
२०७७ साउन १२,सोमबार
सुर्खेत – जिल्ला समन्वय समिति सुर्खेतले लेकवेशी नगरपालिकामा रहेका क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग गैरकानुनी रुपमा संञ्चालन भएको ठहर गरेको छ।
लामो समयदेखि गैरकानुनी रुपमा सञ्चालन भएका उद्योगहरुले मापदण्ड विपरीत चिङगाड खोला,खहरे खोलामा बालुवा उत्खनन र संकलन गरेको पार्इएको समितिले बताएको छ।
समन्वय समितिको बैठकले लेकबेशी नगरपालिकालार्इ पत्र लेख्दै जिल्ला समन्वय समितिको निर्णय कार्यान्यवन गर्न निर्देशन दिएको छ।
२०७७ असार ३१ गते पत्र पठाएपनि नगरपालिकाले अहिले सम्म ती क्रसर उद्योग र वालुवा प्रोशोधन उद्योगलाई कुनैपनि कारवाही गरेको छैन।
बैठकमा जिल्ला समन्वय प्रमुख छविलाल सिग्देल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवम बन डिभिजन कार्यालय लगायतको सहभागीता रहेको थियो।
समितिको बैठकले लेकबेशी नगरपालिकाक्षेत्र भित्र गत आर्थिक बर्ष २०७६/७७ को ठेक्का सम्झौता बोमजिम चिङगाड खोला र खहरे खोलामा संकलन भएको नदिजन्य पदार्थको मौज्जात विवरण एव त्यसक्षेत्रमा संञ्चालित वालुवा प्रशोधनको स्थलगत अनुगमन पाईएको जनाएको छ।
समितिले अध्यनपछि तयार गरेको प्रतिवेदनमा लेकबेशी नगरपालिका स्थित विभिन्न नदी र खोलाको आर्थिक २०७५/७६ र २०७६/७७ को स्वीकृती ठेक्का सम्झौता बमोजिम नदिजन्य पदार्थ उत्खनन संकलन हुनुपर्नेमा तोकिएको मापदण्ड विपरित अध्याधिक बढि नदीजन्य पदार्थ संकलन भएको पाईएको हो।
यस्तै यस्ता नदीजन्य पदार्थ ढुंगा गिट्टी र वालुवालाई तत्कालको लागी यथास्थीतिमा राख्ने र गत आर्थिक बर्षमा सम्झौता भएको उल्लेखीत बढि नदिजन्य पदार्थहरु लिलाम गर्न निर्देशन दिएको छ।
बैठकले अबैध रुपमा संञ्चालन भएका उद्योगहरुलाई बन्द गर्न लेकबेशी नगरपालिकाले उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ।
बैठकले गरेका निर्णयलाई कार्यान्यवन गर्न नगरपालिकालाई थप सहयोग गर्न आवश्यक परेमा उक्त नगरपालिकाले जिल्ला प्रशासन कार्यालय तथा अन्य सुरक्षा निकायको सहयोग लिन सक्ने व्यवस्था गरेको जनाएको छ।
जिल्ला समन्वय समितिका समन्वय अधिकारी दुर्गाप्रसाद चालिसेले क्रसहरु खोलाका किनारामा भएको भन्दै उनिहरुसंग दर्ता प्रकृया नभएको र नदिजन्य पदार्थहरु बढि उत्खन भएको पुष्ठि भएको बताउनुभयो।
गत आर्थिक बर्षमा लेकबेशी नगरपालिका अन्तरगत पर्ने खोलानामा न्यु देउती कन्स्ट्रक्सनले १ करोड ५० लाखमा जम्मा ९७ हजार घनमिट नदीजन्य पदार्थ उठाउन पाउने ठेक्का सम्झौता गरेका थिए।
उसको अहिले मौज्दाद ठेक्का सम्झौता गरे भन्दा धेरै रहेको पाईएको छ। अर्को पवन कन्स्ट्रक्सन कम्पनीले खहरेला, ढुंगा गिट्टी झिक्ने ठेक्का नगरपालिकाबाट लिएको थियो।
उसले ५२ लाखमा ठेका पाएको थियो भने ४४ हजार घनमिटर मात्रै उठाउन पाउने भनिएपनि दुइ लाख घन मिटर भन्दा बढि थुपारेको छ। खहरे खोलामा सबै भन्दा धेरै दुई लाख धनमिटर भन्दा धेरै दोहन गरेको छ।
यसरी नगरपालिका भित्र नदीजन्य पदार्थहरुको दोहन भईरदा समेत नगरपालिका मौन बसेको भन्दै स्थानियले नगरपकालिका पदाधीकारीको पनि मिलोमतो हुनसक्ने बताएका छन।
यता लेकबेशी नगरपालिकाका प्रमुख गगनसिहँ सुनारले लेकबेशी नगरपकालिकाका ईन्जिनियर खेमराज पोखरेलको नेतित्वमा चार सदस्य छानविन समिति गठन गरेको बताउनुभयो।
उहाँले क्रसर र बालुवा प्रशोधन उद्योगहरु अबैध नै भएको भन्दै ठेकेदारहरु बढि नदिजन्य पदार्थ उठाएको सम्बन्धमा प्रतिवेदनको रिपोट आएपछि मात्रै थाहा हुने जिकिर गर्नुभयो।
लेकबेशी नगरपालिकालाई भने ठेकेदारले कुनठाँउमा के कति नदीजन्य पदार्थहरु उठाए त्यसको कुनै जानकारी समेत छैन।