आज : २०२६-०७-११, शनिबार

क्यानडाका प्रधानमन्त्रीको अनुहारमा कालो पोतिएको फोटो सार्वजनिक भएपछि..

एजेन्सी २१ सेप्टेम्बर २०१९ : क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन्।

लिवरल पार्टीका नेतासमेत रहेका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्षमा याचना गर्नुपरेको हो।

उनी २०–२१ वर्षको हुँदा खिचिएका तस्बिर हाल सार्वजनिक भएका छन् र त्यसमा उनले अनुहार तथा हातमा कालो रंग पोतेको देखिएको छ।

ट्रूडोको त्यो फोटोले उनी विगतमा रंगभेदी थिए भन्ने पुष्टि गरेको विपक्षीको आरोप छ। त्यही फोटोलाई लिएर विपक्षीहरूले उनी विरुद्धमा चुनावी माहौल तयार पार्ने प्रयास गरेका छन्।

आफ्नो विद्यार्थीकालमा अभिनयका लागि ‘बिषयबस्तु’ को रुपमा प्रयोग गरेको स्वरुपलाई विपक्षीहरुले दुरुपयोग गरेको उनको भनाइ छ। उनले यस्ता तस्वीर अरु पनि हुन सक्ने र त्यसबाट आफूलाई लज्जित बनाएको पनि बताएका छन्।

क्यानडामा अर्को महिना आम निर्वाचन हुन लागेको छ। उनी त्यस निर्वाचनपछि दोस्रो कार्यकाल सम्हाल्ने तयारीमा छन्।

पुरानो फोटोले उनी अहिले तनावमा पर्नुका साथै नैतिक दवावमा समेत परेको समाचारमा जनाइएको छ। तर तस्वीरमा देखिएजस्तो र व्याख्या गरिएजस्तो रंगभेदी आफू नभएको ट्रुडोको दावी छ।

उनले सन् २०१५ मा प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि आफ्नो मन्त्रीमण्डलमा आधा महिला, तीनजना शिख समुदायका व्यक्ति तथा दुईजना आदिबासी समुदायका व्यक्तिलाई समावेश गरेका थिए।