नेपालका विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता हुने

काठमाण्डौ – विद्युतीय सवारी चार्ज गर्न देशभर ५० वटा चार्जिङ स्टेसन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ।
एक वर्षभित्र चार्जिङ स्टेसन बनाउने गरी चिनियाँ कम्पनी स्टार चार्ज (जियाङसु जोङदोङ न्यू इनर्जी) र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता हुने विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले जानकारी दिए।
‘चिनियाँ कम्पनीसँग भोलि मंगलबार सम्झौता गर्ने भनिएको थियो। केही कागजपत्र पुगेको छैन। प्रवक्ता तिमल्सिनाका अनुसार कागजपत्र पुगेपछि तुरून्त सम्झौता भइहाल्छ। सम्झौताको प्रकृया लगभग सकिएको छ। अब हस्ताक्षर हुन मात्रै बाँकी रहेको उनको भनाइ छ।
सम्झौताको एक वर्षभित्र सबै चार्जिङ स्टेसन बनाइसक्नु पर्नेछ। काठमाडौं, विराटनगर, धरान, वीरगञ्ज, पोखरा लगायत देशका मुख्य शहर र पूर्वपश्चिम राजमार्ग लगायत स्थानमा चार्जिङ स्टेशन बनाउने सरकारको लक्ष रहेको छ।
विद्युत प्राधिकरणका अनुसार चार्जिङ स्टेसनको विद्युतीय क्षमता १४२ किलोवाट हुने छ। डिसी र एसी गरी दुई प्रकारका चार्जिङ स्टेसन जडान हुने छ। स्टेसन निर्माणका लागि ३६ करोड लागत लाग्ने प्रारम्भिक अनुमान छ।

















