News Portal

  • नेपाली सुरक्षाकर्मी- विदेशमा अब्बल स्वदेशमा निर्बल

    हिमाली संचार संवाददाता
    ६३९ पटक

    टीका बन्धन, काठमाडौं – नेपाली सुरक्षाकर्मी र सुरक्षा निकायले निर्वाह गरेका सफलता र बहादुरीका उदाहरण पर्याप्त छन्, सैन्यबलमा निकै अब्बल मानिएका मुलुकले समेत नेपाली सुरक्षाकर्मीलाई महत्वपूर्ण जिम्मेवारी दिने गर्छन् ।

    गत जेठ अन्तिम साता सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनबीचको वार्तास्थलको सुरक्षार्थ नेपाली सुरक्षाटोली समेत खटिँदा ठूलै चर्चा भएको थियो । तर नेपालमा आयोजना हुने कतिपय अन्तर्राष्ट्रियस्तरका सभा÷सम्मेलन र उच्चस्तरीय जमघटमा नेपाली सुरक्षाकर्मीलाई विश्वास नगरेका उदाहरण पनि दोहोरिन थालेका छन् ।

    नेपाल भ्रमणका क्रममा आफ्नै मुलुकबाट सुरक्षाकर्मी र सवारी ल्याउने परम्पराजस्तै बन्न थालेको छ । आसन्न बिमस्टेक सम्मेलन होस् या ४ वर्षअघिको सार्क सम्मेलन अनि त्यस अघिपछि भारतीय राष्ट्रपति र प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा भारतले आफ्ना मुलुकका सुरक्षाकर्मीको टुकडी नै खटाउने गर्छ । यही साता शुरु हुने बिमस्टेकको चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै गत शुक्रबार भारतबाट दर्जन हाराहारीमा ‘स्पेसल ब्लाक कमान्डो फोर्स’ काठमाडौं आएर सुरक्षा अनुगमन (रेकी) शुरु गरेको छ ।

    लैनचौरस्थित भारतीय दूतावासमा रहेको यो फोर्सले आफ्नै शैली र नेपाली सुरक्षा निकायसँगको समन्वयमा पनि रेकी शुरु गरेको नेपाल प्रहरी स्रोतले जानकारी दियो । प्रहरीका एक उच्च अधिकारीले आइतबार नेपाल समाचारपत्रसँग भने– ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा प्रयोजनका लागि भारतबाट अर्को सुरक्षा टोली सोमबार काठमाडौं आउँदै छ ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओहोरदोहोर गर्ने मार्ग, उहाँ बस्ने सोल्टी होटल र सहभागी हुने कार्यक्रमस्थल आसपासका भेगको सुरक्षा निगरानीका लागि भारतीय टोलीले चासो बढाएको ती अधिकारीले बताए ।

    सम्मेलन आगामी बुधबार र बिहीबार काठमाडौंमा आयोजना हुँदै छ । बिमस्टेक सदस्य राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख भोलि मंगलबारदेखि नै काठमाडौं आउँदै छन् भने भारतीय प्रधानमन्त्री मोदी सम्मेलन उद्घाटन हुने दिन बिहीबार बिहान नेपाल आउने कार्यक्रम तय भएको छ । मोदीको सवारी प्रयोजनका लागि गत शुक्रबार नै ३ वटा कालो रङका बुलेटप्रुफ मर्सिडिज कार पनि काठमाडौं भित्रिसकेका छन् । गत वैशाख अन्तिम साताको मोदीको नेपाल भ्रमणका क्रममा पनि काठमाडौं, जनकपुर, मुक्तिनाथसहित तराईका सीमावर्ती भेगमा बाक्लै संख्यामा भारतीय सुरक्षाकर्मी खटिएका थिए ।

    राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको कमीकमजोरीका कारण एकपछि अर्को उच्चस्तरीय भ्रमणमा भारतले नेपाली सुरक्षाकर्मीमाथि अविश्वास गर्ने वातावरण बढ्दै गएको सुरक्षा मामलाका जानकार बताउँछन् । उच्चस्तरीय भ्रमणको व्यवस्थापन गर्न नेपाली सुरक्षाकर्मी सबल भए पनि परराष्ट्र मन्त्रालयले सुरक्षा मामिलाबारे आश्वस्त गराउन नसक्दा सुरक्षा मामिलामा शंका गर्ने अवस्था रहेको नेपाली सेनाका पूर्वसहायक रथी डा. उमेश भट्टराई बताउनुहुन्छ । ‘हाम्रो कमजोरी के–के हो भनेर नेपालले प्रस्ट रुपमा सोध्नुपर्छ र भारतले पनि प्रस्ट रुपमा कमजोरी औंल्याउनुपर्छ, तर त्यस्तो हुन सकेको छैन’ –द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गर्नुभएका उहाँले भन्नुभयो ।

    राजनीतिक नेतृत्वमा रहेकाहरुले यो विषयलाई गम्भीरतापूर्वक नलिँदा भारतबाहेक अन्य मुलुकबाट हुने आगामी दिनका उच्चस्तरीय भ्रमणमा पनि उस्तै प्रचलन दोहोरिन सक्ने भट्टराईको आशंका छ । राष्ट्राध्यक्ष र सरकार प्रमुखले आफ्नो विदेश भ्रमणका क्रममा आफ्नै मुलुकका सादा पोसाकका सुरक्षाकर्मी पनि साथै लाने प्रचलन छ । तर भारतले भम्रण अगावै बाक्लै संख्यामा सादा र युनिफर्मसहितका सुरक्षाकर्मी खटाउँदै आएको छ । भारतको यस्तो शैली नेपाल र अन्य दक्षिण एसियाली मुलुकमा केही बढी देखिने गरेको नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा बताउनुहुन्छ ।

    नेपालसहित दक्षिण एसियाली अन्य मुलुकमा पनि भारतीय सुरक्षा चासो रहेको र नेपालसँगको खुला सीमाका कारण नेपालमाथि उसको सुरक्षा चासो झनै बढेको उहाँको ठहर छ । भारतले नेपाली सुरक्षाकर्मीमाथि विश्वास नगरेको भन्दा पनि नेपालसहित समग्र सार्क क्षेत्रमा आफू बढी सुरक्षित हुन उसले चाहेको बताउँदै शर्माले भन्नुभयो– ‘भारत विगतदेखि सार्क क्षेत्रको सुरक्षा मामिलामा केही बढी शंकालु छ ।’

    विशिष्ठ विदेशी पाहुना ओहोरदोहोर गर्ने सडक र उनीहरु सहभागी हुने कार्यक्रमस्थल आसपासमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाउँदैमा सुरक्षा अवस्था चुस्त नहुने भएकाले सुरक्षा निकाय स्रोतसाधन सम्पन्न हुन आवश्यक रहेको विज्ञहरुको तर्क छ । यही पक्षलाई जोड दिँदै शर्माले भन्नुभयो– ‘सुरक्षाकर्मीको बाक्लो भौतिक उपस्थितिले मात्रै सुरक्षा सुनिश्चिता हुँदैन ।’(नेस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...