एजेन्सी – संयुक्त राष्ट्र संघले संयुक्त अरब एमिरेट्सकी राजकुमारी लतीफा जीवत रहेको ठोस प्रमाण माग गरेको छ। राजकुमारी लतीफालाई बन्धक बनाएर राखेको बताइन्छ।
राजकुमारी लतीफाका पिता शेख मोहम्मद बिन राशिद अल मकतूम विश्वकै सबैभन्दा धनी राष्ट्राध्यक्षमध्ये एक हुन्। उनी दुबईका शासक तथा यूएईका उप–राष्ट्रपति पनि हुन्।
जेनेभामा संयुक्त राष्ट्र संघको मानवअधिकार विशेषज्ञहरुले मंगलबार एक बयान जारी गर्दै राजकुमारी लतीफालाई तुरुन्त रिहा गर्न माग गरेको छ। राजकुमारी लतीफाले सन् २०१८ मा दुबईबाट भाग्ने प्रयास गरेकी थिइन्। तर, उनको प्रयास असफल भएको छ।
दुबईको शाही परिवारले यसअघि लतीफा सुरक्षित रहेको र उनको घरमा नै देखभाल गरेर राखिएको बताएको थियो। यद्यपि, संयुक्त राष्ट्र संघले लतीफाको बारेमा थप जानकारी माग गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघका विशेषज्ञहरूले पुनः यूएईको सरकारलाई लतीफाबारे सार्थक सूचना दिन माग गरेको छ। शाही परिवारले ‘घरमा उनको देखभाल गरिरहेको’ भन्ने जवाफ पर्याप्त नभएको उनीहरुको भनाइ छ। – बीबीसी