News Portal

अन्तर्जातीय बिहेको किचलोमा दुई जनाको मृत्यु

हिमाली संचार संवाददाता
४७९ पटक
२०७७ जेठ ११ आइतबार

रुकुम – कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना १९ जना साथीसहित प्रेमिका भगाउन शनिबार राति रुकुम पश्चिमको चौरहजारी नगरपालिका–८ सोती गाउँ पुगेका २१ वर्षिय नवराज विकले ज्यान गुमाएका हुन् ।

चौरहजारीका युवा टिकाराम सुनारले पनि ज्यान गुमाए । नवराजको आइतबार बिहान र टिकारामको साँझ शव फेला परेको हो । उनीहरूको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुईजनाको चौरजहारी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

मृतकका आफन्तले भने रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीका स्थानीयले लखेटेर भेरीमा बगाइदिएर हत्या गरेको बताएका छन् । नवराजको सोती गाउँकी मल्ल थरकी १७ वर्षीया एक किशोरीसँग प्रेमसम्बन्ध रहेको र बिहेका लागि सोती आएका बेला स्थानीयले लखेटेर हत्या गरेको दाबी मृतकका आफन्तको छ । उनी शनिबार अरू १८ जना साथी लिएर जाजरकोटबाट चौरजहारी नगरपालिकाको सोती आएका थिए । जातीय विभेदका कारण स्थानीयले युवाहरूलाई लखेटेको आरोप मृतकका आफन्तहरूले लगाएका छन् ।

जाजरकोटका १९ जना युवा सोती पुगेपछि किचलो सुरु भएको रुकुम पश्चिम प्रहरीले बताएको छ । केही जाजरकोटतिर फर्किएका र बाँकी १२ जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए । ४ जना सम्पर्कविहीन छन् । केही महिनाअघि पनि नवराज आफ्ना केही साथीसहित तिनै किशोरीसित बिहे गर्न भन्दै सोती आएका थिए । त्यतिबेला पनि इलाका प्रहरी कार्यालयमा ल्याएर उमेर पुगेपछि बिहे गर्ने सर्तमा घर पठाइएको प्रहरीले बताएको छ ।

नवराजको सोतीकी १९ वर्षीया मल्ल थरकी किशोरीसँग प्रेम सम्बन्ध रहेको र उनकै आग्रहमा भगाउनलाई आफूहरु गएको त्यो टोलीका एक घाइते आशिष विकले प्रहरीलाई बताएका छन् । ‘तर, हामीहरुको केटीसँग भेट हुन नपाउँदै केटीकी आमाले चिच्याएर गाउँलेलाई बोलाइन्,’घाइते आशिषले प्रहरी बयानमा भनेका छन्, ‘त्यसपछि त ढुंगैढुंगाले खेदेर भेरीमा धपाए ।’नदीमा पसेपछि पनि ढुंगाले हानेको उनले बताएका छन् ।

शनिबार साँझ करिब ८ बजे उनीहरु गाउँमा पुगेपछि तनाव भएको घाइते आशिष बिकले बताए । ‘तल्लो जातको केटाले माथिल्लो जातकी केटी लिन आयो भन्दै लखेटेका हुन्,’उनले भने, ‘जातभातको कारण आज यस्तो हालत भयो ।’

सोतीका स्थानीयले भने उक्त आरोप गलत भएको बताएका छन् । सोतीमै घर भएका चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लले जातीय भेवभावका कारण घटना नभएको दाबी गरे । ‘अहिले एक टोलबाट अर्को टोलमा जान मनाही छ,’ उनले भने, ‘तर एकैसाथ धेरै मान्छेहरू आएको थाहा पाएपछि गाउँलेले सोधपुछ गर्ने क्रममा भागभाग भएको भन्ने सुनेपछि क्वारेन्टाइन व्यवस्थापनमा खटिएको म पनि त्यहाँ पुगेको हुँ ।’

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी बसन्त पन्तले घटना गम्भीर भएको बताउँदै दवाव र प्रभावमा नपरी अनुसन्धान गर्न दुईटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताएका छन् । हाल कालीकोटमा रहेका उनले भने, ‘विवाहको विषयलाई लिएर घटना भएको सुन्नमा आएको छ, यसबारे थप अनुसन्धानपछि थाहा होला ।’

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...