आज : २०२६-०६-०८, सोमबार

एक से एक प्रणय मुक्तकहरू – प्रथा !

मुक्तक – १

छल-छाम नि केही छैन गुन मात्र देख्छु
तामा चाँदी जे लाए नि सुन मात्र देख्छु
के भाको हो थाहा छैन यतिखेर मलाई
जति हेर्यो तिम्रो मुहार जून मात्र देख्छु !

मुक्तक – २

गाह्रो भयो गोठालालाई लौरी कहाँ गयो
एक्लै रून्छ खर्क आज चौँरी कहाँ गयो
जीवनको बागभरि वसन्त नै झरिसक्यो
फूलको रस चुस्न छोडी मौरी कहाँ गयो ?

मुक्तक – ३

घट्नेभन्दा बढ्ने बढी खाता यस्तो बनोस्
चमकभन्दा दमक धेरै गाता यस्तो बनोस्
विश्वास नै हो पिरतीमा भरोसाको आधार
नयन मेरा दृष्टि उनको नाता यस्तो बनोस् !

मुक्तक – ४

कसले बुझ्छ र, वैँसको यो दैलीभित्र के छ
यी आँखाभरि छल्किरहने घैलीभित्र के छ
भाव पढ्ने भाषा ‌भए कस्तो हुन्थ्यो होला
कसरी भनौं नौनी मनको थैलीभित्र के छ ?

मुक्तक – ५

आना छैन लालले मात्र सिक्री हुन्छ कि हुन्न
उमेर पुग्यो मस्तानीमा फिक्री हुन्छ कि हुन्न
कोही भए मनको राजा स्वागत छ है हजुर
यो जवानी बिक्रीमा छ बिक्री हुन्छ कि हुन्न ?

मुक्तक – ६

पीडाका ती कटुस गेडी कुटुक्क पारी गइन्
समर्पणको फूल फुलाई चुटुक्क पारी गइन्
पिरतीको शक्तिमा के छ उनैलाई हेर्दा पुग्छ
मेरै भाग पर्या विष पनि घुटुक्क पारी गइन् !

मुक्तक – ७

नदेखेरै पनि देखुँ तिमीलाई दृष्टि यस्तो होस्
नझरेरै पनि भिजाउ मलाई वृष्टि यस्तो होस्
कुनै शर्त हुन्न प्रे‌मीहरूको प्रेमको एउटै गीत
तिमी डुङ्गा हुनु म त माझी सृष्टि यस्तो होस् !

मुक्तक – ८

बातभित्र अर्थ कति अर्थको नै अड्कन थियो
छोडी गइन् मनभित्र रिसको नै चड्कन थियो
वर्षौँपछि हुलाकीले एउटा चिठ्ठी घरमा ल्यायो
खोली हेरें खामभित्र मोरीको नै धड्कन थियो !

मुक्तक – ९

ह्रदयभरि सँधै दीप बलोस् प्रेम त यस्तो होस्
उनकै धड्कन मुटु चलोस् प्रेम त यस्तो होस्
साथसाथै तर्न सकूँ यो जिन्दगीको भवसागर
एकै चितामा लाश जलोस् प्रेम त यस्तो होस् !

मुक्तक – १०

रूखो सुखो सँगै खाऊँला प्रेमको नै थाली होस्
चुहिँने छानो भए पनि विश्वासको नै पाली होस्
नाङ्गै जल्दछ चीतामाथि शरीर के पो लानु छ र
रिसाउँदा नि रिस पोख्ने मायाको नै गाली होस् !