News Portal

  • अनलाइनका नाममा सास्ती

    हिमाली संचार संवाददाता
    ४३५ पटक

    पोखरा : सरकारको सेवाप्रवाह सेवा छिटोछरितो र सर्वसुलभ साथै प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको डिजिटल अनलाइन प्रविधिले सेवाग्राहीलाई झनै सास्ती भएको छ। यातायात व्यवस्था कार्यालय गण्डकीमा सेवा लिन पुग्ने सेवाग्राहीले कहिले सर्भर नचल्दा त कहिले अनलाइन नखुल्दा हैरानी बेहोर्नु परेको छ।

    पोखरा महानगरपालिका–१७, बिरौटाका नवीन हमाल मङ्गलबार सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को काम लिएर कार्यालयको सवारीचालक अनुमतिपत्र शाखामा जानुभयो । सर्भर नचलेका कारण सो दिन उहाँ त्यसै फर्किनुभयो । त्यसको दुई दिनपछि बिहीबार बिहान ९ बजे पुनः कार्यालय पुग्नुभएका उहाँले लाममा दुई घण्टा पालो कुर्नुभयो । पछि सर्भर नचलेको भन्दै कर्मचारीले उहाँलाई फर्काइदिए ।

    हमाल मात्र हैन, लाइसेन्सको काम लिएर कार्यालय आउने धेरै सेवाग्राहीले सर्भरका कारण यस्तै सास्ती भोग्ने गरेका छन् । प्रायः दैनिकजसो सर्भरले काम नगर्दा लाइसेन्सको काम लिएर आउने सेवाग्राहीको काम नहँुदा पनि समाधानको लागि केही पहल भएको छैन ।

    कार्यालयका निमित्त प्रमुख हरिप्रसाद गौतम कर्मचारीले सेवाग्राहीको काम छिटोछरितो गर्न चाहे पनि सर्भरका कारण समस्या हुने गरेको बताउनुहुन्छ । केन्द्रीय प्रणाली अर्थात् यातायात विभागमार्फत कार्यालयको सर्भरले काम गर्ने हँुदा समस्या परेको उहाँको भनाइ छ । सर्भर जुनसुकै बेला पनि डाउन हुने गरेको र त्यसको समाधान कर्मचारीको हातमा नरहेकाले समस्या परेको हो ।

    पटक पटक कार्यालय पुगेका सेवाग्राही सर्भर नचल्दा हैरान छन् भने अनलाइन सेवाका लागि प्रवेश गर्ने सेवाग्राहीले जतिसुकै प्रयास गर्दा पनि एक्सेस नपाएको गुनासो छ । यातायात गण्डकी कार्यालयले दैनिक सानो ठूलो सवारी गरी झन्डै चार सयवटा फर्म अनलाइनमार्फत लिने गर्छ । अनलाइनको साइटमा सीमित व्यक्तिको बाहेक पहुँच नै पुग्दैन, कतिखेर पुग्छ, कतिखेर बन्द हुन्छ थाहा नै हुँदैन ।

    चौबीसै घण्टा प्रयास गर्दा पनि बिचौलियाकै सहयोग लिनुपर्ने बाध्यता छ । एउटा फर्म भर्दा कति पैसा लाग्छ, यातायात कार्यालयले तोकेको छैन । तर, एक हजारदेखि पाँच हजार रुपियाँसम्म असुल्ने गरेको सेवाग्राही प्रवेश गुरुङले बताउनुभयो ।

    यसबारेमा कार्यालय प्रमुख गौतम ह्याकरहरूले नै कब्जा गरेको स्वीकार गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ, “त्यो हाम्रो क्षमताभन्दा बाहिरको हो । त्यो विभागले हेर्नुपर्छ । सेवाग्राहीको खप्की हामीले खान्छौँ । सेवाग्राही देख्दा हामी पनि खिन्न हुन्छौँ । ” कार्यालयबाट वार्षिक एक लाखभन्दा बढी सेवाग्राहीले नयाँ लाइसेन्स बनाउने र पुरानाको नवीकरण गर्छन् । तर कार्यालयको संरचना भने उस्तै छ ।

    कार्यालयका सूचना अधिकारी भरतराज काफ्ले भौतिक संरचनाको लेआउट नमिलेका कारण पनि काममा समस्या परेको बताउनुहुन्छ । कार्यालय अब छिटै नयाँ भवनमा सर्न लागेको र त्यसपछि काममा केही सहज हुने भनाइ उहाँको छ । चालक अनुमतिपत्रका लागि आवेदन फर्म छोटो समयका लागि खुल्ने र ह्याक गर्न सक्नेले मात्र सेवा लिनसक्ने र अरूले नसक्ने गरेका कारणसमेत समस्या भएको काफ्लेको भनाइ छ ।

    सूचना अधिकारी काफ्लेका अनुसार सर्भर चल्ने समयमा भने नयाँ दर्ता दिनमा दुई सयदेखि २५०, नवीकरण दुई सयदेखि तीन सय र लाइसेन्स वितरण पनि लगभग तीन सय जति गरी लगभग नौ सयदेखि एक हजार जनाले सेवा लिने गरेका छन् । सन् २०१८ को डिसेम्बरसम्म निवेदन दिएकाले मात्र स्मार्ट लाइसेन्स पाएका छन् । त्यसमा पनि गुणस्तर नभएको सेवाग्राहीको गुनासो छ । लाइसेन्ससमेत समयमा आउँदैन । गत भदौयता कसैको पनि स्मार्ट लाइसेन्स नआएका कारण धेरै समस्या भएको हो ।

    यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सर्भरले काम नगरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा मात्रै सर्भिस प्रोभाइडरबाट सेवा लिएका थियौँ । अब दुईवटाबाट लिने तयारीमा छौंँ ।

    सर्भरलाई पटक पटक ह्याकरले पनि ह्याक गर्छन् । यसको अनुगमन गरिरहेका छौँ । हाम्रो मात्र कमजोरी होइन, जीआईडीसी सिंहदरबारभित्र रहेको सरकारी डाटा सेन्टर हो । कहिले त्यहाँबाट पनि सपोर्ट हुँदैन । अब हामी सुधार्ने प्रयासमा छौँ । ”

    गण्डकी प्रदेशको राजधानी पोखरामा मात्रै भीड हुनुको कारण धौलागिरि अञ्चलमा चारपाङ्ग्रे सवारीको लाइसेन्स बन्द गरिएकाले पनि हो । धौलागिरिबाट यहाँ दैनिक सय जना आउने गर्छन् । यस सन्दर्भमा महानिर्देशक हमालले भन्नुभयो, “हामीले प्रदेशलाई अधिकार दिएका छौँ, प्रदेशले नै खोज्नुपर्छ ।

    यसबारेमा गण्डकी प्रदेश भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले चाँडोभन्दा चाँडो बागलुङमा पनि सेवा सञ्चालन गर्ने र गण्डकीको सर्भरलाई द्रुत र छिटोछरितो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सर्भर नचल्दा सेवा प्रभावित भई राजस्व सङ्कलनमा समेत असर परेको कार्यालयले जनाएको छ । सर्भरका कारण गण्डकी यातायात व्यवस्था कार्यालयले आइतबारदेखि बुधबारसम्म सेवा नै बन्द गरेको थियो। – गोरखापत्र

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...