News Portal

धेरै जसो पढेलेखेकै ब्यक्ति मानव तस्करका फन्दामा परेपछि..

हिमाली संचार संवाददाता
६०३ पटक

जनकराज सापकोटा
काठमाडौँ १९, २०७६ पौष : सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन् भने ठग्नेहरू धेरैजसो कम पढेका छन्। झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक डिपोर्ट भएर यही पुस ४ गते काठमाडौं उत्रिए।

प्रहरीको मानव बेचबिखन ब्युरोको प्रारम्भिक बयानमा उनले आफ्नो शैक्षिक योग्यता १० कक्षा पास मात्रै भएको बताए। थप अनुसन्धानपछि थाहा भयो, उनी स्नातकोत्तर तहको अध्ययन सकेर स्थानीय बोर्डिङमा पढाउँदा रहेछन्।

मानव तस्करको फन्दामा परेको कुरा सार्वजनिक हुँदा आफ्नो प्रतिष्ठा कमजोर हुने सोचेर उनले आफ्नो शैक्षिक योग्यता ढाँटेका रहेछन्।

दाङका यी युवाजस्तै मानव बेचबिखनमा पर्नेहरूमा उच्च शैक्षिक योग्यता भएका धेरै छन्। अनौठो त यो छ कि पढालेखालाई अवैध बाटोबाट अमेरिका र युरोपदेखि खाडीका देशसम्म छिराइदिने आशा देखाउने एजेन्टहरूको शैक्षिक योग्यता भने कम छ।

मानव बेचबिखनका २ सय ६७ घटनामा संलग्न पीडित र पीडतको शैक्षिक पृष्ठभूमिको अध्ययनबाट थाहा हुन्छ, पढेलेखेकैहरू थोरै पढेका वा कमजोर शैक्षिक योग्यता भएकाहरूबाट ठगिन्छन्।

१ सय ७६ पुरुष र ९१ महिला पीडितले प्रहरीमा दिएका निवेदनमा मानव बेचबिखन समूहको फन्दामा परेर २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ गुमाएको दाबी गरेका थिए।

ब्युरोका डीएसपी राजकुमार सिलवालले आफू यसअघि केन्द्रीय अनुसन्धान ब्युरोमा छँदा मानव बेचबिखनका पीडित, पीडितको शैक्षिक योग्यता र उमेर समूहको अध्ययन गरेका थिए। उक्त अध्ययनका बेला २ सय ६७ पीडितलाई मानव बेचबिखनमा पार्ने २२ जना पीडक समातिएका थिए।

पीडित र पीडकको शैक्षिक योग्यताको तुलनात्मक अध्ययन गर्दा पढालेखालाई थोरै शैक्षिक योग्यता भएकाले झुक्याएर ठगेको पाइएको थियो। पक्राउ परेका २२ पीडकमध्ये कसैले पनि स्नातकसम्म वा त्यसभन्दा माथि अध्ययन गरेको भेटिएन।

पीडकमध्ये ६ जना एसएलसी पास देखिन्छन् भने १६ जनाको शैक्षिक योग्यता एसएलसीभन्दा कम देखिन्छ। जबकि ठगिएका २ सय ६७ मध्ये १३ जना स्नातकोत्तर अध्ययन गरेका छन् भने १२ स्नातक, दुई स्टाफ नर्स, एक सय ३० एसएलसी, ४५ एसएलसीभन्दा तलका र ५ जना निरक्षर देखिन्छ।

यो तथ्यले पढेलेखेकाहरू मानव बेचबिखनको गिरोहमा पर्ने गरेको र तिनलाई कमजोर शैक्षिक योग्यता भएकाहरूले नै अवैध बाटोबाट विदेश पुर्‍याउने जिम्मा लगाएको देखिन्छ।

ठगिएकाहरूमध्ये २ सय ५ जना कृषि पेसाको पृष्ठभूमि भएका छन् भने १४ जना नोकरी र २८ जना व्यापारिक पृष्ठभूमिका छन्। तथ्यांकले विदेश गइसकेकाहरूभन्दा कहिल्यै विदेश नगएकाहरू ठगीको पासोमा बढी पर्ने गरेको देखाएको छ।

ठगिनुअघि वैदेशिक रोजगारीमा वा अन्य सन्दर्भमा विदेश गएका ३७ जना छन् भने कहिल्यै विदेश नगएकाहरू २ सय ३० जना छन्। मानव बेचबिखनको प्रवृत्तिमाथि अध्ययन गरेका नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका डीएसपी राजकुमार सिलवालले यो अध्ययनले कमजोर शैक्षिक योग्यता भएका एजेन्टहरूले पढालेखालाई नै झुक्याइरहेको र ठगिरहेको बताए।

‘सजिलै प्रलोभनमा पर्ने र धेरै कमाउने आशामा फस्नेहरूमा पढेलेखेका धेरै देखिन्छन्,’ उनले भने। संगठित मानव तस्करका अनेकन एजेन्टको सहयोगमा अवैध बाटो हुँदै अमेरिका छिरेर आर्थिक वर्ष ०७५/७६ मा डिपोर्ट भएका ४५ जनाको शैक्षिक योग्यतालाई केलाउँदा पनि उच्च शैक्षिक योग्यता भएकाहरू भेटिएका छन्।

कान्तिपुरले गरेको अध्ययनमा ४५ मध्ये स्नातकभन्दा माथिको शैक्षिक योग्यता भएका सात जना अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका थिए। ०७६/७७ मा अवैध बाटोबाट अमेरिका पुगी डिपोर्ट भएका ४५ जनाको तथ्यांक केलाउँदा पनि स्नातक तहमाथिको शैक्षिक योग्यता भएका सात जना भेटिएका थिए।

यी दुवै तथ्यांकले पढेलेखेकाहरू संगठित मानव तस्करका एजेन्टको विश्वासमा पर्ने र ठगिने गरेको देखिन्छ। मानव तस्करको फन्दामा परेकाहरूमध्ये ७४ जनाको गन्तव्य दुबई देखिन्छ भने ६१ जनाको क्यानाडा, ३२ जनाको ओमान, ३१ जनाको कुवेत, २६ जनाको टर्की र २२ जनाको दक्षिण अफ्रिकालगायत अन्य देश देखिन्छ।

संगठित गिरोहका अनेकन एजेन्टले मुख्यतः तीन तरिकाले पीडितबाट पैसा असुल्ने गरेको देखिन्छ। अवैध बाटोबाट र सेटिङमा गन्तव्य मुलुकमा पुर्‍याउने भन्दै उनीहरूले तेस्रो मुलुक पुर्‍याएर अलपत्र पार्दै रकम असुल्ने प्रवृत्ति सबैभन्दा धेरै देखिन्छ।

कुल पीडितमध्ये ८७ जनालाई तेस्रो मुलुक पुर्‍याएर ठगी गरेको देखिन्छ। गन्तव्य मुलुक लैजाने भन्दै भारतका विभिन्न सहर लैजाने, महिनौंसम्म अलपत्र पार्ने र बाध्यतामा पारेर वा झूटको खेती गरेर ठगिनेमा ३४ जना छन्। त्यस्तै विदेश पुर्‍याइदिने भने नेपालमै ठगीमा पर्नेहरू सबैभन्दा थोरै अर्थात् २० जना देखिन्छन्।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...