आज : २०२६-०८-११, मङ्गलबार

मलेसियामा नेपाली अपहरण गर्ने डेबिड कारागार चलान

काठमाडौं – अपहरण तथा शरीर बन्धक सम्बन्धी अभियोगमा पक्राउ परेका डेबिड भनिने दुर्गाबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। मलेसियामा बसेर गुन्डागर्दी र अपहरण गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका थिए।

जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको ब्युरोले जनाएको छ। डेबिडले दाङको पहरुवा भन्ने स्थानका मध्म रैदासलाई अपहरण गरी सात दिनसम्म बन्धक बनाएको उजुरी परेको ब्युरो प्रमुख डीआईजी सहकुल थापा बताउँछन्।

उनका अनुसार रैदासकी श्रीमतीलाई फोन गरेर डेबिडले दुर्गाबहादुर श्रेष्ठको नाममा हिमालयन बैंक लिमिटेडको खातामा ६० हजार रिंगेट जम्मा गराउन भनेका थिए। रकम जम्मा नगरे मारिदिने धम्कीसमेत दिएका थिए।

पटकपटक गरी उनले १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेपछि अपहरण मुक्त गरेको अनुसन्धानबाट खुलेको थापाको भनाइ छ। डेबिट नेपाल आएको गोप्य सूचनाको आधारमा प्रहरीले काठमाडौंको कान्ति बाल अस्पताल नजिकको सडकबाट पक्राउ गरेको थियो। श्रेष्ठले मलेसियामा डान्सबार तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।