News Portal

हावाहुरी प्रभावित माझी परिवारले पाएनन् राहत !

हिमाली संचार संवाददाता
३४४ पटक

शंकर आचार्य
पर्सा, २४ चैत : जिराभवानी गाउँपालिका ५ सखुवनियाकी ४० वर्षीया बटुली माझीको मन पति रामजीत र नाति सुरजलाई एकसाथ गुमाउनु परेको पीडाले छियाछिया भएको छ । त्यसमाथि आइतबार रातिको विनाशकारी हुरीबतासको सिकार उनको शरीरमा जताजतै चोटपटकको पीडा आलै छ ।

तै पनि मन थामेर उनी शोकमा पतिको किरिया बसेकी छन् । ‘के गर्नु त्यो कालो रातमा आएको विनाशले क्षण भरमै मेरो संसार उजाडेर लग्यो,’ उनले पीडा पोखिन्, ‘पति र नाति एकै साथ गुमाउनु परेको छ, अब घरमूली भएकाले मैले आफैंलाई सान्त्वना दिएर छोरा बुहारी र छोरीहरूलाई सम्हालिरहेकी छु ।

बटुलीका छोरा २४ वर्षीय मुनी माझीको शरीरमा पनि चारैतिर चोटपटक छ । दाहिने खुट्टाको अझै भर छैन । टेक्न नसकेकाले हड्डी भाच्चिएको हो कि भन्ने शंका छ । खुट्टा दुखेको ठाउँमा एउटा पातलो रुमाल बाँधेका छन् । उनलाई आमा र पत्नीलाई सम्हाल्नुपर्ने जिम्मेवारी आइपरेको छ । ‘मलाई पनि दोहोरो शोक छ, बुवा र छोरा एकसाथ गुमाएको छु,’ उनले भने, ‘आमालाई सम्हालु कि पत्नीलाई सम्हालु, आफ्नो शरीर पनि चोट पटकले छियाछिया भएको छ ।

मुनीले पीडा पोखिरहदा छेउमै बसेकी उनकी पत्नी २० वर्षीया शान्तिले सारीको सप्कोले आँसु पुछिन् । उनी कुनै प्रतिक्रिया दिने अवस्थामा छैनन् । उनको अनुहार र शरीरभरी आइतबार रातिको बिपत्तिले दिएको चोटको निशान प्रस्ट देखिन्छ । सिंगो माझी परिवार बाराको भलुही भरवलियास्थित एसिसी इँटा उद्योगमा मजदुरी गर्थ्यो । हुरीबतासले क्षणभरमै यो परिवारमा शोकको दोहोरो पीडा थप्यो ।

बटुलीले आफ्नो परिवार ८ महिनाअघि त्यहाँ मजदुरी गर्न भनी गएको र त्यहाँआफ्नो परिवारको मात्र ८ जना सदस्य बस्दै आएको बताइन् । देवर सतदेव माझीको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचार चलिरहेको उनले बताइन् । हुरीबतासले सतदेवकी ७ वर्षीया छोरी मन्देश्वरी र ५ वर्षीया अर्की छोरी बिन्दीयालाई पनि गम्भीर चोट दिएको छ ।

मन्देश्वरीको दाहिने खुट्टामा लागेको चोटका कारण उनी अझै हिँडडुल गर्न सकिरहेकी छैनन् । त्यो कहर सम्झदा बटुली अझै पनि निःशब्दझैं हुन्छिन् । ‘म खाना पकाउदै थिएँ, पति रामजीत आराम गर्दै हुनुहुन्थ्यो, अचानक के भयो कुन्नी छानो उड्यो, पर्खाल भत्किएर शरीरमा लड्यो, त्यसपछि केही बेर अचेत भएँ, होस आउँदा चारैतिर चकमन्न अँध्यारो मात्र थियो,’ उनले भनिन्, ‘छेउमै पतिलाई अचेत देखे, जस्ताले उहाँको घाँटीको पछाडि काटेको रहेछ, उठ्नु के भयो भनेर झक्झक््याउँदा टुक्रुक्क्क बसेको अवस्थाबाट उहाँ भुइँमै लड्नुभयो ।

उनका छोरा मुनीले पनि आफ्नो काखामा खेलिरहेको ४ वर्षीय छोरा सुरजलाई हुरीले काखाबाटै उडाएर लगेको बताए । ‘म छोरोलाई काखामा राखेर खेलाउँदै थियो, अचानक हुरी आयो उसलाई काखबाटै उडाएर लग्यो,’ उनले भने, ‘करिब २५ मिटर पर भेटिएको छोरोले प्राण त्यागिसकेको थियो ।’ अति बिपन्न यो परिवार दोहोरो शोकमा मात्र छैन ।

सिंगो परिवारजन नै चोट र घाउले दिएको शारीरिक पीडा पनि सहिरहेको छ । बाराका फेटा, भलुही, पुरैनिया लगायतका पीडितले थामी नसक्नुको राहत हात पारी सक्दा यो परिवारको हातमा सरकारी तथा गैरसरकारी स्तरबाट हालसम्म राहतको एक थोपा पनि परेको थिएन ।

बटुलीले आफूहरूलाई सम्झेर कोही पनि राहत दिन नआएको पीडा पोखिन् । ‘उताका सबैले राहत पाएको सुन्छु,’ उनले भनिन्, ‘तर सर्वस्व गुमाएका हामीले एक गेडा चामल पनि पाएनौं, किन होला यस्तो भेदभाव र उपेक्षा ।

सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा पनि भलुही, फेटाका पीडितकै चर्चा बढी हुँदा परिवारका २ सदस्य गुमाएका माझी परिवार राहत मात्र नभई चर्चाबाट समेत पर रहेको छ । माझी परिवारको पीडाबारे थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा बिहीबार दिउँसो प्याब्सन पर्सा, मधेस रिलिफ फन्ड र वीरगन्ज निवासी समाजसेवी विक्की सर्राफले संयुक्त रूपमा यो परिवारलाई किरिया खर्च बापत २६ हजार रुपैयाँ हस्तान्तरण गरे । पीडित परिवारको आँगनमै पुगेर थारू, प्याब्सन वीरगन्जका अध्यक्ष आलोक चौरसिया तथा सचिव राहुल श्रीवास्तवले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बालबालिकालाई राहत !

हुरी प्रभावित बाराको विकट दक्षिणी पचरैतामा लक्ष्मी एजुकेसन कन्सल्टेन्सीले राहत वितरण गरेको छ । हुरीले किताव उडाएको र पढाइमा समस्या रहेका बालबालिकालाई लक्षित गरी राहत वितरण गरिएको हो ।

असाम डाउनटाउन कलेज, गुवाहाटी र एनजिएफ कलेज उत्तर प्रदेशको सहयोगमा पचरैताको करिव ३ सय बालबालिकालाई राहत सामग्री वितरण गरिएको कन्सल्टेन्सीका नेपाल प्रमुख शंकर भट्टराईले जानकारी दिए । कपडा, खानेकुरा, साबुन र सिनेटरीको समान राहतबापत बाँडिएको कन्सल्टेन्सीका मनोज खनालले बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...