११ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । पाँचथरको कुम्मायक–२ का वडाध्यक्ष भक्तबहादुर बिक र फालेलुङ १ का वडाध्यक्ष श्रीप्रसाद जबेगुले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

इलामका ५८ जना एमाले जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । इलामको सूर्योदय नगरपालिकाका ९ जना वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमालेबाट विजयी भएका १० मध्ये ९ वडाध्यक्ष नयाँ दलमा सामेल भएका हुन् । यस्तै माइजोगमाई गाउँपालिकाका एक जना वडाध्यक्षले पनि एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तेह्रथुमको मेन्छयायम गाउँपालिका–५ का शिवनाथ खापुङले पनि नयाँ पार्टी रोज्दै सनाखत गरेका छन् । तेह्रथुमबाट दुई जना एमाले जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।

यता, धनकुटामा जिसस उपप्रमुखसहित ८ जनाले एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरे । पाख्रिवास–४ का वडाध्यक्ष सोभित निरौला, साँघुरीगढी गाउँपालिका–३ का अध्यक्ष राजकुमार राई र शहिदभूमि गाउँपालिका–३ का वडाध्यक्ष योगेन्द्र राईले एमाले त्याग्दै नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

​भोजपुरबाट षडानन्द नगरपालिकाका कार्यपालिका सदस्यहरु सुमन राई र गोविन्द बिकले एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् । भोजपुर नगरपालिकाका उपप्रमुखसहित ६ जना नयाँ पार्टीमा लागेका हुन् ।

खोटाङ जिल्लामा जिसस प्रमुखसहित ११ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । बराहपोखरी–४ का वडाध्यक्ष भुवलराज राईसहित विभिन्न पालिकाका वडा सदस्यहरु नेकपा एकीकृत समाजवादीतर्फ लागेका हुन् ।

ओखलढुंगामा एक जना कार्यपालिका सदस्यले मात्र नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । सोलुखुम्बुमा नेकपा एकीकृत समाजवादीका पक्षमा कुनै पनि जनप्रतिनिधिले सनाखत नगराएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नम्रता चुडालले जानकारी दिइन् ।

यता उदयपुरमा त्रियुगा नगरपालिकाका प्रमुख र उदयपुर गाउँपालिकाका अध्यक्ष, ५ जना वडाध्यक्षसहित २८ जनाले एमाले छोडेर नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन् । उदयपुरगढी–७ का वडाध्यक्ष कर्णमाया मगर, कटारी–९ का वडाध्यक्ष बेगबहादुर आले, लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष गुरुमणि कुमाई, त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी र त्रियुगा–१३ का वडाध्यक्ष पशुपति चौधरीले एमालेबाट नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

प्रदेश १ को सबैभन्दा धेरै जनघनत्व भएका जिल्ला झापा, मोरङ र सुनसरीमा नेकपा एमाले विभाजनको प्रभाव न्यून देखिएको छ । यी जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नगन्य संख्यामा मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एक जना जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु र शिवसताक्षी गाउँपालिका–७ का वडाध्यक्ष नविन इजम लगायत विभिन्न स्थानीय तहका जम्मा ७ जनाले नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन् । 

यता मोरङमा पनि चार जना वडाध्यक्ष र चार जना वडासदस्यसहित ८ जनाले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् ।सुनसरीका स्थानीय तहका पाँच वडा सदस्य र इटहरी नगर कार्यपालिका एक सदस्यसहित ६ जनाले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका निर्वाचन आयोगले जनाएको हो। 

प्रतिकृया दिनुहोस्

त्रिभुवनबाट उडेको टर्किस जहाजको इन्जिनमा आगो, कोलकातामा सुरक्षित अवतरण

काठमाडौं, २१ माघ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको जहाज ‘टीएचवाई ७२७’...

समुदायद्वारा रंगेली र धनपालथानलाई कम्प्युटर तथा ल्यापटप वितरण

मोरङ, माघ २१ (रबिन्द्र बराल)-लुथरन सामुदायिक कल्याण समाज (LCWS) रंगेली–२ लक्ष्मीपुरले मोरङको रंगेली नगरपालिका र...

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...