आज : २०२६-०७-२८, मङ्गलबार

लकडाउनमा बिपन्न गाउँलेलाई खाद्यान्न वितरण

कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ। बारदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार ५ सय केजी चामल र ३ सय ५० केजी नुन वितरण शुरु गरेको स्थानीय युवा मातृका लम्सालले जानकारी दिएका छन्।

स्थानीय समाजसेवी युवा देविन्द्रप्रसाद चम्लागाईका पिता लोकनाथ चम्लागाई, माता डिकुरादेबी चम्लागाई, दाजुहरु प्रेमप्रसाद चम्लागाई र महेन्द प्रसाद चम्लागाईको पहलमा खाद्यान्न वितरण गरिएको हो। वितरणको पहिलो दिन वडा नम्बर १, २ र ३ का गरिबहरुलाई चामल र नुन प्रदान गरिएको छ।

सम्बन्धित वडाअध्यक्षको उपस्थितिमा गरिव पहिचान गरी हरेक वडामा ५ सय केजी चामल र ५० केजी नुन वितरण पहिलो दिन वितरण गरिएको छ। यो वितरण कार्यलाई सबै वडामा पुर्‍याउने चम्लागाई परिवारले बताएको छ।

अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार, नेपाली व्यावसायी संघ कतारका अध्यक्ष र गैरआवासीय नेपाली संघका मानार्थ आइसीसी सदस्य महेन्द्र चम्लागाई कतारको नेपाली व्यावसायिक क्षेत्रमा उदार र सहयोगी व्याक्तित्वका रूपमा परिचित छन।

उनले यो विपत्तिको अवस्थामा आफ्नो गाउँठाउँका कोही पनि भोकै बस्नु नपरोस् भनी कतारबाट यो कार्यको लागि २ लाख रुपैयाँ पठाएका थिए। महेन्द्रको प्रस्ताव, सहयोग र परिकल्पनामा आफ्नो गाउँका विपन्नहरुलाई राहत सामग्री वितरण गरिएको र यसमा समग्र चम्लागाई परिवारले साथ दिएको बताइएको छ।

आफ्नो गाउँको शैक्षिक, भौतिक, साँस्कृतिक विकासको लागि मात्र नभएर दैवीप्रकोप र विपत्तिहरुमा यो परिवारले विगतमा पनि दिल खोलेर सहयोग गर्ने गरेको छ।