आज : २०२६-०६-०८, सोमबार

खाडीबाट युवा सावाँ ब्याज गनेर फर्किन्छ

मन्दिर छिरेपछि भक्त लाश बनेर फर्किन्छ
घाटबाट मलाम जल्यो सव भनेर फर्किन्छ !

पानी ल्याउँछु भनेसी जनता मत खसाल्छ
प्यासी बस्तीको नेता मुहान थुनेर फर्किन्छ !

किन लोभ गर्दछौ लोभको कुनै सीमा हुँदैन
जुवाखालमै जुवाडे चिहान खनेर फर्किन्छ !

पीडा कति श्रमिकको बुझिदिने को नै छ र
खेतमै किसान उखुकै पासो बुनेर फर्किन्छ !

धोकाबाजी भए क्रान्तिप्रति विश्वास टुट्छ
युध्दबाटै योध्दा आफैँ हार मानेर फर्किन्छ !

बालुवाको तातोमा आफ्ना सपना जलाएर
खाडीबाट युवा सावाँ ब्याज गनेर फर्किन्छ !

गरीबीको माखे साङ्लो गलामा बेरिएपछि
नुन किन्न गएको बाबु विष किनेर फर्किन्छ !

– प्रथा।