
सिञ्जा : चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ । समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताउनुभयो ।
पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या भोग्दै आएको उहाँको भनाइ थियो । अहिले पाठशालामा नेपाली, सिर्जनात्मक, संस्कृत, व्याकरण गरी चार विषयमा अध्यापन भइरहेको पाठशालाले जनाएको छ ।
यता पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरका पुरुषोत्तम घिमिरेले पाठशालाले लिखितरूपमा पत्र पठाइदिए पाठ्यपुस्तक उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । स्थानीय निकायको सिफारिसका आधारमा पनि पाठ्यपुस्तक उपलब्ध गराउन सकिने उहाँको भनाइ छ ।
पाठशालामा आवश्यक शिक्षकको दरबन्दी तथा आर्थिक स्रोत न्यून भएको प्रधानाध्यापक उपाध्यायले बताउनुभयो । पुराना २८ छात्रा र १८ छात्र तथा नयाँ भर्ना भएका १२ गरी हाल कूल ५८ विद्यार्थीले पढ्दै आइरहेको उपाध्यायले जानकारी दिनुभयो ।
विसं २०४१ बाट साविकको कार्तिकस्वामी गाविस र हालको चन्दननाथ नगरपालिका–१० बोहोरागाउँमा सञ्चालन भएको उक्त पाठशालामा १० वर्षे द्वन्द्वका बेला पठनपाठन बन्द भएको थियो ।
विस्तृत शान्ति सम्झौतापछि २०६९ सालमा शान्ति सुरक्षा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय नजिकै चन्दननाथ भैरवनाथ मन्दिरको काखमा पाठशाला सारिएको प्रध्यानाध्यापक उपाध्यायले जानकारी दिनुभयो। (रासस)
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
