
काठमाण्डौ – नेपालमा हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरू भएको छ।
बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना पाठपुजा गर्ने गरिन्छ। घटस्थापनाको साइत आज बिहान ११:४६ बजे रहेको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ बडा दशैँ मनाउने परम्परा रहेको छ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरेर पूजाकोठा, दशैँघरमा विधिपूर्पक जमरा राखेर त्यसमाथि यव जौ छरेर जमरा रोप्ने प्रचलन रहेको छ।
आज पूजाकोठा, दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आराधना आह्वान गरी पूजारम्भ हुन्छ। यव अङ्कुर जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गर्ने प्रचलन रहेको छ।
विशेष दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आराधना आह्वान गरी पूजाराधना गर्ने प्रचलन रहेको छ। महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ।
पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ। महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन्। यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण सबैजसो मन्दिर बन्द रहेको छ।शक्तिपीठमा नित्य पूजा भने गरिनेछ ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
