आज : २०२६-०६-०८, सोमबार

वस्त्र नछोई टाडैबाट नङ्ग्याउने को हो ?

२०७७ साउन ४, आइतबार

नजरको मात चढाई बङ्ग्याउने को हो
वस्त्र नछोई टाढैबाट नङ्ग्याउने को हो ?

वैँसको यो डालीभरि फूल फक्री सक्यो
भवँराझैँ भुनभुनाउँदै दङ्ग्याउने को हो ?

चञ्चले यो उमेरमा ऐनाछेउ आशन भो
यो ध्यानस्त मनलाई भङ्ग्याउने को हो ?

यौवनको तलाऊभित्र माछीजस्तै भाछु
टाँगो टाँगी बल्छीभरि टङ्ग्याउने को हो ?

चङ्गा बनी आकाश छुन उडुँ उडुँ भाछ
धागो बाँधी लटाइमा चङ्ग्याउने को हो ?

थाहा छैन कस्तो होला पिरतीको होली
लाली चोरी दिलभित्र रङ्ग्याउने को हो ?

~ प्रथा