News Portal

  • नेपालकाे सबैभन्दा ठूलो राष्ट्रिय झण्डा तनहुकाे मानहुँकोटमा राखियाे

    हिमाली संचार संवाददाता
    ५०९ पटक

    तनहुँ : पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ। राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा क्लब सञ्जालले सो स्थानमा नेपालकै ठूलो झण्डा राख्न लागेको हो।

    नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आगामी वैशाख १ गते मानहुँकोटमा नेपालको झण्डा फहराउने लक्ष्य राखिएको सञ्जालका अध्यक्ष गौरव पन्थले जानकारी दिए। उनका अनुसार मानहुँकोटको शिरमा नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा राखेर उक्त स्थानको पर्यटकीय गतिविधिलाई अझै वृद्धि गर्ने ध्येय राखिएको छ।

    सो क्षेत्रको राष्ट्रिय झण्डासहितको पूर्वाधार निर्माणका लागि रु १९ लाख १२ हजार १७० बजेट अनुमान गरिएको छ। सहभागिताबाट रकम सङ्कलन गरी झण्डासहितको पूर्वाधार निर्माण गरिने जनाइएको छ। “धेरैभन्दा धेरै जनसहभागिताबाट रकम सङ्कलन गर्ने सोच राखेका छौँ”, उनले भने, “सबै वर्गका व्यक्तिबाट रकम सङ्कलन गर्छौ।” अध्यक्ष पन्थका अनुसार पाँच हजारभन्दा बढीको जनसहभागिताबाट रकम सङ्कलन गरिनेछ।

    झण्डा निर्माणका लागि रु ५० हजार, पूर्वाधार निर्माणका लागि रु १६ लाख ५२ हजार १७०, प्रचारप्रसारका लागि रु ३० हजार, दातासम्मानका लागि रु एक लाख बजेट अनुमान गरिएको छ। मानहुँकोटमा झण्डाका अतिरिक्त बस्नका लागि फलामे कुर्ची, उद्यान लगायत निर्माण गर्ने लक्ष्य राखिएको छ।

    यहाँ राखिने झण्डा पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने, दमौली र आसपासका क्षेत्र, कास्की, लमजुङका विभिन्न ठाउँबाट पनि देख्न सकिनेछ। झण्डाको लम्बाइ ४५ फिटको हुनेछ। यसमा प्रयोग गरिने खम्बा ७२ फिट अग्लो हुनेछ। हालसम्म नेपालको सबैभन्दा ठूलो झण्डा काठमाडौंस्थित माइतीघरमा राखिएको छ। जसको लम्बाइ १० मिटर र चौडाइ सात मिटरको रहेको छ।

    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मानहुँकोटमा नेपालकै ठूलो झण्डा राखिएपछि व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताए। मानहुँकोटको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले उक्त ठाउँमा रु ४० लाखको लागतमा दृश्यावलोकन स्तम्भ भ्युटावर निर्माणको प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो। साथै प्रत्येक वर्ष शहीद दिवसको अवसरमा मानहुँकोटबाट अल्ट्रा म्याराथन प्रतियोगिता पनि हुँदै आइरहेको छ।

    व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले युवा सञ्जालले गर्न लागेको अभियानमा नगरपालिकाको तर्फबाट सहयोग रहने बताउँदै राष्ट्रिय झण्डा अभियानले समग्र जिल्लाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

    मानहुँकोटबाट धौलागिरि, माच्छापुच्छ अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ। मानहुँडाँडा पुग्न बाटो कालोपत्रेको काम पनि शुरु भइसकेको छ। सङ्घीय सरकारको रु सात करोड बजेटबाट सडक कालोपत्रेका लागि नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रेको काम छिट्टै शुरु हुने बताइएको छ।

    सोही वडाको अलैचेबाट मानहुँकोटसम्म पुग्ने साढे ६ किमि बाटो कालोपत्रेका लागि काठमाडौंस्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ। मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको सङ्ख्या अझै वृद्धि हुने अनुमान गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...