News Portal

  • नेपाल-भारत सीमा क्षेत्रमा भोकभोकै सुरक्षाकर्मी

    हिमाली संचार संवाददाता
    ९०६ पटक
    २०७७ वैशाख २० शनिबार

    कैलाली – कोरोना भाइरसका कारण देश बन्दाबन्दीको अवस्थामा छ। सबै सीमानाका बन्द छन् भने देशभित्र पनि आवागमनमा सरकारले रोक लगाएको छ। बन्दाबन्दीको समयमा भारतीय सीमा क्षेत्रमा नेपाल सरकारले थप सुरक्षाकर्मी खटाएको छ।

    सीमा क्षेत्रमा अस्थायी क्याम्प स्थापना गरी सुरक्षाकर्मी खटाएको भए पनि त्यस क्षेत्रमा खटिएका सुरक्षाकर्मी भोकै प्यासै सुरक्षामा खटिनुपर्ने बाध्यता छ।

    भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा भारतबाट कोही पनि नेपाल भित्रन नपाउन् भन्दै कैलालीका सीमानाकामा थप अस्थायी बेस क्याम्प निर्माण गरी सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका छन्। सुरक्षाका लागि खटिने ती सुरक्षाकर्मीहरु विभिन्न समस्याबाट पीडित भइरहेको उनीहरुको गुनासो छ।

    टीकापुर नगरपालिका–७ कालाकुण्डास्थित सशस्त्र प्रहरीको अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मी थुप्रै समस्यासँग जुधिरहेका छन्। मोहना नदीको छेउमा गत चैत २६ गते स्थापना भएको अस्थायी बेस क्याम्पमा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १२ सुरक्षाकर्मी कार्यरत छन्।

    बस्तीबाट निकै टाढा रहेको बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीलाई पिउने पानी, विद्युत्, शौचालय, खानालगायतको समस्या छ। उनीहरु तीन किलोमिटर टाढा टीकापुर–९ खक्रौलामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टबाट पिउने पानी र खाना बोकेर सुरक्षार्थ तैनाथ छन्।

    टीकापुर–९ चौगुर्दीस्थित अस्थायी बेस क्याम्पमा कार्यरत सुरक्षाकर्मीको अवस्था पनि उस्तै छ। उनीहरुले समेत पिउने पानी र खाना खक्रौलास्थित सीमा सुरक्षा पोष्टबाट बोकेर लैजाने गरेका छन्। त्यस्तै भजनी नगरपालिकामा पनि छवटा अस्थायी क्याम्प स्थापना गरिएका छन्।

    त्यहाँका सुरक्षाकर्मीको अवस्था पनि त्यस्तै छ। एक क्याम्पबाट अर्को क्याम्प देखिने गरी अस्थायी क्याम्प स्थापना गरिएको भए पनि नदीको किनारमा र जङ्गल क्षेत्रमा बस्नुपर्ने भएकाले थुप्रै समस्या झेल्नुपर्ने बाध्यता रहेको उनीहरु बताउँछन्।

    समस्यासंँग जुध्दै आए पनि उहाँहरुले कसैको नाम कोड नगर्ने सर्तमा आफ्नो वास्तविक समस्या बताउनुभएको हो। भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाएको बताउनुभयो।

    “आवश्यक सहयोगका लागि समन्वय भएको छ”, उहाँले भन्नुभयो, “खानेपानी, विद्युत्, शौचालय आदिको समस्या छ, ती समस्या समाधानका लागि सशस्त्र प्रहरीसँग समन्वय र सहकार्य भइरहेको छ।”

    नगरप्रमुख चौधरीले सीमामा खटिएका सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण भएको बताउँदै उहाँहरुसंँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताउनुभयो। विद्युत् सम्भव भएको ठाउँमा विद्युत् लाइन जडान गर्ने र सम्भव नभएको ठाउँमा सोलारको समेत व्यवस्था गरिने नगरप्रमुख चौधरीले बताउनुभयो।

    सशस्त्र प्रहरी बल ३४ नं गण कैलालीका सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले अस्थायी क्याम्पमा समस्या रहेको बताउँदै पहिलेको तुलनामा समस्या समाधान हुँदै गएको बताउनुभयो।

    उहाँले अन्य क्षेत्रमा जस्तो पूर्व तयारी गरी सुरक्षाकर्मी परिचालन नहुने बताउँदै अस्थायी क्याम्पमा देखिएका समस्या समाधानका लागि स्थानीय र प्रदेश सरकारसंँग समन्वय भइरहेको बताउनुभयो।

    “स्थानीय सरकारले सहयोग गर्दै आएको छ। प्रदेश सरकारले पनि स्वास्थ्य सामग्रीको सहयोगका लागि समन्वय गरेको छ”, सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सिनाले भन्नुभयो, “केही क्याम्पमा समस्या छ तर विस्तारै सबै समस्याको समाधानका लागि हामी लागिरहेका छौँ।”

    उहाँले सीमा क्षेत्रमा सुरक्षा मजबुत गर्न र आइपरेको समस्याको समाधानका लागि स्थानीय सरकारसंँग समन्वय गर्न भजनी र टीकापुर क्षेत्र हेर्ने गरी सशस्त्र प्रहरी नायब उपरीक्षक खटाइएको बताउनुभयो।

    यसअघि भजनी र टीकापुर सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षकको नेत्तृत्व रहँदै आएको थियो। “धेरै ठाउँमा समस्या छ। हामी समस्याका बाबजुद पनि काम गरिरहेका छौँ”, सशस्त्र प्रहरी उपरीक्षक कमल तिमिल्सिनाले भन्नुभयो, “हामी आवश्यक परेका बेला तत्काल खट्नुपरेकाले समस्या भएको हो।

    यो विस्तारै समाधान हुन्छ। अहिले प्रहरी नायब उपरीक्षकले स्थानीय तहसंँग समन्वय गरी समस्याको समाधान गर्ने काम भजनी र टीकापुर क्षेत्रमा भइरहेको छ।” कैलालीको सीमा क्षेत्र ५२ वटा अस्थायी क्याम्प र १२१ वटा सेन्ट्री पोष्ट रहेको बताउँदै तिमिल्सिनाले १०० किलोमिटरको दूरी कायम हुने गरी क्याम्प स्थापना गरिएको बताउनुभयो।

    कतिपय ठाउँमा सुरक्षाकर्मी सीमा क्षेत्रमा रहेका विद्यालय भवन, सामुदायिक भवनलगायतमा बस्दै आएका छन् भने कतिपय ठाउँमा बस्तीबाट निकै टाढा नदी किनारको जङ्गलमा बस्न बाध्य छन्। बस्ती नजिकै बसेका सुरक्षाकर्मीको तुलनामा बस्तीभन्दा टाढा रहेकाहरु निकै समस्यामा छन्।

    बस्तीभन्दा टाढा रहेका सुरक्षाकर्मी टेण्ट गाडेर बसेका छन्। उहाँहरुसँग पिउने पानी र खाना बोक्नका लागि साधन समेत छैन। स्थानीयवासीले दिएको एउटा साइकलमा एकजना सुरक्षाकर्मीले पिउने पानी र खाना बोक्ने गरेका छन्।

    खुल्ला सीमा नाकाका कारण भारतबाट थुप्रै मानिस भित्रिन सक्ने भन्दै सरकारले देशैभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरेको हो। उहाँहरुले भारततर्फ आउने व्यक्तिलाई रोक्ने जिम्मेवारी पाएका छन्। भारतबाट अनियन्त्रित रुपमा आउने मान्छेका कारण कोरोना भित्रिन सक्ने सरकारको अनुमान छ।

    त्यस्तै, टीकापुरमा सत्कार मेडिकल सञ्चालन गर्दै आएका डा हेमन्त स्वाँरले कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका लागि पिउने पानीको व्यवस्था गर्नुभएको छ।

    उहाँले टीकापुर नगरपालिकाका कालाकुण्डा, चौगुर्दी र श्रीलङ्कास्थित बेस क्याम्पमा १०० जार पिउने पानी उपलब्ध गराउनुभएको हो। उहाँले तीनवटै क्याम्पमा रहेका सुरक्षाकर्मीलाई पिउने पानीका साथै मास्क र सेनिटाइजरसमेत उपलब्ध गराउनुभएको बताइएको छ। रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...

    पेस्तोलसहित हरी र आशिष पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको जहदा गाउँपालिका–४ बाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित...