News Portal

  • खगेन्द्र गिरि “कोपिला”का दश मुक्तक

    हिमालीसंचार संवाददाता
    ४१२ पटक

    मुक्तक – १
    पीपलको एउटा पात हजुरको नाममा काटिदिन्छु।
    मेरो यो जिउँदो हात हजुरको नाममा काटिदिन्छु।
    कैलेकही यी आँखामा डुब्न आउनु भयो भने-
    एउटा यो सिंगो रात हजुरको नाममा काटिदिन्छु।

    मुक्तक – २
    श्वास प्रश्वास बढाएर गुम्सिन के सकिएला र?
    चाहनानै पन्छाएर फुत्किन के सकिएला र?
    मनको पर्खाललाई आफै भत्काइसकेपछि।
    आलिङ्गनबाट त्यसै छुट्टिन के सकिएला र?

    मुक्तक – ३
    आउनुहोस् एकछिन अँध्यारोमा हराएर हेरौं।
    आफूलाई एकअर्कोमा लीन गराएर हेरौं।
    केही लिने र केही दिने प्रकृयाको क्रममा
    केही गुमाएर अनि केही पाएर हेरौं।

    मुक्तक – ४
    केही मनलाग्दी गर्नु छ, केही गरिनु छ।
    केही समेट्नु छ मनमा, केही छरिनु छ।
    भरेर हजुरको फराकिलो आगोसलाई ।
    बचाएर अलिकति म पनि भरिनु छ।

    मुक्तक – ५
    बादलभित्र जुनताराझैं छोपिएर हेरौंला।
    कति बाटो हिड्यौं? केहिबेर रोकिएर हेरौंला।
    अग्निको ज्वालाजस्तै दन्कियो भने रहर-
    मनको सरिता बगेझैं पोखिएर हेरौंला ।

    मुक्तक – ६
    छोएर मनको आँगन त्यसै किन फर्किनु र !
    सुनेर श्वास र धड्कन त्यसै किन फर्किनु र !
    मनोलोकको वल्लो किनारमा खेल्दाखेल्दै एकछिन
    तोडेर सीमा बन्धन त्यसै किन फर्किनु र !

    मुक्तक – ७
    आँखाको पोखरीमा जूनले विहार गरेजस्तो।
    सगरबाट उल्कापातले झर्न हतार गरेजस्तो।
    किन सकिँदैन होला वर्णन गर्न त्यो क्षणलाई?
    अरु बेला यही मनले अनेक विचार गरेजस्तो।

    मुक्तक – ८
    नदीको बेगझैं बग्नमैं निर्लिप्त भैदिएँ भने !
    सूर्योदयको रङ्जस्तै प्रदिप्त भैदिएँ भने !
    कहाँ गएर गर्ने होला रहरको लेखाजोखा?
    तृप्त भएर पनि म अतृप्त भैदिएँ भने ?

    मुक्तक – ९
    श्रावणको वर्षातले नुहाएर फर्किउँला हुन्न ?
    कुनै साझा उन्मादले नुहाएर फर्किउँला हुन्न?
    हजुर आँखा चिम्लिनु,म ढुकढुकी रोकिदिउँला-
    त्यही पलको सौगातले नुहाएर फर्किउँला हुन्न?

    मुक्तक – १०
    थाहै नपाएर भैदिएको स्पर्श, मञ्जुर छ।
    मुटुको तडप र शरीरको संघर्ष, मञ्जुर छ।
    आँखा चिम्लिएर मदहोशीमा पुगेको बेला-
    जेजे भन्छ स्थितिले मलाई सहर्ष, मञ्जुर छ।

    खगेन्द्र गिरि “कोपिला”
    नेपालगन्ज, बाँके।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दशैंपछि सेयर बजारमा ३ प्रतिशत गिरावट, नीतिगत सहजतापछि सुधारको आशा

    काठमाडौँ, असोज २४ – दशैं सकिएपछि खुलेको सेयर बजार यस साता कमजोर रह्यो। बजार सूचक...

    एमाले केन्द्रीय कमिटी बैठक दुई दिन पछि सर्यो

    काठमाडौँ, असोज २४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक दुई दिन पछि बस्ने...

    शिक्षामन्त्री पुनलाई पूर्वमन्त्री भट्टराईको ३० बुँदे सुझाव

    काठमाडौं, असोज २४ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई पूर्वमन्त्री विद्या भट्टराईले शिक्षा...

    अनलाइन मिडिया दर्ता तीन महिनादेखि ठप्प, नियमावली कार्यान्वयनमा ढिलाइ

    काठमाडौं, असोज २४ – सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरण सूचना तथा प्रसारण विभागमार्फत...

    टोखामा युवकको हत्या, दुई जना पक्राउ

    काठमाडौं, असोज २४ — काठमाडौं महानगरपालिका–२ टोखा चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको ज्यान...