News Portal

  • पत्रकारले १० मिनेट माग्दा पनि पाएनन्, यसरी ध्वस्त पारियो अल जजिरा र एपीको कार्यालय

    हिमालीसंचार संवाददाता
    ४२७ पटक

    एजेन्सी – एघार तलाको थियो अल जलाला टावर। जसमा करिब ६० आवासीय अपार्टमेन्टका अलावा अल जजिरा मिडिया नेटवर्क र एसोसियट प्रेसको कार्यालय पनि थियो। प्यालेस्टाइनी फ्रिलान्स पत्रकार युम्ना अल सइद त्यही भवनमा थिइन्। ६ दिनदेखि गाजामा लगातार बम बर्साइरहेको इजरायली सेनाले केही समयअघि मात्र इजरायली सेनाले टेलिफोन मार्फत एक घण्टाभित्र भवन खाली गर्न सूचना दिएको थियो।

    अब अल सइदसँग त्यहाँबाट निस्किने समय आधा घण्टा पनि बाँकी थिएन। तर, भवनमा चल्ने एलिभेटर एउटा मात्र थियो। त्यसैले उनी सिँढीतर्फ दौडिन्। ‘बुढाबुढी र बालबच्चाका लागि एलिभेटर छाडिदियौँ,’ अल सइदले भनिन्, ‘अनि हामी सबै सिँढीबाट तल दौडियौँ। जजसले बालबच्चालाई बोक्न सक्थे, उनीहरुले बोकेर झरे। मैले पनि त्यहाँ बस्ने दुई बच्चालाई लिएर ओर्लिएँ। सबैजना हतारहतार दौडिरहेका थिए।’

    अल जजिराका सफवात अल कहलाउले पनि हतारमा भवन छाड्नुपर्‍यो। ‘सकेजति व्यक्तिगत र अफिसको सामान– खासगरी क्यामराहरु बोक्यौँ र हामी दौडियौँ,’ उनी भन्छन्। तर, इजरायली सेनाले दिएको एक घण्टाको समयले पुगेन। ‘मलाई थप १५ मिनेटको समय दिनुहोस्,’ एपीका एक पत्रकारले भवनबाहिरबाट फोनमा इजरायली गुप्तचर अधिकारीसँग बिन्ती बिसाए, ‘हामीसँग क्यामरासहित धेरै सरसामान छन्। ती सबै निकाल्न सक्छु म।’

    भवनका मालिक जावद महदीले पनि समय माग्न खोजे। ‘मैले भनेको– खालि चार जना मान्छेलाई भित्र गएर उनीहरुको क्यामरा झिक्न दिनुस्। हामी तपाईंहरुको चाहनाको सम्मान गर्छौँ। तपाईंले अनुमति नदिए हामी भित्र जाँदैनौँ। तर, १० मिनेट त दिनुस्,’ उनले याचना गरे। ‘अब १० मिनेट पाइँदैन,’ इजरायली अधिकारीले जवाफ दिए, ‘कसैलाई पनि भित्र छिर्ने अनुमति छैन। खाली गर्न हामीले एक घण्टा दिइसक्यौँ।’

    आफ्नो आग्रह खारेज भएपछि भवनका मालिक महदीले भने– ‘तपार्इंले हाम्रो सारा जिन्दगीको काम, सम्झना र जीवन नै खत्तम पारिदिनुभो। मैले फोन राखेँ। जे मन लाग्छ, त्यही गर्नुस्। भगवानले हेर्लान्।’ ठिक ३ः१२ बजे सो घरमा पहिलो इजरायली क्षेप्यास्त्र आक्रमण भयो। तीन वटा क्षेप्यास्त्र लागेसँगै पाँचै मिनेटमा घर ढल्यो।

    ‘यो भवनमा वर्षौँको सम्झना, वर्षौँको काम थियो। अचानक सबैथोक धुलोपिठो भयो,’ अल कहलाउ भन्छन्। त्यो भवनलाई हमासले सैन्य प्रयोजनका लागि प्रयोग गरेको इजरायली सेनाको आरोप छ। त्यही बहानामा इजरेलले गाजाका विभिन्न भवनलाई बमले उडाइरहेको छ। हमासले पत्रकारलाई पनि मानव ढालका रुपमा प्रयोग गरेको इजरेलको दाबी छ। तर, उसले आफ्नो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण अहिलेसम्म दिएको छैन।

    ‘१० वर्ष भयो यो अफिसमा मैले काम गरेको। तर, कहिल्यै पनि कुनै शंकास्पद गतिविधि देखिनँ,’ अल कहलाउ भन्छन्, ‘साथीहरुलाई पनि सोधेँ। कसैले केही देखेका छैनन्। एपीका अध्यक्ष तथा सीईओ ग्यारी प्रुइटले भने– ‘हामीले १५ वर्षदेखि त्यहाँ ब्युरो चलाउँदै आएका छौँ। त्यहाँ हमासको उपस्थिति छ भन्ने हामीलाई कहिल्यै लागेन।’

    गाजामा इजेरली बम वर्षाबारे अल जजिरामा रिपोर्टिङ गरिरहेकी अल सइद सो भवनमा बस्ने पत्रकार, वकिल, डाक्टरबाट इजरेललाई के खतरा छ– आफूले नबुझेको बताउँछिन्। ‘खोई त, हमासका सदस्य वा सैनिक छन् त?’ उनले प्रश्न गरिन्, ‘अहिले तनाव बढेका कारण अरु अफिस बन्द छन्। अल जजिरा र एपीका अफिस मात्र सञ्चालनमा थियो। त्यसबाहेक यहीँ अपार्टमेन्ट भएका मात्र बस्थे।’

    एपीका पत्रकार फारस अक्रम अघिल्लो रातभर जागै बसेर रिपोर्टिङ गरेपछि दिउँसो सुतिरहेका थिए। ‘निस्कौँ, निस्कौँँ,’ भनेर चिच्याउँदै उनका साथीहरु आए। अक्रमले ल्यापटपसहित सक्नेजति सामान बोके र सिँढी ओर्लिए। कार चढेर केही पर पुगेपछि उनी भवन हेर्न बाहिर निस्किए। उनका अनुसार पहिले ड्रोन आक्रमण भयो, त्यसपछि एफ–१६ विमानबाट तीन वटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरियो।

    मायादिन मिडिया ग्रुपका कार्यकारी निर्देशक फारस अल गौलको अफिस पनि त्यही भवनमा थियो। यहाँ सर्नुभन्दा पहिले उनको अफिस गाजाकै शोरो भवनमा थियो। त्यो भवन अप्रिल १३ का दिन इजरेलले ध्वस्त बनाएको छ। ‘२०१४ मा शोरोको माथिल्लो तलामा आक्रमण भएको थियो। सन् २०१९ मा हामी अल जलाला भवनमा सर्‍यौँ। यहाँ अन्तर्राष्ट्रिय मिडिया पनि भएकाले अलि सुरक्षित होला भन्ने सोचेका थियौँ। तर, अहिले दुवै भवन ध्वस्त भए,’ उनले भने।

    गाजामा कुनै ठाउँ सुरक्षित छैन !

    अल जलालामा भएको आक्रमणको विश्वभर निन्दा गरिएको छ। यसलाई इजरायली आक्रमणको खबर सम्प्रेषण गरिरहेका पत्रकारलाई चुप लगाउने प्रयासका रुपमा हेरिएको छ। हुन पनि शाती शरणार्थी शिविरमा इजरायली आक्रमणबाट इद मनाइरहेका एकै परिवारका ८ बालबालिका र दुई महिला गरी १० जनाले ज्यान गुमाएको खबर बाहिरिएको केही घण्टामै यो आक्रमण गरिएको थियो।

    सोमबार इजरायली आक्रमण सुरु भएयता गाजाका ३९ बालबालिकासहित १४५ प्यालेस्टाइनीको ज्यान गइरसकेको छ। करिब ९५० घाइते भएका छन्।
    पूर्वी जेरुसलेमबाट प्यालेस्टाइनी परिवारहरुलाई विस्थापित गर्ने प्रयास र अल अक्स मस्जिदमा इजरायली आक्रमणपछि पछिल्लो हिंसा सुरु भएको हो।

    आफूहरुमाथिको दमनको जवाफमा इजरेलतर्फ रकेट प्रहार गरिएको हमासको भनाइ छ। हमासको रकेटबाट इजरेलमा ९ जनाको ज्यान गएको छ। साँझ परेपछि अल जलालाका बासिन्दा र पत्रकारहरु खण्डहर भवनमा जम्मा हुन थाले। उनीहरुका आँखा ढुंगामाटोको थुप्रोमा आफ्ना सामान फेला पर्छन् कि भनेर नियालिरहेका थिए।

    ‘एक व्यक्ति आफ्नी छोरीले बनाएका चित्र खोज्न आएका थिए। किनभने ती चित्रमा अनेकौँ सम्झना गाँसिएका थिए,’ बम विस्फोटपछि सडकबाट रिपोर्टिङ गरिरहेका अल कहलाउ भन्छन्, ‘हामी बाहिर निस्केका छौँ र अहिले रिपोर्टिङका लागि आपतकालीन योजनाको प्रस्ताव राखेका छौँ। हामी सुरक्षित हुने प्रयास गरिरहेका छौँ। गाजामा कुनै ठाउँ सुरक्षित छैन। तैपनि हामी कोसिस गरिरहेका छौँ।’

    अल सइद भने अल सिफा अस्पतालतर्फ गएकी छन्। त्यो ठाउँ अलि सुरक्षित भएको उनको ठम्याइ छ। अल जलालामा मैले काम गरेकी थिएँ। अहिले त्यो घर माटोमा मिलेको देख्दा मेरो मन दुखेको छ,’ उनले भनिन्।

    ‘जिन्दगीभरी बचत गरेर अपार्टमेन्ट किनेकाहरुको अब के हुन्छ ? गाजामा अपार्टमेन्ट किन्न सक्ने बन्नु सजिलो छैन। अहिले आएर एकैछिनमा उनीहरुले सबथोक गुमाए,’ उनी भन्छिन्, ‘यो विनाश र मानिसहरुले भोगेको दुःखको वर्णन कुनै पनि शब्दले गर्न सक्दैन।’ अलजजिराबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...