लमजुङ २४, २०७६ फागुन : बेंसीसहरमा शुक्रबारदेखि दोश्रो आदिवासी जनजाति लमजुङ साँस्कृतिक तथा पर्यटन महोत्सव २०७६ सुरु भएको छ। आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङको आयोजनामा महोत्सव सञ्चालन गरिएको हो।
महोत्सव सुरु हुनु पूर्व बेंसीसहर बजारको मनाङेचौतारादेखि पुरानो बैंक चोक, भीमसेनस्थान चोक, नारायणस्थान चोक, फुलबारी मञ्च, प्रशासन चोक भएर महोत्सव स्थल दनाई फाँटमा र्याली निकालिएको थियो।
र्यालीमा गुरुङ, तामाङ, नेवार, चेपाङ, भुजेल, दुरालगायतका जातजातीले आआफ्नो भेषभुषा र बाजागाजाको साथमा सहभागि थिए।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशभर कोरोना भाइरसको त्रास फैलिएकाले मन्त्री परिषद्को बैठकबाट पनि कुनै मेला, महोत्सव नगर्ने निर्णय भएपनि जनजाति महोत्सवका तयारी तीब्र पारिएको र खर्च भएकाले नरोकेको बताउनुभयो।
पोखरामा सञ्चालित आहा गोल्ड कपमा पनि तयारी भएको र देशविदेशबाट खेलाडी आएकाले दुई ठाउँको कार्यक्रम सञ्चालनमा रोक नलगाएको र कार्यक्रमलाई कोरोना सचेतनाको रुपमा सञ्चालन गर्न भनिएको बताउनुभयो।
चिसो ठाउँमा कोरोनाको संक्रमण फैलने भएकाले विद्यालयको बार्षिकोत्सव, मेला समारोह रोक लगाएपनि सञ्चालन भएका ठाउँमा सजगता अपनाइएको उहाँले बताउनुभयो।
संकट आएमा समस्या पर्ने भएकाले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, चरक स्मृति मेडीकल कलेज, मणिपाल मेडिकल कलेजमा १०० बेड खालि गरी राखेको बताउनुभयो।
प्रदेशले क्वारेन्टाइन बनाउनका लागि नीतिगत निर्णय गरेर अघि बढेको उहाँले बताउनुभयो। अर्को प्रशंगमा मुख्यमन्त्री गुरुङले जनजाति महोत्सवमा लमजुङका ९ जातिको एकता सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो।
जनजातिको कला, संस्कृति, परम्पराको जगेर्नाका लागि समुदायसंगै स्थानीय सरकारको पनि उत्तिकै भुमिका रहने र कला संस्कृतिको संरक्षण र विकासबाट देशमा समृद्धि भित्र्याउन सकिने बताउनुभयो।
नेपालमा बाहिरी देशका पर्यटक आउनुको कारण प्राकृतिक दृश्य मात्र नभई विभिन्न जातजातिको कला, संस्कृति, भेषभुषा रहेकोले यसको संरक्षणका लागि सरकार लागि परेको बताउनुभयो।
उहाँले कोही पनि पूर्वाग्राह नभई एकतामा बाधीन अनुरोध गर्नुभयो। गण्डकी प्रदेश सरकारले लोपन्मुख तथा विपन्न जातजातिको घरवासका लागि जनता आवास कार्यक्रम अन्र्तगत घर बनाएको बताउनुभयो।
अर्को बर्ष दलित समुदायको लागि घरवास कार्यक्रम गरिने बताउनुभयो। गरिबीको रेखामुनी रहको नागरिकलाई स्वास्थ्य विमा कार्ड बनाउने र १ लाखसम्म उपचार गराउने व्यवस्था प्रदेशले गरेको गुरुङको भनाई छ।
सरकारले देशको भ्रष्टचार नियन्त्रणका लागि लागेपनि वर्तमान सरकारलाई दोष दिने काम भएको बताउनुभयो। विगतका सरकारको पालामा भएका गल्ती अहिले देखिएकाले अहिलेको सरकारलाई गाली गर्ने काम भइरहेको उहाँको भनाई थियो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, गण्डकी प्रदेश सभा सदस्य मधुमाया अधिकारी, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका संयोजक खेम पुन मगर, आदिवासी जनजाति महासंघ तनहुँका संयोजक बसुन्धरा घर्ती, तु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङ, नेवा देव दबु लमजुङका अध्यक्ष धर्मराज श्रेष्ठले मन्तब्य राख्दै आफ्नो कला, संस्कृतिको विकास र संरक्षणका लागि सबै लाग्नुपर्ने बताउनुभयो।
कार्यक्रममा विभिन्न जनजाति समुदायले साँस्कृतिक प्रस्तुति राखेका थिर। आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यमबहादुर आलेमगरले गर्नुभएको थियो।
महोत्सव शुक्रबारबाट चैत २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। नेपालमा कोराना भाइरसको हल्ला भएपनि यसको कुनै असर नदेखिएको र संक्रमण नहुने भएपछि महोत्सव सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक एवं आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङले बताउनुभयो।
कोरोना भाइरसको हल्ला भए पनि यसले महोत्सवलाई प्रभाव नपर्ने आयोजकले जनाएको छ।महोत्सवमा गीत संगीतसँगै कोराना भाइरस बारे सचेतना दिने कार्यक्रम समेत रहेको जनाएको छ।
मौलिक संस्कृति, भाषा र सम्यता हाम्रो पहिचान, एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने नाराका महोत्सव आयोजना गरिएको हो। महोत्सव स्थलमा ९ आदिवासी जनजातिका संग्रहालय, नमुना घर, स्टल निर्माण गरिएका छन्।
१ सय ७५ वटा स्टल निर्माण गरिएका छन्। महोत्सवमा शैक्षिक, विज्ञान तथा कृषि प्रदर्शनी, बाल उद्यान, बालमेला सूचना प्रविधि सम्बन्धी जानकारी तथा मेला, स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, आदिवासी जनजाति समुदायको दैनिक रुपमा फरक–फरक सांस्कृतिक प्रस्तृति राखिएको छ।
महोत्सव अवधिभर मर्याङ्दी नदीको बेलौती बिसौनादेखि झिंगोखोलासम्मको दोभानसम्म र्याफ्टिङ, विभिन्न जातजातिको साँस्कृतिक घर, जातीय खाना तथा खाजा, आदिवासी जनजातिको जम्म–मृत्यु संस्कारमा चाहिने सामाग्री, जातीय पुस्तक, पोषाक, विभिन्न बाजागाजा, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी गरिने भएको छ।
महोत्सव अवधिभर २ लाख पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ। दुई करोड रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ। महोत्सव स्थल प्रवेशको लागि सर्वसाधरणलाई ५० रुपियाँ साथै जेष्ठ नागरिक र विद्यार्थीलाई ३० रुपैयाँको टिकट राखिएको छ।