रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली, डाईनियाँ, कर्सिया, रामचोक लगायत सिमावर्ती क्षेत्रका विवाहित हिन्दु, मैथिल नारीहरुले धुमधामका साथ वटसावित्री पर्व मनाएका छन ।
रंगेली नगरपालिका ७ आर्दश टोल शुक्रबारेमा रहेको वरको रुखमा पुजाका लागि टकुवा, तित्रिटोल, सहुटोल लवटोल लगायतका महिलाहरु विशेष पुजाआजा गर्ने आएका थिए । सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वासका साथ यो पर्व मनाउने गरेका हुन ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत वसी उनीहरुले वरको रुख फेदमा बर्तालु हिन्दु नारीहरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन।
सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा रहेको छ।
त्यही समयदेखि यो पर्वको प्रचलनमा आएको धार्मीक परम्परा र विश्व रहेको पाईन्छ । बिवाहित महिलाहरुले नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसरमा आएर ब्राह्मणहरुले सावित्री कथा वाचन गर्ने र ब्रतालु हरुले कथा श्रवण गर्ने यो व्रत परम्परा रहेको छ ।
यस पर्वमा विशेषत आफ्ना साथीसङ्गीसँग नाच्दै, गाउँदै वोट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई साटासाट गर्ने प्रचलन समेत रहेको छ ।