News Portal

प्रदेश २ मा निषेधाज्ञामा झन् चहलपहल

हिमाली संचार संवाददाता
३५७ पटक

जनकपुर – कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहे पनि संक्रमण नियन्त्रणकै लागि जारी गरिएको निषेधाज्ञाको प्रभाव प्रदेश २ मा न्यून छ । संक्रमणको उच्च जोखिम रहे पनि स्थानीयले बेवास्ता गरिरहेका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेमाथि स्थानीय प्रहरी–प्रशासनसमेत मूकदर्शक देखिन्छ ।

प्रदेशको अस्थायी राजधानी जनकपुरमा मध्याह्न १२ बजेसम्म किनमेलका लागि निषेधाज्ञा खुकुलो पारिएको छ । उक्त समयमा हटिया, बजार, बैंक तथा वित्तीय संस्थामा भीड त लाग्छ नै, तर त्यसपछि पनि सहरी क्षेत्रमा चहलपहल घटेको देखिँदैन । यहाँको मुख्य बजार क्षेत्रमा प्रहरी परिचालित छ । तर सर्वसाधारण निस्फिक्री टहलिरहेका हुन्छन् ।

प्रहरीले पनि सामान्य सोधपुछ गरेर मात्रै छोडिदिँदा यहाँ निषेधाज्ञा उल्लंघन गरेर पैदल तथा साइकल, मोटरसाइकल र गाडीमा हुइँकिनेहरूको संख्या बढ्दो छ । सुरक्षाकर्मी नै संक्रमित हुन थालेपछि निषेधाज्ञामा पनि खासै कडाइ गरिएको छैन । सर्लाहीमा साउन अन्तिम सातादेखि भदौ १४ सम्म अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन रोक लगाइएको छ । सर्वसाधारण भने भौतिक दूरी र मास्कसमेत नलगाई खुलेआम हिँडडुल गरिरहेका छन् ।

हाटबजार सञ्चालनमा प्रतिबन्ध लगाइए पनि ग्रामीण क्षेत्रका स्थानीय तथा व्यापारीले यसको पालना गरेका छैनन् । निर्बाध रूपमा अन्य पसलसमेत खुलेका छन् । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गए पनि निषेधाज्ञा कागजमा मात्र सीमित छ । यसको पालना गराउन सम्बन्धित निकाय चुकेका छन् ।

सर्लाहीको उत्तरी क्षेत्रमा निषेधाज्ञा धेरै हदसम्म पालना भएको देखिए पनि दक्षिणी क्षेत्रमा भने पूर्णरूपमा उल्लंघन भइरहेको नागरिक अगुवा रजनीकान्त झाले बताए । ‘निषेधाज्ञा जारी छ तर यसको पालना हुन सकेको छैन,’ उनले भने, ‘भीडभाड हुँदा पनि प्रहरी मूकदर्शक बनेर बसेका छन्, स्थानीय तहले पनि कुनै ध्यान दिएको छैन । नागरिक पनि आफ्नो स्वास्थ्यप्रति सचेत छैनन् ।’

प्रहरी–प्रशासनको मात्र सक्रियताले निषेधाज्ञा पालना हुन नसक्ने बताउँछन् सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल । स्थानीय प्रशासन, केही नागरिक समाज र राजनीतिक व्यक्ति मात्र निषेधाज्ञाको पक्षमा रहेको बताउँदै उनले सर्वसाधारण भने उल्लंघन गर्नमै उद्यत रहेको बताए । उनले महामारीमा सर्वसाधारण आफैं सचेत हुनुपर्नेमा प्रहरी लगाएर मात्र सम्भव नहुने तर्क गरे ।

साउन १ मा सप्तरीको राजविराजमा एक कोरोना संक्रमित व्यापारीको मृत्यु भयो । उनको परिवार र सम्पर्कमा रहेकाहरूमा पनि संक्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाले साउन ७ देखि लकडाउन आह्वान गर्‍यो । त्यसको भोलिपल्टै स्थानीय प्रशासनले पनि राजविराज नगर क्षेत्रभर निषेधाज्ञा लगायो ।

संक्रमण जिल्लाका अन्य स्थानमा पनि विस्तार हुन थालेपछि प्रशासनले साउन २० देखि तीन पटकसम्म म्याद थप्दै आगामी भदौ १५ सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । सुरुका दिनमा बजारमा चहलपहल न्यून रहे पनि अहिले भने त्यसको ठीक उल्टो दृश्य देखिन थालेको छ । पर्वका नाममा ग्रामीण क्षेत्रमा समेत भीड जम्मा हुने क्रम रोकिएको छैन ।

पान पसलदेखि कस्मेटिक पसलसम्म आधा सटर उठाएर खुल्न थालेका छन् । साँझ मदिरा पसलमा भीड पुरानै अवस्थाको जस्तै देखिन्छ । सडकमा मोटरसाइकल र साइकलको संख्यामा भारी बढोत्तरी भएको छ । चोकचोकमा प्रहरी खटिएका छन् तर निषेधाज्ञा पालना गराउन उनीहरू सक्रिय छैनन् ।

‘प्रहरी प्रशासनले मात्र निषेधाज्ञा पालना गराउन सक्दैन,’ सप्तरी प्रशासन कार्यालयका सूचना अधिकारी आनन्दकुमार ठाकुरले भने, ‘निषेधाज्ञा नागरिकको स्वास्थ्य सुरक्षाका लागि गरिएकाले नागरिक आफैं पनि सचेत हुनुपर्छ ।’ निषेधाज्ञा, लकडाउन बाध्यतावश गर्नुपरेको ठाकुरको भनाइ छ । तर लामो समयदेखिको निषेधाज्ञाका कारण बजार ठप्प हुँदा सर्वसाधारणका आवश्यकता बढेकाले बजार क्षेत्रमा चहलपहल बढी देखिएको उनले बताए ।

‘लकडाउन र निषेधाज्ञा नगरेको भए स्थिति भयावह हुने थियो,’ राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले भने, ‘पालना भएको छ तर अझै पनि सर्वसाधारण सचेत हुनु जरुरी छ ।’ सप्तरीमा दैनिक संक्रमित हुनेको संख्या बढ्दो छ । हालसम्म जिल्लाभर ५ जनाको मृत्युसमेत भइसकेको छ । यस्तो अवस्थामा पालना नै नहुने निषेधाज्ञाको अर्थ देख्दैनन् यातायात व्यवसायी विजय दास ।

‘सार्वजनिक यातायातबाहेक सबै खुला छ, यस्तो निषेधाज्ञाको के अर्थ ?’ उनले प्रश्न गरे, ‘निषेधाज्ञा पालना गर्न जनता पनि सचेत हुनुपर्‍यो, प्रशासनले पनि सक्रियता देखाउनुपर्‍यो ।’ संक्रमितको सम्पर्कमा रहेकाहरूमा संक्रमण थपिँदै गएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले आग्रह गरे । ‘घरबाहिर निस्कनुभन्दा निषेधाज्ञा र लकडाउन पालना गर्नु नै स्वास्थ्य सुरक्षाका हिसाबले उपयुक्त छ,’ उनले भने ।

समुदायमै संक्रमण देखिएपछि रौतहट प्रशासनले साउन २४ बाट भदौ १४ सम्मका लागि जिल्लाभर निषेधाज्ञा लगायो । तर यसको पालनाको अवस्था अन्य जिल्लाको जस्तै छ । निषेधाज्ञाभर घरबाट बाहिर निस्कन बन्देज गरिएको छ। तर जिल्लाका गौर, गरुडा, चन्द्रनिगाहपुरलगायत मुख्य बजार क्षेत्रका स्थानीय साँझ र बिहानको समयमा बिनाकामै बाहिर निस्किरहेका देखिन्छन्। उनीहरूमध्ये अधिकांशको मुखमा मास्कसमेत हुँदैन ।

स्थानीय प्रशासनले भदौ ७ बाट बिहान २ घण्टा खाद्यान्न, बैंक तथा वित्तीय संस्थाहरू खोल्न दिने निर्णय गरेकोमा उक्त निर्णय स्थानीयका लागि घरबाहिर निस्कने बाहनाजस्तो पनि बनेको छ । रौतहटका प्रजिअ इन्द्रदेव यादवले दैनिक जीवनयापनमा केही सहजता थप्न निषेधाज्ञा खुकुलो गरिए पनि बिनाकाम स्थानीयहरू लखरलखर हिँड्न नछाडेको बताए । ‘अवस्था कठिन होला भनेर खाद्यान्नलगायत पसल तथा बैंकहरू केही समय खोल्न दिएका हौं,’ उनले भने, ‘यसैको आडमा मानिसहरू सडकमा बेपर्वाह हिँड्न थाले । अहिले कडाइ गरेका छौं।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...