News Portal

माटोको उचाई

हिमाली संचार संवाददाता
११८५ पटक

– असीम सागर

माटो पिरो हुँदैन
तर खुर्सानी फल्छ
माटो बासनादार हुँदैन
तर फूल मगमगाउँछ
माटोलाई
न सगरमाथाको उँचाई थाहा छ
न समुद्रको गहिराई थाहा छ
न घाम उदाएको थाहा छ
न जून अस्ताएको थाहा छ
तैपनि माटोसँग
जस जसले युद्ध लडे
ती सबै योद्धाहरु हारेर गए

कस्सम
माटोसँग जो युद्ध लड्छ
उ सधै पराजित हुन्छ

सबैभन्दा पींधमा हुन्छ माटो
सबैभन्दा होंचो हुन्छ माटो
माटो पिंधमा छ र हिउँ माथि देखिन्छ
माटो होंचो छ र नै मान्छे अग्लो देखिन्छ

माटोको छातीमा बुट जति बजारेपनि
कोदालोले माटोको छाला जति खोस्रेपनि
अराजक बन्दैन माटो
जे रोप्यो त्यही फल्छ माटोमा
जे बनायो त्यही बन्छ माटो
माटोलाई
न अस्तित्व हराउने चिन्ता छ
न विलय हुनुको खतरा छ

माटोलाई थाहा छ मान्छेको भोक
र त फलाउछ आफ्नो देहमा अन्नवाली
माटोलाई थाहा छ मान्छेको तिर्खा
र त बनाउछ आफ्नो हत्केलामा पोखरी
माटोलाई थाहा छ मान्छेको घमण्ड
र त जान्छ गाउँमा पहिरो
माटोलाई यो पनि थाहा छ
कुनै ग्रहझछमा ठोक्किएर फुट्यो भने पृथ्वी
देश कहाँ जान्छ ?
कुनै युद्धको रङ्गले पोतियो भने देश
जीवन कहाँ जान्छ?
र त पैतालामा टास्सिएर देशको धुलो
जुनसुकै देशको माँटोमा मिसिएपनि
माटो झगडा गर्दैन
माटो युद्ध लड्दैन

माटोको कुनै देश हुँदैन

जति अग्लो भएपनि रुख जीवनको
माटो छोड्न सक्दैन जराले
जति कुरुप र किच्चड हुन्छ माटो
त्यति सुन्दर फुलाउछ फूल
जति मुछ्न सक्यो माटो
त्यति बलियो बन्छ मुर्ति
जति जम्न सक्छ माटो
त्यति मजबुत बन्छ पर्खाल
सायद त्यसैले
निहुरिएर बेली चमेलीका हाँगा
यही माटोको पाउ छुन खोज्छ
चुँडेर यिनै हाँगाका फूल बतासले
यही माटोलाई छर्दै जान्छ
मुसाफिर झैं डुलिहिड्ने बादलले
यही माटोलाई जल छर्किन्छ
आकाशबाट ओर्लेर घाम जून
यही माटोलाई उज्यालो बनाउँछ
लाग्छ
ईश्वर मानेर कसैले
माटोको आराधना गर्दै छ

यही माटोले बनेको भाँडो हो मान्छे
कुनैपनि बेला फुट्न सक्छ भाँडो
जसरी फुट्छ एक्कासि
माटोकै आँगनमा
खेल्दै गरेका केटाकेटीको बेलुन ।

लगनखेल, ललितपुर

प्रतिकृया दिनुहोस्

प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।...

आज २०८२ साल फागुन २२ गतेको राशिफल

आज फागुन २२, २०८२ ( मार्च ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन २१ गतेको राशिफल

आज फागुन २१, २०८२ ( मार्च ५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

एकैदिन सुनको मूल्यमा ११ हजार रुपैयाँको गिरावट

काठमाडौं, फागुन २० – अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। बुधबार...

नागार्जुनमा भेटिएको शंकास्पद वस्तु प्रहरीले गर्यो नस्ट

काठमाडौं, फागुन २० — नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा बिहानै फेला परेको शंकास्पद...