News Portal

कविता – समयको उमेर र भरिया

हिमाली संचार संवाददाता
५५९ पटक

ए साइँला !
खै कति टनको थियो
जिजूबाजेले पिठ्युमा बोकेको भारी ?
र आज यसरी,
बङरङ्ङ भुइँमा बजारियो
पनातिको जुइनेटा हल्लिएको ढाडबाट !

म त जान्दिन !
किन फुल्छन् होलान् – यी फूलहरू
कहाँ बगेर जाँदा हुन् – यी नदीहरू
कसले गाएका हुन् – यी दुखियाका गीतहरू
र कसरी चल्छ होला – यो धर्तीमा लुटको गणित ?
अहँ ! मलाई थाहै छैन
शासकहरूले बोल्ने जासुसी भाषाको अर्थ !
म त भरिया हुँ
र भारी नै हो – मेरो जीवनको कथा पनि !

वर्षौवर्ष अगि,
चिप्लेटी डाँडाको भिरालोमा
यही भारीले निलेको हो – बाको तन्नेरी ज्यान !
बा’कै नाम्लो थाप्लामा राखेर
यतिका वर्षसम्म,
म पनि हिँडिरहेछु – चिप्लेटी डाँडाको भीर !
हउ साइँला !
यो भारीको ओजन
मेरा लागि त दुई छाक दालभात बराबर न हो !

मलाई देखेर
जुँगामा ताउ लाउने
यो घाम उस्ताको उस्तै छ !
मेरो ढाकरमा बसेर
जून–ताराहरूको गट्टी खेल्ने
यो पटवारी आकाश पनि उस्तै छ !
हेर त साइँला !
मेरै पसिनाको रङ ओढेर
सुतिरहेको यो कामचोर समुद्र पनि त उस्तै छ !

समयको उमेर
नहुँदोरहेछ, रामसाइँला !
थाहै नपाई,
यो जिन्दगीको अक्करबाट
म आज ७० नाम्लो तल झरिसकेछु !
खै कहिलेदेखि,
मेरा अनिदा सपनाहरू
यो थुन्सेभित्र नजरबन्द भए
मैले लख काट्न सकिनँ, साइँला ?

ढाकरले उघाएका खुशीहरू
किन मेरा ओठहरूले मुस्कुराउँदैनन् ?
खर्पनले तौलिएको अर्थतन्त्र
किन मेरो खल्तीबाट यसरी चुहिरहन्छ ?
मेरै सिर्जना बोकेर
उदाएको त्यो आधा इन्द्रेणीमा
किन होला मेरो श्रमको रङ देखिँदैन ?
भन न ए साइँला !
मेरै थुन्सेले ओसारेको यो पृथ्वी
किन मेरो भागमा एक चपरी पनि पर्दैन ?

कहाँ गए
मेरा जीवनका मूल्यहरू ?
आज अकस्मात्
मलाई शङ्का लागेको छ !
माफ गर, साइँला !
मनका बाँधहरू भत्किएर
यो जिन्दगीमा झ्याप्प पर्दा खसेपछि
जिते यो सिङ्गो संसार
हारे यही एउटा निख्लो ज्यान
अब म अक्टोबर क्रान्ति हिँड्न चाहन्छु !

साँच्चै साइँला !
म भियतवाहक पहाड भएर
यो चिसो ओछ्यानबाट उठ्न चाहन्छु !
म वोलिभियाको जङ्गल भएर
आफ्नै अनिदा सपनाहरू उम्रन चाहन्छु !
म हवाना टापुको नदी भएर
अब अन्तिमचोटि
यो जिन्दगी आफैं ढुक्कले बग्न चाहन्छु !

उभ्याउनुस् मालिक !
ढुक्क भएर
कठघारामा यो अभियुक्तलाई
म साँच्चो–साँच्चो बयान दिन चाहन्छु !
ओ न्यायधीश महोदय !
हिर्काउनुस् मलाई नेटोका कोर्राहरूले
र झ्याप्प निभाइदिनुस्
यो विचारको रातो लालटिन !

राष्ट्रसंघको म्यानबाट
अब झिक्नुस् शैतानी तरबार
र स्वाट्ट रेटिदिनुस् – मेरो निःहत्था गला !
यो लालटिनको उज्यालो रहुञ्जेल
होहल्ला गरिरहन्छन्
यी गुरिल्लाजस्ता आवाजहरू
र ह्वाइटहाउस ढुक्कले निदाउन सक्दैन !

– प्रथा

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...