News Portal

  • मेलम्चिको खानेपानी आयोजनाको प्रोटोकल मिच्दै सरकार

    हिमालीसंचार संवाददाता
    २२८ पटक

    काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा पानी उद्घाटन गरेका छन्।

    गत १० फागुनदेखि सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि सुन्दरीजलमा खसालिएको पानी अहिले बागमतीमा फालिएको छ । सुरुङ भित्र निर्माणका क्रममा जम्मा भएका माटो, बालुवा र अन्य फोहोर बाहिर आउन प्राविधिकहरुले करिब एक हप्ता लाग्ने अनुमान गरेका छन्। त्यसपछि सुरुङको पानी सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन् ।

    प्रोटोकल मिच्दै सरकार

    मेलम्चिको पानी सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर वितरण लाइनमा पठाउन थालिनेछ । कार्यतालिका अनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने हो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गर्नुपर्ने हो । तर अहिले सुरुङ खाली नगर्ने र पानी हाल्दा प्रभाव परे नपरेको अध्ययन पनि नगर्ने भएका छन् ।

    यसो गर्दा आयोजना उद्घाटन महिना दिन वर सार्न सकिने सरकारी अधिकारीहरुको अनुमान छ । हतार–हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका छैनन् । छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी छ ।

    विज्ञहरुले पनी २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नै पर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लागको बताउँछन् । नेपाल टनेलिङ एसोसिएयनका अध्यक्ष तथा सुरुङ विज्ञ ज्ञानेन्द्रलाल श्रेष्ठ मेलम्चीको सुरुङमा पानी भरिएपछि २ दिन त्यतिकै राख्नुपर्ने र त्यसपछि क्रमशः पानी छोड्नुपर्ने बताउँछन् ।

    त्यसरी सुरुङ खाली भएपछि कहाँ–कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गर्नुपर्ने उनको भनाइ छ । ‘पानी भरेपछि चट्टानको प्रकृति अनुसार सुरुङको संवेदनशील क्षेत्रमा कुनै समस्या देखिएको हुनसक्छ,’ उनी भन्छन्, ‘अहिले सानो रहेछ भने पनि त्यसलाई समाधान गर्नुपर्छ, नत्र त्यो भविष्यमा बढ्दै जान्छ ।’

    उनका अनुसार ‘फिलिङ टेस्ट’ पानी भरिने सुरुङको प्रोटोकलमै पर्छ । दुई किलोमिटरकै सुरुङमा पनि यसको पालना गरिने भन्दै उनले भने, ‘पानी हालेपछि सुरुङले कस्तो रियाक्ट ग¥यो ? सपोर्ट सिस्टमले काम गरिरहेको छ कि छैन ? लाइनिङ (क्रंकिटिङ) उप्किएको छ कि छैन ? भन्ने नहुनु जोखिमपूर्ण हुन्छ ।’

    फरक–फरक ठेकेदारले काम गरेको तथा लामो र संवेदनशील सुरुङ भएकाले एकपटक खाली गरेर परीक्षण गर्नैपर्ने श्रेष्ठ बताउँछन् । सुरुङको कतिपय भागहरु नरम चट्टानका कारण खुम्चिएको हुन सक्ने भएकाले पानी भरेपछि त्यस्ता भागहरुको अवस्था पनि हतार नगरी हेर्नुपर्ने श्रेष्ठको भनाइ छ ।

    पानी वितरणको योजना

    आयोजनाले भने जतिसक्दो छिटो प्रशोधन केन्द्रबाट पानी वितरण लाइनमा पठाउने गरी योजना बनाएको छ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का निर्देशक कमलराज श्रेष्ठ छिट्टै कुनै पानी ट्यांकीबाट उपभोक्ताको धारामै पानी झारेर आयोजनाको उद्घाटन गरिने बताउँछन् । अब मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा झर्ने भएकाले अबको सुख्खायाममा नै धेरै उपभोक्ताले राहत पाउने उनको दाबी छ ।

    पीआईडीका अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । ‘पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याएका छौं,’ उनले भने, ‘त्यसमध्ये अब ८–१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।’

    अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको श्रेष्ठले जानकारी दिए । नयाँ पाइपको परीक्षण गर्दै मिटर जोड्ने काम अब तीव्र पारिने उनको भनाइ छ । ‘महिनामा ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ,’ उनले भने, ‘त्यसका लागि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीको १० प्रतिशत हिस्सा परीक्षणमा खर्च गर्छौं ।’ परीक्षण गर्दा पाइपमा जमेका फोहोरहरु पनि बाहिर निस्कने गरी ‘फ्लसिङ’ गर्नुपर्छ ।

    नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । नयाँ वितरण लाइनको परीक्षण सकेर पूर्ण रुपमा केयूकेएलले पानी वितरण गरिरहेको पुरानो लाइन विस्थापन गर्न एक वर्षभन्दा बढी समय लाग्ने श्रेष्ठले बताए । ‘अन्य निकायले विकासका काम गर्दा हामीले बिछ्याएको पाइपमा कतिपय ठाउँमा क्षति पुगेको छ,’ उनले भने, ‘परीक्षणका क्रममा लिकेजहरु पनि भेटिन्छन्, त्यसलाई समाधान गर्दै काम गर्नुपर्छ ।’

    वर्षौदेखि पर्खिएको आयोजना

    सन्दरीजलमा पानी झार्ने क्रममा प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनाबारे कुराकानी हुँदा कालो रहेका आफ्ना कपाल पानी आउँदा सबै फुलेको सुनाए ।

    हुन पनि आयोजनाको २०४१ ताका अध्ययन भएको थियो भने २०५२ सालमै मेलम्ची खानेपानी लिमिटेड स्थापना भएको थियो । २०५७ सालमा एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ऋण सम्झौता हुँदा यो आयोजना २०६४ सालमा नै निर्माण सम्पन्न हुने भनिएको थियो । तर, दातृ निकायसँगका विभिन्न मतभेदका कारण निर्माण थाल्न नै ढिलाइ भएको थियो ।

    २०६५ सालमा ५ वर्षभित्र काम सक्ने गरी ठेक्का पाएको चिनियाँ कम्पनी सीआरसीसीले २०६९ सालसम्म २७ किलोमिटरमध्ये ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले ठेक्का तोडेको थियो । २०७० सालमा ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले २०७३ मा काम सक्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीको बहाना बनाएर काममा फेरि ढिलाइ भयो । त्यसलाई लिएर भुक्तानी विवाद चलिरहेका बेला कम्पनी नै टाट पल्टिएपछि २०७५ माघमा सीएमसी निर्माणस्थल छोडेर हिड्यो ।

    २०७६ असोजपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरिरहेको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी अहिले काठमाडौंको माग धान्न पर्याप्त नभएकाले थप ३४ करोड लिटर पानी यही सुरुङमा याङ्ग्री र लार्के खोलाको पानी ल्याउन मेलम्चीको दोस्रो आयोजना सुरु गर्ने तयारी छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

    काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल...

    अक्सफोर्ड विश्वविद्यालयद्वारा प्रा. सुवेदीको नाममा स्थापित वार्षिक पुरस्कार विजेता घोषणा

    लन्डन, असार १९ – विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित विद्यावारिधिको सर्वोत्कृष्ट शोधग्रन्थलाई...

    पोखरामा शतप्रतिशत स्वदेशी लगानीमा हवाई इन्धन डिपो सञ्चालनमा

    पोखरा, असार १९ – आयल निगम लिमिटेडले आफ्नो ५५ वर्षे इतिहासमै पहिलोपटक पूर्ण रुपमा स्वदेशी...

    धरानको खानेपानी योजना : ‘एडीबीको ऋण नचाहिने, खोला–खोल्सीकै भरमा बाँच्ने’ — मेयर साम्पाङको कडा सन्देश

    धरान, असार १९ — धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकार र खानेपानी मन्त्रालयलाई...

    गायिका एलिना चौहानमाथि अश्लील टिप्पणी गर्ने पक्राउ

    काठमाडौं, असार १९ –  लोकप्रिय गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा अभद्र भाषा प्रयोग गरी गालीगलौज...