रक्सी खाने र झगडा गर्ने बानीले परिवारै सखाप
कालीकोट — भैरे बटाला र लालकौराले विवाह परिवारको राजीखुसीमा गरेका थिएनन्। नरहरिनाथ–७ दुदुल्लीका २९ वर्षीय बटालाले १२ वर्षअघि लालकौरालाई पाल्तीबाट भगाएर लगेका थिए। भित्र्याएको वर्ष दिन नहुँदै उनले कुटपिट गर्न थाले। कुटपिट धेरै हुन थालेपछि खप्न नसकेर ३ छोरा छाडेर लालकौरा गत पुस ९ देखि माइतीमा बस्थिन्।
दिनहुँ यातना दिएपछि लालकौराले घर छाड्नुअघि पुस ९ मा पतिविरुद्ध इलाका प्रहरी चौकी कुमालगाउँमा उजुरी दिएकी थिइन्। प्रहरीले कारबाहीमा वास्तै गरेन। गत मंगलबार घरभित्रै डढेर बटाला र लालकौराका छोराहरू ११ वर्षीय गणेश र ९ वर्षीय मनबहादुरको मृत्यु भयो। घटना कुनै दैवीप्रकोप थिएन।
‘तेरा छोरासहित तँलाई आगो लगाएर माछा पोलेजस्तो गरेर मार्छु भनेर पहिलेदेखि नै धम्क्याउँथ्यो,’ लालकौराले बटालाका बारेमा भनिन्, ‘मलाई कहिल्यै सुख दिएन, सधैं कुटपिट र गाली गर्थ्यो।’ त्यही सहन नसकेर आफू माइतीमा बस्दै आएको उनले बताइन्। प्रहरीका अनुसार बटालाले मंगलबार आफ्नै घरमा आगो लगाएका थिए। त्यसमै दुई छोराहरू मारिएका हुन्। विष सेवनका कारण अझै पनि बोल्न नसकेका ५ वर्षीय कान्छो छोरा खगेन्द्रलाई कुमालगाउँको प्राथमिक उपचार केन्द्रले बिहीबार लालकौराको जिम्मा लगाएको छ।
मंगलबार साँझ श्रीमतीसँग फोनमा कुरा गरेका बटालाले ‘पत्नीले घरमा कहिल्यै आउँदिन’ भनेपछि आगो लगाएको खुलेको छ। ‘छोराहरू मार्ने र आफू पनि मर्ने योजनासहित अपराध गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक भूपेन्द्र शाहीले भने, ‘जंगली विष छोराहरूलाई खुवाएपछि घरमा आगो लगाएको खुल्यो।’
घरमा आगो लगाएर बटाला मंगलबार राति कान्छो छोरा लिएर नजिकैको ओडारमा बसेका थिए। बुधबार बिहान गाउँलेले थाहा पाएपछि मात्र उनी आगलागीबाट नष्ट भएको घरमा फर्किएका थिए। कान्छो छोरा खगेन्द्रलाई विष खाएर बेहोस भएको अवस्थामै गाउँलेले ओडारबाट उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका हुन्।
बटालालाई भने प्रहरीले पक्राउ गरी सदरमुकाम मान्म पुर्याएको छ। ‘बटालाको रक्सी खाने र झगडा गर्ने बानी रहेछ। घर झगडा त हुने नै भयो,’ डीएसपी चक्रबहादुर शाहले भने, ‘मातेका सुरमा घरमा आगो लगाएछन्। त्यसअघि भैंसी, पाडो र एक हल गोरुलाई पनि कुँडोमा विष खुवाएर मारेका रहेछन्।’

















