News Portal

महिला–पुरुष मितेरी: श्याम र श्यामकुमारी नेपालकै पहिलो मित–मितिनी

हिमालीसंचार संवाददाता
१०८० पटक

बाँके – थर र लिंग फरक भएपनि गत बर्ष मितेरी लगाएका श्याम गिरी र श्यामकुमारी चौधरी नेपालकै पहिलो ‘महिला–पुरुष’ हुन्। करिब ११ बर्षअघि रेडियो कार्यक्रममा बोल्दै गर्दा चिनजान भएपछि ‘मित–मितिनी’को नाता लगाउँदै उनीहरुले गत बर्ष औपचारिक कार्यक्रम गरेर मितेरी लगाएका थिए।

महिला र पुरुषबीच मितेरी लगाएपछि श्याम र श्यामकुमारी नेपालकै पहिलो ‘मित–मितिनी’ बनेका हुन्। लैङ्गिक तथा सामाजिक विभेद अन्त्यका लागि मितेरी लगाएका श्याम र श्यामकुमारीलाई नेपालकै पहिलो ‘मित–मितिनी’ घोषणा गर्न नेपालगन्ज उपमहानगरपालिकाले पनि पहल थालेको छ।

नेपालगन्ज उपमहानगरपालिकाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई सिफारिसका लागि पहल गरेको जनाइएको छ। यस्तै, नेपालगन्ज उपमहानगरपालिका १९ नम्बर वडा कार्यालयले पनि मितेरी सम्बन्ध कायम भएको भन्दै सिफारिस गरेको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले नेपालकै पहिलो ‘मित–मितिनी’ घोषणा गर्नेमा आफूहरु विश्वस्त रहेको श्याम र श्यामकुमारीले बताए।

‘सामाजिक विभेदविरुद्ध औपचारिकरुपमै मितेरी लगाएका हौं,’ श्याम र श्यामकुमारीले भने, ‘हामी ११ बर्षदेखि मित–मितिनीका रुपमा एउटै परिवार भएका छौं। यो नेपालकै पहिलो र ऐतिहासिक विषय हो तर, यसमा हामीलाई राज्यले साथ दिएको छैन।’ एउटै रेडियोमा उस्तै नामका दुई पात्रले फोन सम्वाद गरिरहने क्रममा चिनजान भएका श्याम र श्यामकुमारीले लैङ्गिक तथा सामाजिक विभेद अन्त्यका लागि मितेरी लगाएको प्रतिक्रिया दिए।

नाम मिलेपछि रेडियो सम्वादकै क्रममा फोन नम्बर आदानप्रदान भएपछि आफुहरु पारिवारिकरुपमा पनि नजिकिँदै गएको उनीहरु बताउँछन्। उनीहरु भन्छन्, ‘हामीले मित र मितिनी भनेर एकअर्कालाई सम्बोधन गर्यो। यो सम्बन्ध पारिवारिकरुपमा पनि निकट भयो। हामीले आफूलाई भाग्यमानी ठानेका छौं।’ २ वटा परिवारलाई रेडियोले एउटै परिवार बनाइदिएको भन्दै उनीहरु खुशी व्यक्त गर्छन्।

श्याम भन्छन्, ‘रेडियोमा नाम सुने, मेरै नाम रहेछ। मात्रै जात र लिंग फरक, तर पनि मैले उहाँसँग मितिनीको नाता लगाए। केहीले शंका गरे। मैले त्यो शंकालाई प्रष्ट्याए। हामी दुवैको एकअर्काका परिवारसँग भेटघाट आउजाउ भइरहन्छ।’ सबैले समान लिंगबीच मितेरी लगाउँछन्। श्याम र श्यामकुमारीबीचको मितेरी सम्बन्ध नौलो र अनौठो छ। रेडियो कार्यक्रमबाट नजिक बनेका श्याम र श्यामकुमारीको मितेरी सम्बन्ध नेपालमै पहिलो र प्रेरणादायी मान्न सकिन्छ।

‘हाम्रा सोंचहरु अझै नकारात्मक विकारहरुले भरिएका छन्। हामी अरुलाई राम्रो होइन, शंकाको दृष्टिले हेर्छौ। हाम्रा सोंचहरुकै कारण समाज अझै पनि पछाडि परिरहेको छ,’ श्यामकुमारी भन्छिन्, ‘हाम्रो मितेरीको सम्बन्धलाई हामी र हाम्रो परिवारले मानिसकेको छ। मैले यसलाई सूचना र प्रविधिले लगाएको गुणका रुपमा मानिरहेकी छु।’ महिला र पुरुषबीच भएको मितेरी सम्बन्ध दुनियाँमै पहिलो भएको उनीहरुको दावी छ।

श्यामकुमारी भन्छिन्, ‘सकारात्मकरुपमा हामी दुई परिवार एक भएका छौं। मान्छेले के बुझ्दछन् वा, कुन दृष्टिले हेर्छन्, त्यसमा हामीलाई वास्ता छैन। हामी पारिवारिक रुपमा एउटा परिवार भएका छौं। महिला र पुरुषहरुबीचको विभेद अन्त्यको यो एउटा गतिलो उदाहरण पनि हो। सामाजिक विभेदको अन्त्य आफैबाट सुरु गर्नुपर्छ।’ उनीहरुबीचको मितेरी सम्बन्ध सबैका लागि प्रेरणादायीसमेत बनेको छ।

क्याप्चर ए सिसिएल चेञ्ज इन एक्सन फोटो विधामा सामाजिक तस्वीर सम्बन्धी प्रतिश्पर्धामा नेपालगन्जका श्याम र राप्तीसोनारी गाउँपालिकाकी श्यामकुमारीको मितेरी जोडी फोटो पुरस्कृतसमेत भएको छ। देशभरबाट प्राप्त ३० वटा विभिन्न सामाजिक काम र विकाससँग सम्बन्धीत फोटोमध्ये मित–मितिनीको फोटो उत्कृष्ट भएको थियो। अन्तिम प्रतिश्पर्धाका लागि ८ वटा फोटोमध्ये मित श्याम र मितिनी श्यामकुमारीको फोटो उत्कृष्ट भएको थियो।

यसरी भएको थियो चिनजान !
श्याम गिरी उनलाई धेरैले रेडियोप्रेमी भनेर चिन्छन्। रेडियोका सबैजसो फोन सम्वाद कार्यक्रममा उनी सम्वाद गर्न भ्याइहाल्छन्। आफ्नो परिचय दिने क्रममा नामको अन्तिममा ‘रेडियोप्रमी वान’ जोडिहाल्ने ४९ बर्षिय श्याम नेपाल आयल निगम नेपालगन्जमा कार्यरत कर्मचारी छन्। साथीभाईहरुसँग सहजै निकटता बनाउन सक्ने उनको खुबी हो। उनी नयाँ साथीहरुसँग छिट्टै नजिक बन्नुहुन्छ र सक्ने सहयोग गर्न तयार हुन्छन्।

नेपालगन्ज उपमहानगरपालिका–१९ निवासी श्यामले यहाँका विभिन्न एफएम स्टेशनहरुले चलाउने फोन संवाद कार्यक्रमहरुमा उहाँले फोन गरेर अन्तरक्रिया गरिरहन्छन्। नेपालगन्जका प्रायः सबैजसो एफएम स्टेशनका साङ्गीतिक कार्यक्रमहरुमा फोन सम्वाद गरिरहने श्यामले रेडियोबाटै रेडियोप्रमीको परिचय बनाए। रेडियोमा प्रशारण हुने फोन संवाद कार्यक्रमसँगै अन्य मनोरञ्जनात्मक कार्यक्रममा समेत उनको फोन सम्वाद भइरहन्थ्यो।

बाँके बैजापुरकी श्यामकुमारी चौधरीको रेडियो मोह पनि उस्तै छ। उनी पनि रेडियो हिमालका सबै कार्यक्रमहरुमा फोन सम्वाद गरिरहन्थिन्। राप्तीसोनारी गाउँपालिका–५, बिनौना निवासी ३० बर्षिया श्यामकुमारी स्थानीय अगुवाका रुपमा परिचित छन्। पढाईमा स्नातक उनले विभिन्न गैरसरकारी संस्थामा काम गरिसकेकी छन्। रेडियो कार्यक्रममा हुने त्यही फोन संवादमार्फत उनीहरुले मित–मितिनीको नाता गाँसे।

स्नातकसम्मको पढाई पुरा गरेकी श्यामकुमारी गाउँकै अगुवा महिलामात्रै नभई शिक्षित मध्येमा गनिन्छिन्। सामाजिक विभेदविरुद्धका अभियानमा उनको सहभागिता छुट्दैन। गाउँमा हुने सामाजिक विभेदविरुद्धका काममा अग्रसर रहने सोंच सकारात्मक भए परिवर्तन सम्भव भएको ठान्छिन्। श्याम गिरी र श्यामकुमारी चौधरीको उमेर अन्तर करिब १९ बर्ष छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...