News Portal

इंग्ल्यान्डको टिममा नेपाली चेली अस्मिता !

हिमाली संचार संवाददाता
८०६ पटक

राजु घिसिङ/नवीन पोखरेल
(काठमाडौँ/लन्डन) आश्विन १७, २०७६ : बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन्।

तनहुँ, दमौलीका अमृत परिवारसहित सन् १९९४ बाट इंग्ल्यान्डमै बसोबास गर्छन्। उतै जन्मिएकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा छनोट भएकी हुन्।

अस्मिता आलेलाई इंग्ल्यान्ड यू–१९ टिममा बोलाइयो।

घरेलु डिफेन्डर यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा साइप्रस, बेलारुस र सर्बियाविरुद्ध यो महिना सहभागी हुनेछिन्।

बधाई असी !

इंग्ल्यान्डको क्लब एस्टन भिल्ला महिला टिमको फेसबुक पेजमा मंगलबार अपलोड गरिएको अस्मिता आलेको फोटोसँगैका यी तीन लाइनले बेलायतमा रहेका नेपाली समुदायमा मात्रै होइन, समग्र नेपाली फुटबलमै ठूलो महत्त्व राखेको छ।

तीन वर्षयता इंग्ल्यान्डको अन्य उमेर समूहको राष्ट्रिय टिमबाट नियमित खेलिरहेकी यी डिफेन्डर अहिले बेलारुस पुगेकी छन्, जहाँ उनको टिमले यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेको छ।

इंग्ल्यान्डले बुधबार साइप्रसलाई ८–० ले पराजित गरेको खेलमा उनी ‘बेन्च’ मै थिइन्। आउँदो बुधबारसम्म हुने छनोटमा इंग्ल्यान्डले सर्बिया र आयोजक बेलारुसविरुद्ध खेल्दै छ र त्यसमा उनले मैदानमा उत्रिन पाउने आशा गरिएको छ।

‘छोरीको सफलताले खुसी लागेको छ, गर्व अनुभव गरेको छु,’ अमृतले भने, ‘छोरी यू–९ (नौ वर्षमुनि) देखि एस्टन भिल्लाको एकेडेमीमा भर्ना भएकी थिई। त्यसअघि दुई वर्ष केटाहरूसँगै स्थानीय बल्किङ्टन एफसी (बाराकुडस) मा खेली, त्यहाँ ऊ एक्ली केटी थिई।

उनका अनुसार इंग्ल्यान्डको टिममा अस्मिता लेफ्ट र राइट दुवै क्षेत्रमा डिफेन्समा आवश्यकताअनुसार खेल्ने गर्छिन्। क्लबमा सेन्टर–ब्याक, सेन्टरमिडफिल्ड र विंग्समा पनि खेल्ने गरेकी छन्। अर्थात् अलराउन्डर हुन् उनी।

‘ए’ लेवल दोस्रो वर्षमा अध्ययनरत अस्मिताले १६ वर्ष उमेरमै एस्टन भिल्ला फुटबल क्लबको महिला सिनियर टिममा डेब्यु गरेकी थिइन्। एस्टन भिल्लाले वुमेन्स च्याम्पियनसिप खेल्छ। इंग्ल्यान्डको महिला फुटबल लिगको दोस्रो डिभिजन मानिएको च्याम्पियनसिपमा ११ क्लब छन्।

गएको सिजन (२०१८–१९) मा म्यानचेस्टर युनाइटेड र टोटेनहम हर्टस्परको महिला टिम विजेता र उपविजेता हुँदै पहिलो डिभिजनको वुमेन्स सुपरलिगमा बढुवा हुँदा एस्टन भिल्ला छैटौं भएको थियो।

दुवै खुट्टा उत्तिकै चलाउने अस्मिताले क्लबमा नियमित रूपमा पहिलो रोजाइमा खेलिरहेकी छन्। च्याम्पियनसिपको नयाँ सिजन १८ अगस्टमा सुरु भइसकेको छ। सुरुका चारै खेल जितेको एस्टन भिल्ला १२ अंकसहित दोस्रोमा छ। उति नै अंक भए पनि गोल अन्तरमा उछिनेको डरहाम शीर्षस्थानमा छ।

एस्टन भिल्लाको पुरुष टिमले इंग्लिस प्रिमियर लिग खेलिरहेको छ, जसलाई विश्व फुटबलकै आकर्षक मानिन्छ। उक्त क्लबले महिला टिमको लाइसेन्स सन् १९९६ मा लिएको हो। महिला टिमले घरेलु खेल चार हजार दर्शक क्षमताको ‘द ल्याम्ब ग्राउन्ड’ मा खेल्दै आएको छ।

अमृतका अनुसार छोरी अस्मिता पछिल्लोपल्ट तीन वर्षअघि नेपाल आएकी थिइन्। ‘छोरीलाई नेपाली टिमसँग खेल्न मन छ तर समय मिलेको छैन। हामी चाँडै नेपाल आउँदै छौं,’ उनले भने।

झन्डै दुई दशक गोर्खाली पल्टनमा काम गरेपछि रिटायर्ड भएका अमृतले छोरीलाई आफ्नै खर्चमा एस्टन भिल्लाको एकेडेमीमा तालिम दिलाएको बताए। त्यही तालिममा ट्रेनिङमा निरन्तर राम्रो गरेपछि अस्मिता इंग्ल्यान्डको यू–१५ हुँदै अहिले यू–१९ टिममा परेकी हुन्।

हाल भइरहेको छनोटबाट १२ समूहका विजेता, उपविजेतासँगै तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चार टिम गरी २८ देश अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन्। त्यसबाट उत्कृष्ट सात टिमले जर्जियामा जुलाई २०२० मा हुने यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिकृया दिनुहोस्

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटलमा तालाबन्दी

काठमाडौं, ३० चैत — समाज कल्याण परिषद् अन्तर्गत सञ्चालनमा रहेको भृकुटीमण्डप क्षेत्रमा लामो समयदेखि भाडा...

गृहमन्त्रीको भनाइप्रति रक्षा बमको आपत्ति, गरिबीलाई दोष दिन नहुने टिप्पणी

काठमाडौं, ३० चैत – गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर जेनजी अभियन्ता रक्षा बमले असन्तुष्टि...

सांसदहरूबाट सम्पत्ति विवरण बुझाउने क्रम सुरु, जेठ १० भित्र बुझाउन आग्रह

काठमाडौं, चैत ३० — प्रतिनिधिसभाका सांसदहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने प्रक्रिया सुरु गरेका छन्। संघीय...

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...